arrow

सवैका कुरा सुन्ने भएरै सुशीललाई संविधानपिता बनायो

logo
जीवन भण्डारी
प्रकाशित २०७२ माघ २८ बिहिबार
sushil-tudikhel1.jpg.jpeg
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोईरालाकै नेतृत्वमा संविधान जारी हुनुका पछाडी कोइरालाका केही व्यक्तिगत गुण र विषेशताको महत्वपुर्ण भूमिका रहेको उहाँका निकटस्तहरुको ठम्याई छ । उहाँसंग लामो समय नजिक रहेर काम गर्नेहरुले सवैका कुरा सुन्ने र कुनै पुर्वाग्रह विना निर्णय लिने उहाँको स्वभावले नै संविधान बनाउन संभव भएको बताउनुहुन्छ । 
 
कोईरालाका समकक्षी केवी गुरुङका अनुसार निष्ठा र निरन्तरको लगावले उहाँले यो तहको उचाई बनाउनु भएको हो । “उहाँमा केही विषेश गुणहरु त थियो नै, त्यस वाहेक समयले पनि उहाँलाई मौका दियो, त्यो उहाँले पुरा गर्नु भयो । धेरै मान्छेले मौका पाएर पनि पुरा गर्न सकेनन्, तर उहाँले मौकालाई सदुपयोग गर्नु भयो, यस्ले नै उहाँलाई सधैभरी संझाईरहन्छ,” गुरुङले भन्नुभयो । 
 
एक बर्ष भित्रमा संविधान जारी गर्ने अठोटका साथ २०७० माघ २७ गते मुलुकको ३७औ प्रधानमन्त्री बन्नु भएका काँग्रेस सभापति कोईरालाले निर्धारित समय भन्दा सात महिना पछाडी असोज ३ गते संविधान जारी गराई छाड्नुभयो । उहाँले सरकारको नेतृत्व गरेको झण्डै २० महिने कार्यकालमा उहाँले संविधान बनाउने कामलाई नै एकमात्र उद्देश्य बनाउनुभयो । 
 
प्रधानमन्त्री हुनु भन्दा अगाडी सम्म जीवनभरी लाभको पदमा नवस्नु भएका नेता कोईरालाको व्यक्तिगत निश्वार्थता नै मुख्य गुण भएको ठान्नु हुन्छ उहाँको मन्त्रीपरिषद्का प्रवक्ता डा. मिनेन्द्र रिजाल । “व्यक्तिगत स्वार्थ भईदिएको भए स्वच्छ निर्णय हुन पाउदैन थियो र अरुले पनि यसको कतै केही स्वार्थ छ की भनेर शंका गर्ने अवस्था हुन्थ्यो, तर उहाँको कुनै स्वार्थ छैन केवल लोकतन्त्र र राष्ट्रियता बलियो हुने संविधान बनाउने मात्र उहाँको स्वार्थ थियो,” रिजालले संविधान निर्माणमा कोईरालाको भूमकीकाका बारेमा स्मरण गर्नुभयो । 
 
सभापति कोईराला प्रधानमन्त्री हुदा कतिपयले उहाँमा सरकार चलाउने अनुभवको अभाव भएको टिप्पणी गरेका थिए । तर उहाँका अर्का विश्वासपात्र तथा पार्टीका प्रवक्ता दिलेन्द्रप्रसाद बडु भने त्यो भन्दा अगाडी कहिले पनि सरकारमा नजानु नै उहाँको सवल पक्ष भएको बताउनुहुन्छ । “पहिला पहिला पनि सरकारमा गएको भए लोभ र स्वार्थको जालोमा पहिले देखि नै पर्नुहुन्थ्यो होला, नगएकैले उहाँले कसैलाई कुनै व्यक्तीगत काम गर्दिने आश्वासन दिनुभएन, अरुले पनि आशा गरेनन्, फलतः उहाँ व्यक्तिलाई केही गरिदिने भन्दा देशलाई नै केही गर्नेमै बढी तल्लीन हुनुभयो,” बडुले भन्नुभयो । २०४६ साल तिर नेपालगञ्जमा प्राध्यापन पेशामा रहेकै बेलादेखि निधन हुनेदिन सम्म निरन्तर नेता कोईरालासंग आफ्नो निकट संवन्ध रहेको बडुको भनाई छ । विसं २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भएपछि उहाँले मन्त्री बन्ने अवसर पाएपनि लाभको पदभन्दा पार्टीलाई प्राथमिकता राखेर पार्टीकै काममा खटिनुभएको थियो ।
 
काँग्रेसमा उहाँपछिको पुस्तामा उहाँ जस्तै सादा जीवन र इमान्दारीता भएका नेता निकै कम छन् । बाजुराका युवा नेता तथा सांसद बद्री पाण्डे नैतिकता, निश्वार्थपन र दृढ संकल्पले नै उहाँलाई संविधान पिता बनाएको ठान्नुहुन्छ । कोईराला प्रधानमन्त्री हुदा उहाँको प्रेस संयोजक भएर काम गर्नु भएका पत्रकार प्रकाश अधिकारीको अनुभव पनि पाण्डेको जस्तै छ । “मुल उद्देश्य के हो, त्यो पहिचान गरेर त्यसका लागि आधारभुत मुल्य मान्यताहरुलाई नभुली छलफलबाट नथाक्ने बानी नै मलाई उहाँको मुख्य गुण हो भन्ने लाग्दछ ।” 
 
आफ्नो व्यक्तिगत सम्पत्ति नभएकाले उहाँ जीवनभरी आफ्ना ईष्टमित्र तथा सुवेच्छुकहरुको घरमा बस्दै आउनु भयो । काठमाडौंको बुद्धनगर स्थीत भान्जा रमेश भण्डारीको घरमा उहाँले धेरै समय विताउनु भयो । “यति लोभ नभएको मान्छे त सायदै छैन होला, उहाँले जुनसुकै पद र जुनसुकै सेवासुविधा लिन सक्ने हुदा हुदैपनि त्यस तर्फ सोच्दै सोच्नु भएन“, भण्डारीले भन्नुभयो, “उहाँले चाहेको भए थुप्रो सम्पत्ति पनि जोड्न सक्नुहुन्थ्यो, भव्य घर बनाउन सक्नुहुन्थ्यो, तर त्यस तर्फ लाग्दै लाग्नु भएन, यसैले नै उहाँलाई उचाईमा पुर्यायो । ”
 
भण्डारीको घरपछि उहाँ केही समय काँग्रेसका अर्का पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईराला बस्दै आउनु भएको महाराजगञ्ज स्थीत घरमा बस्नु भएको थियो । प्रधानमन्त्री भएर फर्किएपछि भने उहाँ भतिज तथा काँग्रेस नेता सशांक कोईरालाको घरमा बस्दै आउनु भएको थियो र त्यही नै उहाँको निधन भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ