arrow

काँग्रेस महाधिवेशनः प्रदेश नम्वर १मा संस्थापन पक्षको ५६ प्रतिशत मत

देउवा पक्षमा ३३ प्रतिशत र कुनै पनि धार नखुलेको मत ११ प्रतिशत

logo
माधव चम्लागाई।
प्रकाशित २०७२ माघ २९ शुक्रबार
congress-provience-no-1.jpg.jpeg
काठमाडौ। काँग्रेसको क्षेत्र र जिल्लाको अधिवेशन सकिएसगै केन्द्रमा संस्थापन र देउवाको बलियो भनेर चर्चा हुन थालेको छ। महाधिवेशन प्रतिनिधिहरुलाई हेर्दा पूर्वका जिल्ला ओगटेको संघिय प्रदेश १ का अधिकाशं जिल्लामा संस्थापन पक्ष देउवा पक्ष भन्दा बलियो देखिएको छ। संघिय १ का सबै जिल्लामा संस्थापन पक्षको भारी बहुमत रहेको छ। मेचीका चार जिल्ला इलाम, पाचँथर, ताप्लेजुङ र झापामा अधिकांश महाधिवेशन प्रतिनिधिहरु संस्थापन पक्षसँग नजिक रहेका देखिएका छन्। भोजपुर, धनकुटा बाहेक प्रदेश १ सबै जिल्लाहरुमा संस्थापनका पक्षको बहुमत देखिएको छ। मोरङमा भने संस्थापन र देउवा पक्षको दावी फरक फरक रहेको छ। 
 
१) इलाम: इलामका तीन निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिमा ३६ जना तथा २ जना केन्द्रीय सदस्य सहित ३८ भोट रहेको छ। जसमध्ये देउवा पक्षमा केन्द्रीय सदस्य सुजाता परियार, पूर्व जिल्ला सभापति केशव थापा समेत गरेर जम्मा ५ जना मात्र देखिएका छन्। केही केन्द्रीय प्रतिनिधि खुलेका छैनन्। नखुलेको संख्या पनि न्युन रहेको छ। केन्द्रीय सदस्य कूल बहादुर गुरुङ भने उपसभापति या सभापतिमा नै लड्न सक्ने आंकलन गरिएको छ। अधिकाशं पदहरुको निर्वाचन सकिएको छ भने जिल्ला सभापतिको दोस्रो चरणको चुनाव हुन बांकी रहेको छ। दोस्रो चरणमा संस्थापनकै हिमालय कर्माचार्य तथा संस्थापन रामचन्द्र पौडेल निकट भेषराज आचार्यबिच जिल्ला सभापतिको लागि चुनाव हुन बाँकी रहेको छ। 
 
२) पाँचथर: पाँचथरका दुबै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षबाट बहुमत देखिएको छ। क्षेत्र न १बाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरु १२ जना नै संस्थापन पक्षसँग नजिक रहेका छन् भने क्षेत्र न २ बाट समेत केन्द्रीय सदस्य भिष्मराम आङदाङब्बे सहित जम्मा ३ जना मात्र रहेका छन्। महाधिवेशन प्रतिनिधिमा २५ जनामा जम्मा ३ जना मात्र देउवा पक्षसँग निकट रहेका छन्। केही प्रतिनिधिहरु भने दुबै पक्षसग खुलेका छैनन्। 
 
३) झापा : झापा जिल्लामा संस्थापन पक्षका कृष्ण सिटौला निकट महाधिवेशन प्रतिनिधिहरुको वहुमत देखिएको छ। महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य केशव बुढाथोकी र नरेन्द्र नेम्वाङ सहित ७ निर्वाचन क्षेत्रका जम्मा ८७ मत रहेको छ। जसमध्ये सिटौला निकट धेरै रहेका छन्। देउवा पक्षमा जम्मा २६ जना देखिएका छन्। तर देउवा पक्षले भने ३७ जना देउवा पक्षको रहेको दावी रहेको छ। संस्थापन पक्ष कृष्ण सिटौला नजिक ५५ जनाको हाराहारीमा देखिएका छन् भने केही अझै कतै पनि खुलेका छैनन्। जिल्ला सभापतिमा कृष्ण सिटौला नजिक रहेका उद्व थापा निर्विरोध भएका छन्। 
 
४) ताप्लेजुङ: दुई निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा केन्द्रीय सदस्य सूर्यमान गुरुङ सहित २५ महाधिवेशन प्रतिनिधि रहेका छन्। जसमध्ये संस्थापन पक्षमा १६ जना तथा देउवा पक्षमा ९ जना देखिएका छन्। केही प्रतिनिधिहरु भने क्याम्प परिर्वतन हुन सक्ने संभावना अझै रहेको बताइएको छ। केन्द्रीय सदस्य सूर्यमान गुरुङ पदाधिकारीमा निर्वाचन लड्न सक्ने आँकलन गरिएको छ भने पूर्व जिल्ला सभापति केशव दाहाल देउवा पक्षबाट केन्द्रीय सदस्य लड्न सक्ने बताइएको छ।  
 
५) भोजपुर : भोजपुरमा संस्थापन पक्ष र देउवा पक्षबिच बरावरी जस्तै प्रतिनिधि निर्वाचित भएका छन्। २ निर्वाचन क्षेत्र रहेको भोजपुरमा केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की सहित २५ जनाले केन्द्रीय निर्वाचनमा भाग लिन पाउनेछन। १२ जना देउवा पक्ष र १३ जना संस्थापन पक्षका रहेका छन्। जिल्ला सभापतिमा भने संस्थापन पक्षका नन्दमणी राई निर्वाचित भएका छन्। केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की र तरुण दलका पूर्व सचिव उत्तम कुमार चापागाईले केन्द्रीय सदस्यमा उम्मेदारी दिने बताइएको छ। 
६) तेह्रथुम : तेह्रथुममा भने स्थागित भएको निर्वाचन ८ गते हुँदैछ। संस्थापन पक्षबाट गोबिन्द ढुङगना उठ्ने निश्चित रहेको छ र उनी निर्बिरोध हुने चर्चा समेत चलेको छ। संस्थापन पक्ष नै बलियो रहेको जिल्लामा देउवा पक्षकी केन्द्रीय सदस्य सिता गुरुङले पुन केन्द्रीय सदस्यमा निर्वाचन लड्ने बताइएको छ। 
 
७) सुनसरी : सुनसरीमा पनि केही संख्या देउवा पक्षका बढे पनि समग्रमा संस्थापन पक्ष बलियो रहेको छ। संस्थापनका राजिव कोइराला जिल्ला सभापतिमा निर्वाचित भएका छन्। केन्द्रीय सदस्य दिल कुमार राई र मिना सुब्बा सहित ७४ जनाले केन्द्र निर्वाचनमा भाग लिन पाउने छन् जसमध्ये ६० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधि संस्थापन पक्षका नै रहेको बताइएको छ। देउवा पक्षले पनि यो जिल्लामा देउवा पक्ष कमजोर रहेको स्वीकारेको छ । 
 
८) ओखलढुङ्गा: ओखलढुङ्गामा रहेका २४ जना महाधिवेशन प्रतिनिधि मध्ये संस्थापन पक्षमा १-२ जना देउवा पक्ष भन्दा बढी देखिएका छन्। २-३ जना जता पनि जानसक्ने अनुमान गरिएको छ। उनीहरु अझै कतै पनि खुलेका छैनन्। जिल्ला सभापतिमा भने देउवा निकटका पहिलेकै सभापति प्रदिप सुनवार नै निर्वाचित भएका छन्। केन्द्रीय सदस्यमा सांसद रामहरी खतिवडाले उम्मेदवारी दिने चर्चा चलेको छ। 
 
९) संखुवासभा: दुई निर्वाचन क्षेत्र रहेको संखुवासभामा संस्थापन भन्दा देउवा पक्ष कमजोर देखिएको छ। २४ जना महाधिवेशन प्रतिनिधि रहेको यस जिल्लामा ५ जना मात्र देउवा पक्षका देखिएका छन्। जिल्ला सभापतिको निर्वाचनमा दिपन कुमार श्रेष्ठ र पासाङ शेर्पा बिच २२०/ २२० बराबरी मत परेकोले टुङगोमा पुग्न सकेको छैन्। भने निर्वाचनको बिषयलाई लिएर बिबाद कायम नै रहेको छ। 
 
१०) उदयपुर: उदयपुरमा ३ निर्वाचन क्षेत्र रहेको छ जसबाट ३६ जना महाधिवेशन प्रतिनिधिहरु र केन्द्रीय सदस्य नारायण खड्का समेत गरी ३७ जना रहेका छन्। जसमा देउवा पक्षका नारायण खड्का सहित ११ जना मात्र रहेका छन्। अधिकाशं संस्थापन पक्षसँग नजिक रहेका छन्। संस्थापन पक्षका बिदुर बस्नेत जिल्ला सभापतिमा निर्वाचित भएका छन्। 
 
११) मोरङ: मोरङ काँग्रेसमा पहिलो पटक देउवा पक्षका डिग बहादुर लिम्बुले जिल्ला सभापतिमा निर्वाचन जितेका छन्। ६ जना केन्द्रीय सदस्य रहेको यस जिल्लाका अधिकाशं केन्द्रीय सदस्यहरु संस्थापन निकट नै रहेका छन्। केन्द्रीय सदस्य सहित जम्मा ११४ जना प्रतिनिधिले महाधिवेशनमा भाग लिन पाउनेछन्। ११४ मध्ये ७० भन्दा बढी संस्थापन पक्षका रहेको संस्थापन पक्षको दावी रहेको छ। तर देउवा पक्षकाले भने बहुमत महाधिवेशन प्रतिनिधि देउवा पक्षको रहेको दावी गरेका छन्। कतिपय महाधिवेशन प्रतिनिधि भने कतै खुलेका छैनन्।
 
१२) धनकुटा : धनकुटामा भने देउवा पक्षको बहुमत रहको बताइएको छ। २ वटा निर्वाचन क्षेत्र रहेको धनकुटमा अधिकांश महाधिवेशन प्रतिनिधिहरु देउवा पक्षको रहेको बताइएको छ। संस्थापन पक्षबाट जम्मा ४-५ जना मात्र रहेका छ भने १५ भन्दा बढी देउवा पक्षका रहेका छन्। केही भने अझै खुलेका छैनन्। 
 
१३) सोलुखुम्बु: एक मात्र निर्वाचन क्षेत्र भएको सोलुखुम्बुमा केन्द्रीय सदस्य बल बहादुर केसी लगायत १३ जनाले केन्द्रीय महाधिवेशनमा भाग लिन सक्नेछन्। जसमध्ये देउवा पक्षका जम्मा ४ जना मात्र रहेको बताइएको छ। 
 
१४) खोटाङ : खोटाङमा २४ जना महाधिवेशन प्रतिनिधिहरु रहेका छन् जसमध्ये संस्थापन पक्षका १६ जना तथा देउवा पक्षका ८ जना रहेका छन्। तर केही महाधिवेशन प्रतिनिधिहरु चुनावको अन्तिम अवस्थामा परिर्वतन गर्ने सक्ने संभावना समेत रहेको बताइएको छ।
 
समग्रमा हेर्दा पूर्वमा संस्थापनको पकड रहेको मोरङमा देउवा पक्षले पकड जमाएपनि प्रदेश नम्वर १मा संस्थापन पक्ष बलियो देखिएको छ। विभिन्न स्रोतहरुसँगको कुराकानी आधारमा संस्थापन पक्षमा ५६ प्रतिशत देउवा पक्षमा ३३ प्रतिशत र कुनै पनि धार नखुलेको मत ११ प्रतिशत रहेको छ। यो समिकरण चुनावसम्म केहि परिवर्तन समेत हुन सक्ने अनुमान छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ