- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हेटौंडा । नेपाली काँग्रेस जिल्ला सभापतिहरुको भेलामा नेतृत्वको ‘जमेर’ आलोचना भएको छ । हेटौंडामा बुधबार बिहानदेखि सुरु भएको बन्द सत्रमा अधिकांश जिल्ला सभापतिहरुले नेतृत्वको आलोचना गरेका हुन् ।
ईलाम जिल्ला सभापति हिमालय कर्माचार्यले बन्द सत्रसत्रमा सिनियर नेताहरुलाई बोल्न नदिइएको बारे खुलेर आलोचना गरे । उनले यो फोरममा बोल्न नदिए कहाँ बोल्न दिने हो भन्दै गम्भीर प्रश्न गरे । उनले यस्तो गल्ती गर्दा पार्टी एकता नचाहनेहरुलाई बल पुगेको पनि आरोप लगाए ।
चितवन जिल्ला सभापति जित नारायण श्रेष्ठले कहिले माओवादीलाई र कहिले राप्रपालाई भोट हाल्न लगाउने नेतृत्वले काँग्रेसलाई चाहीं कहिले भोट हाल भन्ने हो भन्दै तीखो प्रहार गरे ।
त्यसैगरी रामेछाप जिल्ला सभापति लभश्री न्यौपानेले जिल्ला समितिहरुलाई कुनै अधिकार नदिएको भन्दै आलोचना गरे ।
यता, दोलखाका रुद्र खड्काले भने पार्टी सभापतिको पक्षमा बोल्दै चुनावमा बेहोरेको हारको जिम्मा सबैले लिनुपर्ने भन्दै सभापतिमात्र दोषी नभएको भन्दै शेरबहादुर देउवाको बचाउ गरे ।
‘महाएकता’ को सन्देश दिने भनिए पनि उद्घाटनमै शीर्ष तहका नेताले बोल्न नपाएपछि त्यसको असर बन्दसत्रमा पनि देखिएको छ ।
पूर्व महामन्त्री प्रकाशमान सिंह बन्दसत्रमै आएनन् । पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसी एकैछिन बसेर बाहिरिएका छन् भने पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला ढिला गरी बन्दसत्रमा आएका छन् ।
जिल्ला सभापतिहरुको भेला हेटौंडा घोषणापत्र जारी गर्दै बिहिबार सकिने छ ।