arrow

अमेरिकाको इरानमाथिको प्रतिबन्ध : बोइङ र एयरबसलाई सबैभन्दा ठुलो धक्का

logo
चिरञ्जीवी आचार्य,
प्रकाशित २०७५ असार ३२ सोमबार
us1.jpg

काठमाडौं । अहिले अमेरिका इरानमाथिको प्रतिबन्ध बढाउने योजनामा अघि बढिरहेको छ । यो योजनाअनुसार इरानमाथि अमेरिकाले प्रतिबन्ध रहनेछ भने इरानसँग सम्बन्ध रहेका अन्य कम्पनीहरुलाई पनि अमेरिकाले प्रतिबन्ध लगाउने छ । तीन वर्षअघि इरानमाथिको प्रतिबन्ध हटेसँगै धेरै युरोपियन तथा अमेरिकी कम्पनीहरुले इरानसँग विभिन्न किसिमको आर्थिक सम्झौताहरु गरेका छन्, जसको कारण अर्बौं डलरबराबरको व्यापारमा समस्यामा आउनसक्ने देखिएको छ । 

ट्रम्पको योजनाले हवाई विमान निर्माता, तेल तथा कार निर्माता कम्पनीहरु प्रभावित हुनसक्ने देखिन्छन् । अहिलेसम्म यस विषयमा पूर्णरुपमा निर्णय भने भइसकेको छैन तर अहिले भइरहेका वार्ताहरुबाट कुनै किसिमको निस्कर्ष ननिस्किएको खण्डमा भने अमेरिकाको यो निर्णय कार्यान्वयन हुनेछ । 

सन् २०१५ मा भएको इरान सम्झौताबाट अमेरिकाको बाहिरिने निर्णय आएको कारण अहिलेको समस्या आएको हो । लामो समयदेखि अमेरिका र युरोपको सम्बन्ध बलियो रहँदै आएको छ । यस्तो अवस्थामा इरान सम्झौतामा भने अमेरिका र युरोप फरक दिशामा अघि बढिरहेका छन् । युरोपियन मुलुकहरुले इरान सम्झौताबाट बाहिरिनु नहुने अडान राख्दै आएका छन् । साथै युरोपियन मुलुकहरुले अमेरिकालाई इरान सम्झौतामा बचाइराख्न नसकेको परिणाम अबको दिनमा देखिन लागेको हो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान सम्झौताबाट बाहिरिने निर्णय खासै अनौठो निर्णय भने होइन । उनले राष्ट्रपतीय निर्वाचनको क्रममा पनि न्युक्लियर सम्झौताबाट अमेरिका बाहिरिनुपर्ने बताउँदै आएका थिए । अहिले अमेरिकी तथा युरोपियन मुलुकहरुमा रहेका केही कम्पनीहरुले इरानसँग व्यापार गरिरहेका छन्, उनीहरुलाई अमेरिकाको यो कदम कठिन हुनसक्ने देखिएको हो ।  

अहिलेको अमेरिकाको निर्णयमा सबैभन्दा ठुलो नोक्सानी हवाई निर्माता कम्पनीहरुलाई हुनेछ । जसमा अमेरिकी कम्पनी बोइङ र युरोपियन कम्पनी एयरबस रहेका छन् । एयरबसलाई भने ठुलो नोक्सानी हुनसक्ने देखिन्छ । एयरबसका हवाई विमानहरु अमेरिकामा बनेको पार्टपुर्जाबाट बन्ने गरेका छन् । इरानको राष्ट्रिय हवाई सेवा प्रदायक कम्पनीलाई एयरबसले तीनओटा विमानहरु दिइसकेको छ । एक सय विमानहरुको लागि भएको सम्झौताअनुसार उसले आफ्नो तीन विमानहरु इरानलाई हस्तान्तरण गरेको हो । जुन विमानहरुको मूल्य अहिलेको मूल्यअनुसार १९ अर्ब अमेरिकी डलरमा रहेको छ । 

बोइङ कम्पनीले पनि इरानका दुई एयरलाइन्स कम्पनीहरुसँग एक सय १० विमानहरुको लागि सम्झौता गरेको थियो । जसको समग्र मूल्य नौ अर्ब ५० करोड डलर रहेको थियो । यी दुवै कम्पनीहरुका लागि अमेरिकाको प्रतिबन्धको निर्णय घातक हुनसक्ने देखिएको हो । इरान हवाई क्षेत्रमाअत्यधिक मात्रामा निर्भर रहेको देखिन्छ । जसको कारण अहिले अमेरिकाले लगाएको प्रतिबन्धको मारमा यो मुलुक राम्रैसँग पर्नसक्ने विश्लेषकहरुको भनाइ छ । इरानका ८ करोड जनताहरु अहिले हवाई सेवामा व्यापक विस्तार चाहन्छन्, जसको उदाहरणको रुपमा इरानले गरिरहेको विमान खरिदको सम्झौतालाई लिन सकिन्छ । 

इरानको लागि अर्को सबैभन्दा ठुलो धक्का पुग्नसक्ने पाटो तेलको व्यापार हो । यसअघि फ्रान्सको तेल कम्पनी एसएले इरानसँग २० वर्षको लागि ५ अर्ब डलरबराबरको सम्झौता गरेको थियो । त्यसका साथै नेदरल्याण्डको रोयल डच सेल र इटालीको एनी कम्पनीहरु अमेरिकामा भन्दा पनि इरानमा तेल व्यापारमा सक्रिय देखिएका छन् । अमेरिकाको प्रतिबन्धले उक्त कम्पनीहरु पनि प्रभावित हुनेछन् । 

अन्य क्षेत्रहरुमा फ्रान्सको कार निर्माता कम्पनी पीएसए प्युजिओट किट्रोइनले सन् २०१६ मा वार्षिकरुपमा इरानमा दुई लाख सवारीसाधनहरु उत्पादन गर्ने सम्झौता गरेको थियो । अर्को ठुलो कार निर्माता कम्पनी रिनल्टले पनि एक लाख ५० हजार वार्षिकरुपमा कार निर्माण गर्ने उद्देश्यका साथ ७७ करोड ८० लाख डलरको सम्झौता गरेको थियो । जर्मन औद्योगिक सामग्रीहरु निर्माता कम्पनी साइमेनले इरानको रेल क्षेत्रमा अर्बौंको रकम सम्झौता भएको हो । इरानसँग भएको सम्झौताबाट बाहिर आउनका लागि कम्पनीहरुसँग तीन महिनादेखि छ महिनासम्मको समय मिल्नसक्छ । यद्यपि इरानसँग थप सम्झौताको लागि भने प्रतिबन्ध लाग्नसक्ने बताइएको छ । 

पछिल्लो समय युरोपको सम्बन्ध इरानसँग केही नजिक रहेको देखिएको अवस्थामा अमेरिकाले यस किसिमको योजना अघि सारेको हो । सन् २०१७ को समग्र अवधिमा पीएमए प्युजिओटले ३६ लाखभन्दा बढी सवारीसाधनहरु इरानमा बिक्री गरेको थियो । इरानमाथिको प्रतिबन्ध बढेसँगै उसको युरोपसँगको व्यापारिक सम्बन्ध बलियो बन्दै गएको छ । सन् २०१५ मा १ अर्ब २५ करोड युरोमा रहेको दुई क्षेत्रहरुको बीचको व्यापार २०१७ मा भने १० अर्ब १४ करोड युरो पुगेको थियो । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ