arrow

वैदेशिक रोजगारीले बढायो सम्बन्ध विच्छेद

logo
अजयकुमार साह ।
प्रकाशित २०७२ माघ २८ बिहिबार
Devorce-1.jpg.jpeg
महेन्द्रनगर (धनुषा)। धनुषामा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको देखिएको छ । जिल्ला अदालत धनुषाका अनुसार आर्थिक वर्ष २०७१/७२ मा सम्बन्ध विच्छेदका मुद्दा मात्रै एकसयवटा दर्ता भएका छन् । यसमध्ये ७२ फछ्र्यौट भइसकेको छ र २८ वटा थाती छन् । आर्थिक वर्ष २०७२/७३ को सुरुवातसँगै अहिलेसम्म सम्बन्ध विच्छेदका करिब २५ वटाभन्दा बढी मुद्दा दर्ता भइसकेका छन् । 
 
यसैगरी, वैदेशिक रोजगारीसँगै जोडिएर महिलासम्बन्धी पर्ने विभिन्न प्रकारका मुद्दाको सङ्ख्या पनि बढिरहेका छन् । जिल्लामा फौजदारी मुद्दाको दर्ताको सङ्ख्या घटिरहेको भए पनि महिलासम्बन्धी मुद्दा अत्यधिक बढेको हो । आर्थिक वर्ष २०७१÷७२ मा नाता कायमको ३२ वटा मुद्दा परेका थिए । यसमध्ये २७ वटा फछ्र्यौट भएका छन् भने पाँचवटाको छिनोफानो हुन बाँकी छ । 
 
त्यसैगरी, बहुविवाहका दुई मुद्दा रहेकामा दुबैको फछ्र्याैट भइसकेको छ । जिल्ला अदालत धनुषामा मानाचामलको १९ वटा मुद्दा परेका थिए । सातवटा फछ्र्यौट भएका छन् भने १२ वटा बाँकी छन् । सम्बन्ध विच्छेदको घटना बढ्नुको पछाडि विभिन्न कारण भए पनि पछिल्लो समयमा आएर वैदेशिक रोजगार प्रमुख कारणका रुपमा देखिएको छ । वैदेशिक रोजगारीमा जानु अदक्ष र अर्धदक्ष नेपाली युवकको बाध्यता बनेको छ । यसो त वैदेशिक रोजगारीको आकर्षणले पढेलेखेका दक्ष युवाको पनि आकर्षण बढाएको छ । एकातर्फ वैदेशिक रोजगारले विपन्नताबाट केही मुक्ति दिलाए पनि अर्को तर्फ उनीहरुका दाम्पत्य जीवन टुट्दै छन् । 
 
महोत्तरीको सुगा–३ मा सामान्य उद्यम गरेर जेनतेन गुजारा गरिरहेका जीवछ मण्डल अचानक हराएपछि उनको खोजीनिती सुरु भयो । उनले सञ्चालन गरिरहेको चियापसल भएको कोठाको ताल्चा धेरै दिनसम्म नखुलेपछि गाउँलेले सजिलै लख काटे कि उनी किन बेपत्ता भए । उनी सुटुक्कै छिमेकमा रहेको बहुअर्वा गाउँकै तीन छोरी र तीन छोराकी आमालाई लिएर ‘जोइल’ गएको पत्तो लाग्यो । एक वर्षयता जीवछकै पसलमा दूध बेच्दै आएकी मिनाक्षी (नाम परिवर्तन) का श्रीमान् मजदुरी गर्न लामो समयदेखि कतारमा छन् । श्रीमान्बिना गाउँमा पशुपालन गर्दै आएकी मिनाक्षी जीवनसँगको एक्लोपना मेटाउन लसपस गर्दै आएकी थिइन् । थोरै समयको अन्तरालमा मिनाक्षी र जीवनले बिहे गर्ने निर्णय गर्दै सामाजिक र पारिवारिक दायित्वको हेक्का नराखी फरार भए । 
 
गाउँ समाजको डर र लाजले केही महिना भारतका विभिन्न सहरमा बसेर अहिले उनीहरु गाउँ फर्केका छन् । उनीहरु गाउँ फर्कने बित्तिकै मिनाक्षीका पूर्वश्रीमान् पनि विदेशबाट आए । गाउँमा समाजका ठूलाबडा डाकेर ‘पञ्चायत’ गरियो । पञ्चले एकै स्वरमा मिनाक्षीलाई पूर्व लोग्ने वा अहिलेको लोग्ने को सँग बस्ने ? भनेर सोधे । उनले भने आफू एक्लै बस्न नसक्ने भएकीले अहिलेकै लोग्नेसँग बस्ने उत्तर दिइन् । उनको गुनासो थियो, ‘पहिलेको श्रीमान् पटकपटक विदेश गएकाले आजित भएर अलग्गिने टुङ्गोमा पुगेकी हुँ ।’ 
 
यसैगरी, महोत्तरीकै पिपराका चौधरी थरकी एउटी महिला लोग्नेले विदेशबाट दुःख गरी कमाएर पठाएको रकम लिन बैंकमा जाने गरेकी थिइन् । विप्रेषणको रकम सङ्कलन गर्न आवतजावत गरिरहँदा बैंकमै उनको कलाउद्दिन नाउँ गरेको एकजनासँग भेट भयो । लोग्नेले पठाएको पैसाले उनीहरुले लामो समयसम्म मोजमस्ती गरे । लोग्ने फर्कने समय भएपछि दुबैजना फरार भए । अहिले बिहेसमेत गरिसकेका उनीहरुले विदेशबाट आएका रकम र सरसामान लिएर फरार भएपछि चौधरी थरकी महिलाको लोग्नेको बिल्लीबाठ भएको छ । 
 
गाउँसमाजमा अचेल हुने गरेका यस्ता घटना उदाहरण मात्रै हुन् । यस्ता घटनाको सूची तयार पार्ने हो भने लामो बन्छ । यीमध्ये लोकलाजले गर्दा कतिपय घटना सार्वजनिक हुँदैनन् । धेरै घटना पीडितले पैसा पाउन जिल्ला प्रहरी कार्यालय र अदालतको ढोका ढक्ढक्याएपछि मात्रै चर्चामा आउने गरेका छन् । पछिल्लो समयमा वैदेशिक रोजगारमा जाने क्रमसँगै पारिवारिक विखण्डन अत्याशलाग्दो ढङ्गले बढेको छ । एकअर्कासँग छुट्टिएर बस्दा युवा दम्पतीमा आउने विचलनबाट उनीहरुका बालबच्चा मानसिक दबाबमा पर्ने गरेका छन् । विवाहपछि युवक विदेश जाँदा यो समस्या झन् विकराल बनेको छ । वैदेशिक रोजगारकै कारण विवाहोत्तर यौन सम्बन्ध र अर्कासँग वैवाहिक सम्बन्ध सुरुवात गर्ने घटना सामान्य बन्दै गएको जानकार बताउँछन । 
 
वैदेशिक रोजगारमा गएकाका श्रीमतीको परपुरुषसँग सम्बन्ध भएका घटना उजुरीका रुपमा प्रहरीसमक्ष पनि पुग्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको महिला एकाइको तथ्याङ्कअनुसार धेरैजसो महिलासम्बन्धी मुद्दामा वैदिशक रोजगार नै कारण भएर आउने गरेको छ । लोग्ने विदेसिएका कैयौँ पत्नीको मनोमानीपूर्वक जिन्दगी जीउने लत र विप्रेषणका रकमलाई दुरुपयोग गर्ने प्रवृत्तिका कारण घर बिग्रेका घटना बढेका छन् । लाखौँ मूल्य बराबरका सम्पत्तिसहित पत्नी बेपत्ता हुने घटनालाई यसैको परिणामका रुपमा लिइएको छ । 
 
विदेश गएकी पत्नीको कमाइलाई उडाउने, परमहिला गमन गर्ने वा अर्को विवाह गर्ने पतिको सङ्ख्या पनि कम छैन । लोग्ने विदेसिएपछि घरपरिवार र समाजबाट पाइने तिरस्कारका कारण पनि कतिपय महिला सञ्चो, सुविस्ता र सहाराका लागि पनि परपुरुषको निकटम आउने गरेका छन् । महिला हिंसा न्यूनीकरणको क्षेत्रमा काम गर्ने ओरेक धनुषाका प्रमुख रेखा दत्त भन्छिन्, “पुरुषहरु कमाउन विदेश गएपछि विभिन्न समस्याको कारणले महिला घरबाहिर निस्किने गर्छन् भने घरमा रहेका सासूससुरा लगायतले सास्ती दिएपछि बाध्यतावश पनि महिला परपुरुषसँग नजिकिन पुग्छन् ।” 
 
कतिपय अवस्थामा सम्भावित दुष्परिणामप्रति सचेत नहुँदा विवाहोत्तर सम्बन्ध कायम भई सम्बन्ध विच्छेदका घटना भएका छन् । यौन सम्बन्धका विषयमा हुने चियोचर्चा र असुरक्षित समागमले हुने अनिच्छित गर्भधारणले समस्यालाई बल्झाउने गरेको पाइन्छ । पारिवारिक क्लेश र दाजभाइबीचको इबीले हिजोआज संयुक्त परिवारको विघटन हुने क्रम बढेको छ । विवाहपछि सगोलमा नबस्ने र विदेसिएकाले बालबच्चा र श्रीमतीलाई सुखसयल र शिक्षादीक्षाका लागि गाउँको घरभन्दा सहरमा राख्ने चलन बढेको छ । यसरी थातथलोबाट टाढा बस्ने महिलाको पारिवारिक सामञ्जस्यता कमजोर हुने र लोग्नेले पठाएको पैसाबाट आर्थिक सबलता बढेपछि परपुरुषसँग यौन सम्बन्ध गाँसिने प्रवृत्ति हाबीे छ । कानुन व्यवसायी रेखा झा भन्छिन्–“वैदेशिक रोजगारीसँगै महिला हिँसाका घटनासँगसँगै अहिले सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको छ ।” 
 
सन् २०१५ मा जिल्ला प्रहरी कार्यालय धनुषाअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा ४४५ जनाले उजुरी दर्ता गराए । यसमध्ये कुटपिट गरी घरनिकाला गरिएका २४४, खान लाउन नदिएका ८४, विवाह दर्ता तथा नागरिकता नबनाएका २७, अर्को श्रीमती ल्याएर हेलाँ गरेका ३४, ज्यान मार्ने धम्की दिइएका सात र बोक्सीको आरोप लगाएका घटनामा आठजना महिला पीडित भए । जिल्लामा बढिरहेको सम्बन्ध विच्छेदको मुद्दामा अन्य कारणले भन्दा बढी वैदेशिक रोजगार नै मूल कारण बनिरहेको छ । वैदेशिक रोजगारले आर्थिक सम्पन्नता दिए पनि ‘परिवार’ भन्ने संस्थालाई नै छिन्नभिन्न पार्ने सामाजिक विकृतिलाई बढावा दिइरहेको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ