अनावश्यक आयात रोक्न वाणिज्य मन्त्रालयको यस्तो तयारी
अर्थले पनि दियो सहमति
प्रकाशित २०७५ साउन ७ सोमबार
546
Shares
काठमाडौं । सरकारले अनावश्यक आयात रोक्ने उद्येश्यले एन्टि डम्पिङ ऐन ल्याउन लागेको छ । नेपालमै उत्पादन हुने वस्तुको आयात भइरहेकोले स्वदेशी उद्योगलाई मार्का पारेको भन्दै सरकारले एन्टि डम्पिङ ऐनको व्यवस्था गर्न लागेको हो ।
उद्योग, वाण्ज्यि तथा आपूर्ति मन्त्रालयले नेपालमै उत्पादन हुने किसिमका वस्तुको विदेशबाट हुने आयात रोकेर नेपाली उद्योगलाई बाढावा दिने उद्देश्यले सेभगार्ड्स, एन्टि डम्पिङ र काउण्टरभेलिङ ऐनको मस्याैदा तयार गरेको हो ।
विदेशमा उत्पादित कुनै वस्तु उत्पादनको लागि त्यहाँको सरकारले दिएको अनुदान, उत्पादन लागतलगायतका पक्षहरुको अध्ययन गरेर मात्रै त्यस्ता आयातित वस्तुमा रोक लगाउन सो ऐनको भूमिका रहने छ ।
‘विदेशबाट आयात भएको वस्तुले नेपाली उद्योगहरुलाई नोक्सानी पुर्याएमा त्यस्तो वस्तु आयात भइसकेपछि पनि तत्कालीन आवस्थामा प्रचलित महसुलमा थप महसुल लगाइने छ’ मन्त्रालयले तयार गरेको मस्यौदामा भनिएको छ ।
नेपालमा आवश्यक नभएको सामान आयात गर्दा प्रचलित भन्सार भन्दा थप कर लगाउन पाउने व्यवस्था समेत मस्यौदामा गरिएको छ ।
त्यसैगरी सरकारले तोकेको परिमाण भन्दा बढी सामान आयात गरेमा पनि भन्सार दर थप्न सकिने व्यवस्था मस्यौदामा गरिएको छ । ‘स्वदेशी उद्योगमा गम्भीर हानी नोक्सानी पुर्याएको महसुश सरकारले गरेमा त्यस्ता वस्तुको आयातमा सरकारले पूर्ण वा आंशिकरुपले बन्देज लगाउन सक्ने’ मस्यौदामा उल्लेख गरिएको छ ।
मन्त्रालयका सूचना अधिकारी रामकृष्ण अधिकारीले विदेशबाट आयात भएको वस्तु भन्दा नेपालमै उत्पादन हुने वस्तु महँगो देखिने भएकाले त्यस्तो वस्तु आयातमा सो ऐनले रोकावट गर्ने बताए । विदेशबाट आयात हुने वस्तु सस्तो भएको आवस्थामा नेपाली उत्पादन उपभोग नगर्ने र जसको फलस्वरुप नेपाली उत्पादकलाई नोक्सान पुग्ने भएकाले सेभगार्ड्स, एन्टि डम्पिङ र काउण्टर भेलिङ ऐन बनाइएको अभिकारीले बताए ।
सो ऐनको मस्यौदाका सम्बन्धमा अर्थ मन्त्रालयले सहमति दिइसकेको जानकारी दिँदै उनले वाणिज्य मन्त्रालयमा आवश्यक छलफल भइरहेको बताए ।
‘अर्थ मन्त्रालयले केही दिन अघि नै आफ्नो दिइसकेको छ’ अधिकारीले हाम्राकुरा डटकमसँग कुरा गर्दै भने, ‘हामीले आवश्यक छलफल गरिरहेका छौं र त्यसपछि रायकै लागि कानुन मन्त्रालयमा पठाउने छौं, ।’ कानुन मन्त्रालयले आफ्नो राय दिएपछि संसदमा पेश गरिने उनले बताए ।
मन्त्रालय कानुन शाखा प्रमुख उपसचिव रामजी दनाईले विदेशबाट आयात हुने वस्तुले नेपालका उद्योगहरुलाई हानी नोक्सानी पुर्याएको देखिएको आवस्थामा त्यस्ता वस्तुको आयातमा रोक लगाउनका लागि ऐन बन्न लागेको बताए । नेपालमै उत्पादन भइरहेका वस्तुको विदेशबाट हुने आयातमा रोक लगाउन सकेमा नेपाली उद्योग नोक्सानमा नजाने आपेक्षा मन्त्रालयले गरेको छ ।
विश्व व्यापार संगठन (डब्ल्यूटीओ)को प्रावधानकै आधारमा मस्यौदा बनाएकोले खुला बजार अर्थतन्त्र अन्तर्गत वैदेशिक व्यापार सम्बन्धमा समेत नकारात्मक असर नपर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।