arrow

ओली ज्यू बिर्सनु भयो कि ‘तपाई देशको प्रधानमन्त्री पो त !’

सपना धेरै देख्नुभयो ब्यूँझनुस् 

logo
बाबु नेपाली,
प्रकाशित २०७५ साउन २ बुधबार
kp-sharma-oli.jpg

काठमाडौं। मानिसको दम्भरुपी महलले त्यतिबेला दम तोड्छ जतिबेला उसको दम्भको आयू सकिन्छ। दम्भ आफैमा नकारात्मक हो। दम्भले कसैलाई पनि चर्चित बनाउँदैन। दम्भको भरमा लडेको युद्धले पनि निचोडमा पुर्याउँदैन। अर्थात् दम्भको दम कम समयमै सकिन्छ।

विश्वका थुप्रै तानाशाहले समय अगाडि नै दम छाड्नु परेको छ। गद्दी त्याग्नु परेको छ। र अकल्पनीय जीवन शैली अपनाउनु परेको छ। त्यसैले दम्भको राजनीति क्षणिक हुन्छ। 

जबजब समयसंगै प्रविधिको विकास भयो तबतब मानिसका वितृष्णाका विचार पनि बाहिर आउन थालेका छन्। उदाहरणका लागि फेसबुक वा ट्वीटरजस्ता सामाजिक संजाल हेरे काफी हुन्छ। 

त्यहाँ खुशीसंगै आक्रोश पोखिन्छ। अनि लुकाउन खोजेका कुनै पनि कुरा प्रविधिले लुक्न पनि दिँदैन। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जुन दम्भ प्रदर्शन गर्न खोजिरहेका छन् त्यसले आक्रोश र वितृष्णा पोखिरहेको छ। 

बहुमतको सरकारका प्रधानमन्त्री ओलीलाई लाग्दो हो कि उनले बहुमत पाएपछि आफूले जे जस्तो काम गरे पनि मतका आधारमा मतदाता तथा कार्यकर्ताले आफ्नो बचाउ गर्नेछन्। सामाजिक संजाल हेर्दा फाट्फुट रुपले उनको बचाउ भए पनि प्रतिकार गर्नेहरु नै बढी भएका छन्। किनकि ओलीले अझै पनि काम भन्दा कुरा नै बढी गरेका छन्। 

देशको अवस्था दिनानुदिन गिर्दो छ। सडकदेखि सिंहदरबारसम्मको हालत खराव हुँदै गएको छ। तर उनी त्यसलाई नदेखेझैं गरिरहेका छन्। यसअघि बहुमतको सरकार नभएकाले काम गर्न पाइन भन्ने उत्तम बहाना बनाएको कम्युनिष्ट सरकारले यसपटक बहुमत हुँदा समेत कुरा गरेरै सकेको छ। 

जनता कुराले मात्र लठ्ठ पर्दैनन् भन्ने कुराको ज्ञान ओलीलाई नभएको निश्चित छ। किनकि उनी रेल र पानी जहाजको सपना देखाइरहेका छन्। तर अहिले ठेलागाडा गुड्ने राम्रो सडकसमेत छैन राजधानी काठमाडौंमै। 

विरोध सहन नसक्ने पुरानो रोग 
ओली विरोध सहन सक्दैनन्। आफू दशकौं राजनीति गरेर यहाँसम्म आएको फेहरिस्त बताउने गरे पनि ओलीले आत्मआलोचना गर्ने काम गरेनन्। 

अहिले त उनको दम्भ अझ बढी शिखरमा पुगेको छ। सरकार र दलको अवस्था हेर्दा उनी सर्वोच्च पदमा छन्। यही दम्भले विभिन्न निकायमा उनी आफू सुहाउँदो परिणामका लागि दवाव समेत दिइरहेको पाइन्छ। उनी विरोध सहन नसक्ने भएरै आफ्ना कार्यकर्तालाई गाली गर्न समेत भ्याएका छन्। उनको गाली थियो – सरकार विरोधीको प्रतिवाद किन नगरेको ? प्रतिवाद गर्नू।

उनी नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष। उनलाई अरु पार्टी पनि छन्। उनीहरुका पनि कुरा सुन्नुपर्छ भन्ने नै लागेको छैन। उनले प्रतिपक्षी दलका आवाजलाई निस्तेज पार्न र प्रतिकार गर्न आदेश दिएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार पार्टीका कार्यकर्तासँगको भेटमा ओलीले मैले जे गरिरहेको छु त्यो देशको भलाईका लागि गरिरहेको छु भन्दै कार्यकर्तालाई कसैले यो सरकारले गलत काम गरिरहेको छ भनी अफवाह फैलाउँछ भने प्रतिकार गर्नु पनि भनेका छन्। 

ओली विपक्षीप्रति रुष्ट छन्। किनकि उनलाई थाहा छ बहुमतको सरकारलाई कसैले औंला ठडाउन पाउँदैन। पाँच वर्षसम्म तमासामात्र हेर्नुपर्छ। उनले नेकपा गठन भएपछि पहिलो पटक कार्यकर्तालाई समय दिए। त्यो समयमा कार्यकर्तालाई हपारे। तताउन खोजे। तर कार्यकर्ताले पनि त सडकको दुःख भोगेका छन्। उनीहरुलाई पनि महंगीले पिरोलेको छ। उनीहरुलाई पनि इन्टरनेटमा लागेको चार्जले छुन्छ होला। अनि उनीहरुलाई पनि रिचार्ज गरेरै फोन गर्नुपर्छ होला। 

आफूहरु मर्कामा परेको थाहा पाउँदा पाउँदै पनि कसरी प्रतिकार गर्ने ? यस्तो लाग्छ ओली नेकपाका मात्र प्रधानमन्त्री हुन्। 

अब यथार्थमा आउँ कि ?
प्रधानमन्त्रीज्यू अब भ्रमरुपी संसारबाट पछाडि हट्ने हो कि। तपाई सिंगो देशको प्रधानमन्त्री हो। त्यो पनि २१ औं शताब्दीको। तपाई जे भन्नुहुन्छ त्यो गर्नुभयो भने मात्र तपाईको विश्वास हुन्छ। ठेलागाडा गुडाउन समस्या भएका बेलामा पानीजहाजका कुरा गर्नुहुन्छ। हो सपना देख्नुपर्छ। तर सपना भन्दाभन्दै आजको दिनलाई नै रात पार्न त भएन नि। 

तपाई मनपरी भन्दै हिंड्ने अनि तपाईको विरोध सामाजिक संजालमा गर्यो कि कार्वाही गर्छु भन्न सुहाउने कुरा होइन। तपाईले चुनाव जित्नुभयो। नेकपाबाट प्रधानमन्त्री बन्नुभयो। अब त तपाई देशको प्रधानमन्त्री। नेपालीको प्रधानमन्त्री। तसर्थ तपाईले बिर्सनु भएन तपाई देशको प्रधानमन्त्री हो। सबैको प्रधानमन्त्री हो। 

विपक्षीले पनि तपाईलाई प्रधानमन्त्री भन्न पाउनु पर्छ। विदेशीले पनि तपाईलाई नेपालको प्रधानमन्त्री भन्न पाउनु पर्छ। तपाईले विपक्षीका कुरा पनि सुन्नुपर्छ। शक्ति पृथकीकरणको पनि तपाईले विचार गर्नैपर्छ। दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि तपाई पहिलो पटकको भन्दा बढी छाडा भएर हिंड्न थाल्नुभयो भने मुलुक त दिनानुदिन अधोगतिमा जान्छ प्रधानमन्त्री ज्यू। अब सबैको प्रधानमन्त्री हुँ भनेर बाहिर आउनुस् प्रधानमन्त्रीज्यू। सपना धेरै देख्नुभयो ब्यूँझनुस्। अब काम गरौं। मिलेर काम गरौं। सत्ताधारी त छँदैछ विपक्षीलाई पनि काममा लगाऔं। 

मुलुकका माग गर्ने र आन्दोलन चर्काउने माग सकिए भन्नुभएको छ। त्यही नै हो भने सबैलाई साथमा लिएर अगाडि बढ्नुस्। तपाई त देशको प्रधानमन्त्री पो त।

गोविन्द केसीलाई हेर्नुस् 
डा गोविन्द केसी कुनै दलका कार्यकर्ता हैनन्। उनी नेपाली हुन्। त्योभन्दा पनि उनी सत्याग्रही हुन्। जसको अगाडि पछाडि सन्तान दर सन्तान छैनन्। उनले जे गरिरहेका छन् नेपालीका लागि गरिरहेका छन्। 

उनले राखेका माग गलत हुन् र ? माग गलत भए त माथेमा आयोग नै फ्लप भयो। आयोगका विज्ञहरु कहीं कतै गलत नियत भएका पाउनु भएको छ र प्रधानमन्त्री ज्यू। कि पाउनु भएको छ गोविन्द केसीको कतै लगानी भएको अस्पताल छ। उनले त सर्वसुलभ शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा भनिरहेका छन्। व्यक्तिगत स्वार्थ कहाँबाट आयो ? 

गोविन्द केसीले त कम्युनिष्ट विचार बोलिरहेका छन्। कम्युनिष्ट सरकारले गर्नुपर्ने काम उनले गरिरहेका छन्। गोविन्द केसीलाई बचाउनुस्। सत्याग्रही मर्नुहुँदैन। तपाई देशको प्रधानमन्त्री। तपाईसंग धेरैको अपेक्षा हुन्छ। तपाई त देशको अभिभावक। अभिभावकले पनि कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्छ र।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ