arrow

प्राणघातक ग्यास आक्रमणमा सम्लग्न धार्मिक नेतासहित छ जनालाई मृत्युदण्ड

logo
प्रकाशित २०७५ असार २३ शनिबार
Japan-executes-sarin.jpg

टोकियो, जापान। करिब २३ वर्ष पहिले जापानमा राजधानी टोकियोको भूमिगत रेलमार्गमा विष्फोट गराउने समूहका नेतासहित सातजनालाई मृत्युदण्ड दिइएको छ।

१३ जनाको ज्यान लिनेगरी स्नायु प्रणालीमा असर गर्ने घातक ग्यास (सारिन)को प्रयोग गरी गराइएको विष्फोटनमा जिम्मेवार रहेको अभियोगमा ओम् शिन्रिक्यो समूहका संस्थापक नेता शोको आसाहरासहित छ जनालाई मृत्युदण्ड दिइएको शुक्रबार जापानी न्यायमन्त्री योको कामिकावाले बताए।

ओम् शिन्रिक्योको अर्थ सर्वोच्च सत्य बताउने उक्त धार्मिक संस्थाले सन् १९८० को दशकमा बौद्ध, हिन्दू तथा इसाई धर्मका मतलाई मिलाएर केही नयाँ धार्मिक अवधारणाको विकास गरेको मानिन्छ।

उक्त समूहका संस्थापक शोको आसशाराले आफूलाई क्राइस्ट र बुद्धपछि पहिलो पटक ‘ज्ञान प्राप्त भएको’ बताउने गरेका थिए। सन् १९९५ मा भएको सारिन ग्यास आक्रमणमा सम्लग्न दोषीमाथि भएको यो पहिलो मृत्युदण्डको सजाय हो। उक्त घटनामा १३ जनाको मृत्यु भएको थियो भने हजारौँ विषालु ग्यासका कारण विरामी परेका थिए। यसै घटनामा सम्लग्न छ जनामाथिको मुद्दाको अझै निर्णय आउन बाँकी छ।

जापान मृत्युदण्डलाई निरन्तरता दिने विश्वका केही विकसित मुलुकमध्ये एक मानिन्छ। विश्वव्यापी रूपमा मृत्युदण्डको प्रावधानलाई लिएर आलोचना हुने गरेपनि स्थानीय स्तरमा उक्त प्रावधानको पक्षमा राम्रो जनमत रहेको बताउने गरिन्छ।

सारिन हमलामा मारिएका व्यक्तिहरूका आफन्त तथा घाइतेहरूले ओम् शिन्रिक्यो समूहका संस्थापक नेता शोको आसाहरालाई दिइएको मृत्युदण्डको स्वागत गरेका छन्।

“मैले शान्तपूर्वक नै प्रतिक्रिया जनाएको छु। तर मलाई महशुस भएको छ कि संसार विस्तारै उज्ज्वल बनिरहेको छ,” सारिन हमलामा घाइते भएका एक फिल्म निर्देशक आत्सुसी साकाहाराले भने।

“म धेरै वर्षसम्म पीडामा थिएँ,” उनले एएफपीसँगको कुराकानीमा बताए। “उक्त घटनालाई सधैँका लागि बिर्सन असम्भव नै छ तर दोषीलाई दिइएको मृत्युदण्डले एक किसिमको राहत मिलेको छ।”

उक्त घटनामा पति गुमाएकी सिजुई ताकाहासीले आसाहरालाई दिइएको मृत्युदण्ड पूर्णरूपले सही भएको बताइन्। ताकाहासीले भनिन्, “निश्चय नै उनले मृत्युदण्ड पाउनु नै पथ्र्यो। त्यसैले म उनको मृत्युका लागि दुःख मान्नुपर्ने कुनै कारण रहेन।”

ओम् शिन्रिक्योले सन् १९८९ मा जापानमा धार्मिक संस्थाको मान्यता पाएको थियो र उसका अनुयायीहरू उल्लेख्य संख्यामा विश्वभरि थिए। उक्त संस्था आफ्नो उचाइमा हुँदा दशौँ हजार समर्थक भएको बताइने गर्छ।

तर बिस्तारै उक्त समूह विश्व समाप्त हुने अवधारणातर्फ लाग्यो र विश्वव्यापी युद्धका कारण पृथ्वी मासिने र आफूहरूमात्रै जीवित रहने विश्वास गर्न थाल्यो। सन् १९९५ को आक्रमणपछि उक्त सम्प्रदाय भूमिगत भयो र ’एलेफ’ र ’हिकारी नो वा’ भनेर पुर्ननामकरण गरी संगठन विस्तारमा लाग्यो।

ओम् शिन्रिक्योलाई संयुक्त राज्य अमेरिका र अन्य कैयौँ देशहरूले आतङ्कवादी संगठनको सूचीमा राखेका भएपनि जापानमा वैध मानिन्छन्। तर जापानले तिनलाई ‘खतरनाक धर्म’ मानेर निगरानी गर्ने गरिएको पाइन्छ। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ