नेपालगञ्ज। बाँके जिल्लाको समग्र विकासका लागि गत आर्थिक वर्ष २०७४/७५ मा विनियोजित बजेटमध्ये चालू खर्चतर्फ रु नौ अर्ब ४२ करोड ७० लाख र पूँजीगत खर्चतर्फ रु छ अर्ब ५६ करोड रु ५९ लाख खर्च भएको छ।
गत आव २०७४/७५ मा चालू खर्चतर्फ रु १० अर्ब १७ करोड ४७ लाख र पूँजीगत खर्चतर्फ रु आठ अर्ब तीन करोड ४३ लाख बजेट विनियोजन गरिएको थियो। औसतमा जिल्लामा पूँजीगत बजेटको ८१ दशमलव ७२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख ठाकुरप्रसाद पौडेलले बताए। असारमा मात्र चालू खर्चतर्फ रु १० करोड र पूँजीगत खर्चतर्फ रु ३२ करोड भुक्तानीका लागि कोलेनिकाबाट चेक काटिएको थियो।
८०० लाई अंगीकृत नागरिकता
जिल्ला प्रशासन कार्यालयले गत आवमा ४७५ अर्धन्यायिक मुद्दा फछ्र्योट गरेको छ। प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार दर्ता भएका ७४६ मुद्दामध्ये २७१ मुद्दा अझै फछ्र्योट हुन बाँकी छन्। गत आव २०७४/७५ मा सार्वजनिक अपराध, हातहतियार खरखजाना, सवारी ज्यानको क्षतिपूर्ति, न्यून गुणस्तर तथा दूषित खाद्य पदार्थ, कालोबजारी, आवश्यक वस्तु संरक्षण र ठाडो उजुरीलगायत मुद्दा दर्ता भएका थिए।
यसैगरी कार्यालयले सो अवधिमा ८०० जनालाई वैवाहिक अंगीकृत नागरिकताको प्रमाणपत्र वितरण गरेको छ। जिल्ला प्रशासन कार्यालय, कोहलपुर इलाका प्रशासन कार्यालय र नरैनापुर इलाका प्रशासन कार्यालय मार्फत त्यस अवधिमा १६ हजार ४५१ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ। प्रजिअ केसीले त्यस अवधिमा जिप्रकाबाट छ हजार १३३ जनालाई राहदानी वितरण गरिएको थियो। रासस