- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सयौँ वर्ष पूरानो ऐनिहासिक पोखरीको नाम हो, कमलपोखरी । अनि हिलोमा फक्रने सुगन्धित फूलको नाम हो ‘कमल’ । कमलपोखरी भन्नेवित्तिकै सोझै अर्थ लगाउन सकिन्छ, कमलको फूल पाउने पोखरी भनेर । तर, त्यो त अब एकादेशको कथा भईसक्यो । आज भन्दा ३०–३५ वर्ष अगाडी जतिपनि कमलको फूल देख्न सकिन्थ्यो भन्छन्, त्यही वरिपरि खाई खेलेका स्थानीय ।
अहिले कमल पोखरीमा कमल होईन घाँसे झार मात्रै देखिन्छ । पानी भने, कसरी कसरी आधाजति छ । एक जना स्थानीय भन्छन्, ‘मेरो उमेर ५३ वर्ष भयो । मैले मेरै आँखाले देखेको । पहिलो यो पोखरी हिले पोखरी थियो । कमल हिलोमै फूल्ने हो । त्यसैले पनि यहाँ कमल देख्न पाईन्थ्यो । यो क्षेत्रमा नेवार बस्ती मात्रै थियो । पूरै गाउँ थियो । बाँसका झ्याँङहरु थिए । प्रहरी चौकी भने हामीले सानै छँदा देखेको हो ।’ झिंगटीले छाएका घरहरु थिए ।
अहिले पूराना घर देख्न पाइँदैन । उनका अनुसार चलचित्र घर (कुमारी हल) बनेपछि कमल पोखरी क्षेत्र गाउँबाट शहर बन्न थाल्यो । कुमारी हल बनेको धेरै भईसक्यो भन्छन् उनी । उनले वर्ष ठ्याक्कै सम्झिएनन् तर सामान्यखालको हल हुँदा सानैमा फिल्म हेरेको याद छ, भने । पहिले कुमारीहल एक सामान्य सिनेमा घरको रुपमा सन्चालित थियो। सन् २००५ मा यसको व्यवस्थापन क्वेस्ट इन्टरटेन्मेन्ट प्राईभेट लिमिटेडले लिएपछि कुमारी सिनेमालाई मल्टिप्लेक्सको रुप दिईयो । कमलपोखरी कुमारी हलबाट सामान्य दुरीमा छ ।
त्यही एक सिनेमा घरले बसाएको शहर हो भन्छन्, उनी कमल पोखरी क्षेत्रलाई । कपाल पाकिसकेका उनले आफ्नो नाम भने नलेख्न भने । अहिले बडेमानका घरहरु छन् वरिपरी । ठूलठूला व्यापारीक कम्पलेक्सहरु । कमलपोखरीको भाउ छैन । तिनै व्यापारीक केन्द्रहरुकै भाउ छ । सिटी सेन्टर अलिक छिमलिएको छ । तर, कमलपोखरीको कन्तविजोग देख्दा उनलाई दुःख लाग्छ । वरिपरिका ठूलठूला घरले पोखरीको महत्व खाईदिएका छन् ।
पोखरी हेर्न पनि खासै मान्छे आउँदैनन् । त्यही एउटा रानीपोखरी पुनःनिर्माण गर्ने भनेर त्यहाँका माछाको बसाइँ मात्रै सरेको छ कमलपोखरीमा । पानी भएको ठाउँ र वरपरको थोरै किनारा तथा प्रहरी चौकी भएको सानो क्षेत्रको घेराभित्र मात्रै खुम्चिएको छ, कमल पोखरी । पूराना देवलहरु पनि त्यतिसाह्रो देखिँदैनन् । उनले भने, ‘अहिलेको जस्तो भए पोखरीको रेलिङसँगै जोडेर कहाँ यसरी घर बनाउन पाईन्थ्यो। अहिलेले सम्पदाहरुबाट यति मिटर टाढा बनाउनु भनेर भनिएको हुन्छ । पहिलेको गाविस जस्तो हो र ?’ उनको भनाईले के संकेत गरेको छ भने, पहिल्यै कमलपोखरी क्षेत्र मिचाहाहरुको चेपटामा पर्यो।
धर्मका नाममा पनि सार्वजनिक सम्पतिको दोहन भएको उदाहरण पनि देख्न सकिन्छ, पोखरी आडमै रहेको अग्रवाल भवन हेरेर । २०६५ सालमा बनेको अग्रवाल भवनको पर्खालभित्रै लक्ष्मीनारायण मन्दिर छ । अग्रवाल भवन भागवत्, सप्ताह, पूराण, विवाह, ब्रतबन्ध आदि ईत्यादिका लागि बनाईएको एउटा व्यापारिक घर हो, मारवाडीहरुले बनाएका छन्। त्यहाँभित्र छिर्ने व्यक्तिहरु कोही सामान्य सर्वसाधारण हुँदैन । चिल्लो गाडीबाट ओर्लिएका सुकिला मुकिलाहरु मात्रै गेटभित्र छिर्छन् । गेटमा सुरक्षा गार्ड राखिएको छ । अन्य जनसाधारणले गेटभित्र रहेको मन्दिर प्रवेश गर्न मन्दिरको समयतालिका राम्ररी पढेर वा बुझेर मात्रै जानुपर्छ । त्यो मिन्दर विहान ६ देखि दिउँसो १२ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुकी ६ बजेसम्म मात्रै खुल्छ, तालिका छ ।
अग्रवाल भवन अर्को अर्थमा भन्दा पार्टी प्यालेस नै हो भन्दा फरक नपर्ला, तर जाँड रक्सी र माछामासु भने चलाउन पाइँदैन त्यहाँ । मारवाडीहरुले धर्मकर्मसँगै दाम राम्रै कमाईरहेका बुझिन्छ ।
अर्कोतिर छायादेवी कम्पनीका नाममा नयाँ युगका पुँजीपतिहरु प्रवेश गरेका छन् कमलपोखरी क्षेत्रमा। त्यसैले त, लेखक झलक सुवेदीले ‘मृत पोखरी’को संज्ञा दिएका छन् । केही दिन पहिले एउटा डकुमेन्ट्री हेरेको सम्झिँदै उनले लेखेका छन्, ‘त्यो डकुमेन्ट्री ‘कमलपोखरी’मा पोखरीसहितको जमिनको बनोट इरेज गरेर अहिले दुईवटा ठुला होटेलसहित सपिङ कम्प्लेक्स बनिरहेका छन् । पोखरीसँग वरपर साना देवल छन् । सयौँ वर्षको इतिहास बोकेको सो पोखरी, त्यहाँ देखाइने गरेको जात्रा, त्यससँग गाँसिएका मानिसका सांस्कृतिक चिह्न समाप्त पारिएका छन् । घटना त्यत्ति हो ।’
उनले ‘हाम्रो सहर विश्वका अरू नयाँ सहरजस्तो बन्दै जाँदा झन्डै दुई हजार वर्षको इतिहास रहेको हाम्रो शहरी सभ्यता मासिनेछ र हाम्रो मौलिकता बाँकी रहनेछैन’ भनी चिन्ता समेत गरेका छन् । सानो संख्यामा खुम्चिएका केही रैथानेहरुले यो पोखरी बचाउन पटक–पटक संघर्ष गरेको पनि उनले डकुमेन्ट्रीमा हेरेको उल्लेख गरेका छन् । राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेरले यो सार्वजनिक पोखरी आफ्नो नाममा दर्ता गरेर पचाउन खोजेको कुरा पनि उनले गरेका छन् ।
पछि स्थानीयले मुद्धा हाले, विभिन्न समयका अनेक उपक्रमपछि जमिन सरकारकै नाममा रहने फैसला भएको कथा छ । केशरशमशेरका सन्तानको शक्ति कमजोर भएपछि जमिन निजी हुनबाट बच्यो । तर, अहिले छायादेवी कम्पनीका नाममा नयाँ समयका पुँजीपति प्रवेश गरे । र, राज्य संयन्त्रलाई प्रभावित पारे, भनि उनले चिन्ता गरेका छन् । एउटा सिनेमा घरले बसाएको शहरमा छायादेवीको प्रवेश कहाँबाट भयो भन्ने पत्तो समेत पाउन सकेका छैनन्, स्थानीयले ।
छायादेवी कम्प्लेक्स निर्माण गर्नेहरुले एसियाकै ठूलो व्यापारिक पर्यटकीय कम्प्लेक्स बनाउँदै छन्। कसैले विरोध गर्नुको अर्थ छैन, भनिरहेका छन् । आफ्नो संस्कृतिको अंग रहेको यो स्थानमा सानो समूहमा रहेका मान्छेहरु भने आक्रोशित छन् । उनीहरु अझै पनि अस्तित्व पुनर्स्थापना गर्न सकिन्छ कि भनेर संघर्ष गरिरहेका छन् ।
धेरै टाढा जानु पर्दैन नेपाली सेनामार्फत बनाउन लागिएको काठमाडौं–तराई एक्सप्रेस वे अर्थात द्रुत मार्गमा ललितपुर खोकनाका स्थानीयले अवरोध गरे । कारण उनीहरुले आफ्नो क्षेत्रमा भएका देवल, पाटी, पौवाहरु मेटाउन दिँदैनौ भनेर आन्दोलन गरे, अन्ततः त्यो अब द्रुतमार्ग त्यहाँबाट नभई अन्तैबाट खनिने पक्का भएको छ । सरकारले एकातिर पर्यकीय क्षेत्रको संवद्र्धन र प्रवद्र्धनको नारा लगाईरहेको छ, अर्कोतिर पुँजीपतिको प्रभावमा परेर ऐतिहासिक सम्पदाहरुको दोहन गर्न सघाईरहेको छ ।