arrow

रुवाण्डा भ्रमण : चीनको विकास रणनीति र भारतको ‘गाई कूटनीति’

logo
प्रकाशित २०७५ साउन १० बिहिबार
modi-xi-meet-2018.jpg

काठमाडौं । पछिल्लो समय एसियाका दुई ठुला मुलुकहरु चीन र भारत अफ्रिकामा आफ्नो पहुँच विस्तारको क्रममा रहेका छन् । ब्रिक्स सम्मेलनको अवसर पारेर अफ्रिका पुगेका दुई मुलुकका प्रमुखहरुको अफ्रिकी मुलुकको भ्रमणले पनि यो क्षेत्रमा उक्त दुर्इ मुलुकहरुको प्रतिस्पर्धाको संकेत दिएको छ ।

ब्रिक्स सम्मेलनको लागि अफ्रिका भ्रमणको लागि गएका चिनियाँ राष्ट्रपति सि चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफ्रिकी मुलुक रुवाण्डालाई प्राथमिकतामा राखेर आफ्नो भ्रमण सकाएका छन् । 

गत आइतबार चिनियाँ राष्ट्रपति सिले रुवाण्डाको भ्रमण गरेका थिए । सो भ्रमणको क्रममा उनले भेट रुवाण्डाका राष्ट्रपति पाउल कागेमसँग भएको थियो । उनले यो भ्रमणको क्रममा १२ करोड ६० लाख अमेरिकी डलरबराबरको रकम दुई सडक आयोजनाका लागि दिने सम्झौता गरेका थिए । त्यसको भोलिपल्ट भारतीय प्रधानमन्त्री मोदीले पनि रुवाण्डाको भ्रमण गरेका हुन् । मोदीले पनि रुवाण्डासँग १० करोड डलरबराबरको आर्थिक विकासको सम्झौता गरेका थिए । साथै उनले सो भ्रमणको क्रममा रुवाण्डाको कृषि क्षेत्रको विकासका लागि २ सय गाईहरु दिने निर्णय गरेका थिए । कृषि विकासको लागि भन्दै भारतले अघि सारेको गाई दिने निर्णयलाई विश्लेषकहरुले अर्थपूर्णरुपमा लिएका छन् । 

रुवाण्डाको लागि भारत र चीनका राष्ट्रप्रमुखको उक्त भ्रमण पहिलो हो । चीन र भारत विश्वका सबैभन्दा बढी जनसंख्या भएका मुलुकहरु हुन् । भारत सन् २०१८ मा सबैभन्दा ठुलो आर्थिक वृद्धिदर हासिल गर्ने दिशामा अघि बढिरहेको छ भने चीन आर्थिक हिसाबमा विश्वको दोस्रो सबैभन्दा ठुलो मुलुक हो । यो भ्रमण पूर्वी अफ्रिकी मुलुकका लागि निकै महत्वपूर्ण हुनसक्ने बताइएको छ । पछिल्लो समय यो मुलुक प्रविधिको व्यापक विस्तारको योजनामा अघि बढिरहेको छ । 

विश्लेषकहरुले पनि अफ्रिकी मुलुकमा भारतको भ्रमणलाई अर्थपूर्ण हिसाबमा लिएका छन् । चीनले यसअघि नै यो क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिरहेको अवस्थामा चिनियाँ राष्ट्रपतिको भ्रमण भएको भए पनि भारतको उपस्थिति भने अफ्रिकामा निकै कमजोर रहेको देखिएको छ । दीर्घकालीनरुपमा अफ्रिकासँगको सम्बन्धमा सुधारको लागि भारतको यस किसिमको योजना आएको विश्लेषकहरुले बताएका छन् । 
चीनको प्रभाव रुवाण्डामा भारतको भन्दा निकै बढी छ । रुवाण्डामा अहिले निर्माण भइरहेका सडकहरुको ७० प्रतिशतभन्दा बढी निर्माणको काम चिनियाँ कम्पनीहरुले गरिरहेका छन् । यतिमात्र होइन, पछिल्लो १२ वर्षको अवधिमा चीनले रुवाण्डामा ४० अर्ब डलरबराबरको रकम लगानी गरेको छ । 

रुवाण्डा अफ्रिकाको तीव्र गतिमा विस्तार भइरहेको अर्थतन्त्रमध्येको तेस्रो मुलुक हो । आर्थिक विकाससँगै रुवाण्डाको राजनीतिक तथा सामाजिक क्षेत्रमा पनि व्यापक मात्रामा सुधार आइरहेको देखिएको छ । साथै अन्य अफ्रिकी मुलुकहरुमा व्यापारिक सम्बन्ध विस्तारको लागि पनि यो मुलुक एसियाका मुलुकहरुको लागि निकै महत्वपूर्ण रहेको छ ।

५५ अफ्रिकी मुलुकहरुको संगठन अफ्रिकन युनियनका अध्यक्षमा पनि यसपटक रुवाण्डाका राष्ट्रपति कागेम चुनिएका छन् । जसको कारण पनि अफ्रिकाका अन्य मुलुकहरुमा व्यापारिक सम्बन्ध सुधारको लागि पनि यो मुलुकसँगको सम्बन्ध महत्वपूर्ण मानिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ