सम्पदा क्षेत्रमा पर्यटकलाई राती घुमाउने मन्त्रीको योजना
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
149
Shares
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी अहिले चर्चामा छन् । ट्वीटरमा भएकाे चर्चाकाे त कुरा गरि साध्यै छैन। अब उनले पर्यटकहरुलाई रातको समय सम्पदा क्षेत्रको भ्रमण गराउने तयारी भइरहेको बताएका छन् । मन्त्री अधिकारीले अवलोकनकर्ताका लागि भ्रमणका लागि रातको समय उपयुक्त हुने जिकिर समेत गरेका छन् ।
उनको तर्क छ, ‘दिउँसोको समयमा फुर्सद नपाउनेहरुका लागि रातको समयमा भ्रमण गराउँदा अवलोकनकर्ताको संख्या बढ्छ’ । मुलुकका विभिन्न सम्पदास्थललाई रातको समयमा अवलोकन गराउने तयारी भइरहेको उनको भनाइ छ । मन्त्री बनेको ७० दिन पुगेको सन्दर्भ पारेर केही दिनअघि छाउनी संग्रहालय पुगेका मन्त्री अधिकारीले छाउनी संग्राहलय पनि रातको समयमा खुल्ला गर्ने व्यवस्था मिलाउन निर्देशन दिए । उनले एक वर्षमा १० लाख अवलोकनकर्ता भित्र्याउन संग्राहलय प्रमुख जयराम श्रेष्ठलाई दबाव समेत दिए । अवलोकनकर्ताहरुबाट संग्रहालयले यो अवधिमा १२ लाख २१ हजार ३ सय ६५ रुपैयाँ संकलन गरेको छ । तर, यो रकमप्रति चित्त नबुझाएका मन्त्री अधिकारीले रातको समयमा संग्रहालय खुला गरेमा राजश्व ह्वात्तै बढ्ने ठोकुवा गरे ।
छाउनी सग्रहालय अबलोकनका क्रममा प्रमुख तथा कर्मचारीहरुलाई निर्देशन दिदै पर्यटनमन्त्री अधिकारी
राजधानी लगायत मुलुकका कतिपय सम्पदा क्षेत्रबाट दिनदहाडै पुरातात्विक र सांस्कृतिक महत्वका सामग्री चोरी हुने र हराउने गरेका छन् । तर सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील सम्पदास्थलमा रातको समयमा भ्रमण गराउँदा सांस्कृतिक महत्वका सामग्री हराउन सक्ने विषयलाई उनले नजर अन्दाज गरेका छन् ।
छाउनी संग्रहालयका कर्मचारीहरुले पनि सरकारले पूर्ण सुरक्षाको ग्यारेन्टी नगरेसम्म रातको समयमा खुला राख्न नसकिने अडान राखेका छन् । पुरातत्वविदहरुले पनि, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदास्थल हचुवाका भरमा रातको समयमा खोल्ने तयारी गरिएमा घातक हुने चेतावनी दिएका छन् । सम्पदास्थल सुरक्षाका दृष्टिले निकै संवेदनशिल हुने भएकाले यसप्रति गम्भिर अध्ययन गरेरमात्रै योजना बनाउनु उपयुक्त हुने पुरातत्वबिद भिम नेपालले बताए ।
विश्वासिलो र भरपर्दो आधार बिना योजना ल्याउदा सस्तो लोकप्रियता कमाउने उपाय मात्र हुन सक्ने तर प्रभावकारी नहुने पुरातत्वबिदहरुको ठम्याई छ । पर्यटक बढाउने नाममा रातमा भ्रमण खुल्ला गराउदैमा संख्या बढ्ने आधार के त ? पुरातत्वविद तथा संस्कृतिविदले प्रश्न गरेका छन पर्यटनमन्त्री अधिकारीलाई ।