लगानीकर्तासँग झुक्यो सरकार : ठप्प भएको शेयर कारोबार खुल्यो, नेप्सेमा सुधार
प्रकाशित २०७५ जेठ २३ बुधबार
121
Shares
काठमाडौं । शेयर कारोबार नै ठप्प हुने गरी आन्दोलनमा उत्रिएका लगानीकर्ता काराेबारमा फर्किएका छन् । मंगलबार शेयर कारोबार ठप्प पारेका उनीहरु बुधबार दिउँसोदेखि कारोबारमा फर्किएका हुन् ।
आन्तरिक राजस्व विभागले बोनस र हकप्रद शेयरको आधार मूल्य (बेस प्राइस)मा पूँजीगत लाभ कर लगाउन भनी नयाँ गणना प्रणाली कार्यान्वयनको चिठ्ठी लेखेसँगै लगानीकर्ताहरु आन्दोलित भएका थिए । उनीहरुले सरकारले भने जस्ताे अाफुहरु नाेक्सानीमा पनि कर तिर्न नसक्ने अडान राखे ।
सरकारले नयाँ प्रणाली कार्यान्वयनमा ल्याउन गरेको निर्देशन फिर्ता लिएपछि लगानीकर्ताहरु दिउँसो सवा १ बजेतिर कारोबार खोल्न मञ्जुर भए । सरकारले यो आर्थिक वर्षभरी अंकित मूल्यमा पनि क्यापिट गेनट्याक्स नलगाउने तर आउने आर्थिक वर्षको लागि अर्थमन्त्रालयले थप अध्ययन गर्ने भनेको छ । मन्त्रालयको अध्ययन प्रतिवेदन अनुसार पछि निर्देशन गर्ने भनिएको छ ।
योसँगै वुधबार बजार परिसूचक नेप्सेमा १३.९१ (दोहोरो) अंकले सुधार आयो । कारोबार सुरु भएको एक घण्टाभित्रमा २३ अंकको सुधार देखिए पनि २ बजेर ६ मिनेट पछि केही संशोधन हुँदै कारोबार बन्द हुँदासम्म १३.९१ अंकको मात्रै सुधार देखियो ।
बजार परिसूचकमा केही सुधार देखिए पनि कारोबार २३ करोड ८९ लाख रुपैयाँ मात्रै देखियो । बुधबार ‘अन्य’ उपसूचक बाहेक बाँकी सूचक तथा उपसूचक उकालो लागेको छ । सबैभन्दा धेरै बीमा र माइक्रोफाइनान्सको उपसूचकमा सुधार देखियो । बीमाको २.२४ र माइक्रोफाइनान्समा २.०९ प्रतिशतले सुधार देखिएको हो ।
वुधबार सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयरमा तीन करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै बृद्धि भएको नागवेली लघुवित्तको कारोबारमा सर्किट लागेको छ । त्यस्तै कालिका माइक्रोक्रेडिटका शेयरधनीलाई ३.३४ प्रतिशतले घाटा लागेको छ ।