- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बेइजिङ । गणतन्त्र चीनकाे भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणकाे निम्ताे दिएका छन् । सीसँग शिष्टाचार भेटवार्ता गरी प्नधानमन्त्री अाेलीले नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएकाे निम्ताे दिए ।
बेइजिङस्थित ग्रेट हल अफ पिपलमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि गर्नुभएको निमन्त्रणापत्र हस्तान्तरण गरे ।
राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै चिनियाँ राष्ट्रपति सी ले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा छुट्टाछुट्टै भेटवार्ता भएको थियो । यस्तै प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता ४५ मिनेट भएको थियो । याे अवसरमा चिनियाँ राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै सबै प्रकारको सहयोग उपलब्ध गराउने बताए ।
नेपालको विकास र समृद्धिमा चीनका तर्फबाट सहयोग उपलब्ध हुने बताउँदै उनले दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन आफूहरु तयार रहेको धारणा राखे । राष्ट्रपति सीले असल छिमेकीका रुपमा नेपाललाई चीनले सधैँ सम्मान र सहयोग गर्दै आएको स्मरण पनि गरे ।
प्रधानमन्त्री ओलीले असल छिमेकीका रुपमा चीनको साथ र सहयोग पाएको भन्दै आर्थिक विकास र समृद्धिका लागि आफूहरु सधैँ चीनसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाए ।
नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र त्यसलाई व्यावहारिकरुपमा नै पुष्टि गर्दै आएको उल्लेख गर्दै उनले चीनले गरेको आर्थिक र प्राविधिक विकासबाट लाभ हासिल गर्न नेपाल तत्पर रहेको बताए ।
सोहि अवसरमा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित भएकामा राष्ट्रपति सी लाई हार्दिक बधाई दिए ।
दुई शीर्ष नेताबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । दुई शीर्ष नेताबीचको भेटवार्तापछि अहिले प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु भएको छ ।
सो वार्तामा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव शंकरदास बैरागी र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल सहभागी भए ।
चीनका तर्फबाट राष्ट्रपति सी, विदेशमन्त्री वाङ यीलगायत वरिष्ठ चिनियाँ अधिकारीको सहभागिता थियो ।राष्ट्रपति सीसँग भेट्नुअघि प्रधानमन्त्री ओलीले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको शालिकमा श्रद्धाञ्जलि व्यक्त गरे । त्यस अवसरमा चिनियाँ जनमुक्ति सेनाको एक टुकडीले सम्मान प्रस्तुत गरेको थियाे । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंगलबार चीन प्रस्थान गरेका थिए । रासस