arrow

चीनको ‘बीआरआई’ योजनामा भारत असहमत, मोदीले राखे यस्तो सर्त 

logo
प्रकाशित २०७५ जेठ २८ सोमबार
india-china1.jpg

काठमाडौं । भारतले चीनको महत्वाकांक्षी योजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)’ मा सहभागी नहुने स्पष्ट पारेको छ । चीनमा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको क्विङ्डाओमा एसईओ सम्मेलनको क्रममा यस्तो बताएका हुन् । 

भारतीय प्रधानमन्त्री मोदीले धेरै मुलुकहरुलाई एउटै सडकमा जोड्ने योजनाअनुसार अघि सारिएको यो लक्ष्य पूरा गर्ने क्रममा चीनले दोस्रो मुलुकको सार्वभौमसत्ताको पनि सम्मान गर्नुपर्ने बताएका छन् । 

चीन सार्वभौमसत्ता र प्राकृतिक सम्पत्तिको रक्षा गर्ने योजनाअनुसार अघि बढेमा भने भारतले यो योजनामा सहभागिता जनाउने मोदीले बताएका हुन् । 

भारतले चीनको बीआरआई योजनाको सुरुवातदेखि नै विरोध गर्दै आइरहेको छ । चीनले ल्याएको महत्वाकांक्षी योजनाअन्तर्गतको चाइना–पाकिस्तान कोरिडोर पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरबाट जाने तय भएको छ तर भारतले सो भूमि आफ्नो रहेको दाबी गर्दै आएको छ । 

मोदीले आइतबारको सम्मेलनमा यो योजनाले नागरिकहरुको सुरक्षा, आर्थिक विकास, क्षेत्रको सञ्जाल विस्तार, एकता, सार्वभौमताको सम्मान र वातावरणीय सुरक्षालाई ध्यानमा राख्नुपर्ने बताए । 

मोदीले पछिल्लो समय यो क्षेत्रमा बढिरहेको आतंकवादको विषयमा पनि चिन्ता व्यक्त गरेका छन् । उनले यसका लागि अफगानी राष्ट्रपति असरफ घानीको प्रयासको सबै मुलुकहरुले सम्मान गर्नुपर्ने बताए । 

सम्मेलनमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि आवाज उठाएका थिए । भारतीय प्रधानमन्त्रीले छिमेकी मुलुकसँगको सञ्जाल विस्तारको कार्यक्रम आफ्नो पनि योजना रहेको तर यस्तो योजनामा दोस्रो मुलुकको सार्वभौमसत्ताको पनि ख्याल राख्नुपर्ने बताए ।

काश्मिरको कोरिडरको ५० अर्ब अमेरिकी डलरबराबरको योजनामा भारतले आफ्नो सार्वभौमसत्ताको खिल्ली उडाएको भन्दै विरोध गर्दै आइरहेको छ । भारतबाहेक एसईओ सम्मेलनका सबै मुलुकहरुले चीनको सो योजनामा सम्झौता गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ