भेदभाव र अपमान भएको भन्दै जर्मन टोलीबाट ओजिलले लिए सन्यास
प्रकाशित २०७५ साउन ७ सोमबार
346
Shares
काठमाडौं । जर्मन मिडफिल्डर मेसुट ओजिलले जर्मन टोलीबाट सन्यासको घोषणा गरेका छन् । आफू जर्मनीमा भेदभाव र अपमानमा परेको भन्दै उनले टोलीबाट सन्यासको घोषणा गरेका हुन् ।
गएको मे महिनामा टर्कीका राष्ट्रपति रिसेप टेइप इर्डोगनसँगको भेटपछि जर्मनीमा उनको आलोचना हुँदै आइरहेको अवस्थामा ओजिलले यस्तो निर्णय गरेका हुन् ।
रुस विश्वकपमा उनी जर्मनीको टोलीमा परेका भए पनि उनीमाथि टर्कीका राष्ट्रपतिलाई भेटेको तथा राम्रो प्रदर्शन गर्न नसकेको भन्दै व्यापक आलोचना भएको थियो । टर्कीका राष्ट्रपतिले मानवअधिकारको उलंघन गरेको भन्दै जर्मनीमा व्यापक आलोचना हुने गरेकोमा उनलाई भेट्नु सही नरहेको भन्दै ओजिलको आलोचना भएको हो ।
मे महिनामा टर्कीका राष्ट्रपतिसँग भेट्नु कुनै राजनीतिक तथा निर्वाचनमा प्रभाव पार्ने उद्देश्य आफ्नो नरहेको भन्दै यसअघि नै ओजिलले स्पष्टीकरण दिइसकेका छन् । उनले आफू कुनै राजनीतिज्ञ नरहेको र राजनीतिक हिसाबमा प्रभाव पार्नु आफ्नै कुनै उद्देश्य नरहेको भन्दै आफ्नो बचाउ गरेका हुन् ।
ओजिलले जर्मन टोलीले जित्दा आफू जर्मनी नागरिक हुने तर टोलीले हार्दा केवल एक आप्रवासी हुने गरेको भन्दै निराशा व्यक्त गरे । जर्मन टोलीमा दुई भिन्न इतिहासबाट आएका मानिसहरुका लागि स्थान नरहेको भन्दै टोलीबाट सन्यास लिने निर्णय गरेका हुन् ।
ओजिलले जर्मनीको टोलीबाट खेल्ने क्रममा आफूले भेदभाव र अपमानित महसुस गरेको बताए । टर्की मूलका ओजिलले सन् २००९ मा अन्तर्राष्ट्रिय फुटबलमा जर्मन टोलीबाट डेब्यु गरेका थिए । २९ वर्षीय ओजिलले रुस विश्वकपमा स्वीडेनसँगको खेलमा समर्थकहरुबाट आफूलाई भेदभाव गरिएको बताएका हुन् । (एजेन्सी)