तपाईले रित्तो भनेको ढुकुटीमा ३ खरब बचत कसरी भेटियो अर्थमन्त्रीज्यू ?
प्रेम चन्द,
प्रकाशित २०७५ साउन १ मंगलबार
582
Shares
काठमाडौं। अर्थमन्त्री युवराज खतिवडाले गत चैतमा नै सरकारी ढुकुटी रित्तो भएको श्वेतपत्र सार्वजनिक गरे पनि सरकारी ढुकुटीमा भने अझैं ३ खरब रुपैँया बचेको छ।
गत चैतमा मुलुकको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्दै अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७४–०७५को बजेटको ढुकुटी रित्तो रहेको बताएका थिए । तर, आर्थिक वर्ष २०७४–०७५ सकिएपछि पनि सरकारको ढुकुटीमा ३ खरब रुपैयाँ बाँकी रहेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०७४–०७५को बजेट पुरै खर्च हुन नसक्दा ३ खरब ४१ अरब ७९ करोड रुपैयाँ बाँकी रहेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षमा कुल खर्च १० खरब ७३ अरब १६ करोड रुपैयाँ खर्च भएको छ । सरकारले गरेको यो खर्च ८३ दशमलव ८५ प्रतिशत हो । गएको आर्थिक वर्षमा सरकारले विनियोजन गरेको कुल बजेट १२ खरब ७९ अरब ७६ करोड रुपैयाँ थियो ।
महालेखाका अनुसार सरकारले गएको आर्थिक वर्षमा पुँजीगततर्फ २ खरब ६७ अरब २५ करोड रुपैयाँ र चालुतर्फ ६ खरब ९६ अरब २५ करोड रुपैयाँ खर्चिएको छ । पुँजीगत तर्फ छुट्टयाएको कुल बजेटको ७९ प्रतिशत हो । त्यस्तै चालुतर्फको खर्च ८६ प्रतिशत भएको कार्यालयले जानकारी दिएको छ । गएको आर्थिक वर्षको वित्तीय तर्फको कुल खर्च ७७ दशमलव ७५ प्रतिशत भएको छ । वित्तीयतर्फ कुल १ खरब ४१ अरब रुपैँया विनियोजन गरिएको थियो ।
आर्थिक वर्षको अन्तिम दिन सरकारले १४ अरब ६५ करोड २५ लाख रुपैयाँ खर्च गरेको महालेखाले जनाएकाे छ ।