काठमाडौं । नेपालमा विओटी मोडलमा काम गर्न इजरायल ईच्छुक रहेको इजरायली राजदूत बेन्नी ओमेरले बताएका छन् । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसँगको भेटमा उनले सो बताएका हुन् ।
‘नेपालको जलविद्युतमा लगानी गर्न इजरायबाट निजी क्षेत्र आउन तयार छ, त्यसका लागी हामी पार्टनर पनि खोजिरहेका छौ ।’ भेटमा राजदूत ओमेरले भने।
सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफलमा मन्त्री पुनले इजरायल नेपाली कामदारको लागी सुरक्षीत गन्तव्यको रुपमा रहेको भन्दै आगामी दिनमा पनि इजरायलले त्यसमा सहयोग गर्ने विश्वास व्यक्त गरे । भेटमा इजरायली राजदूत ओमेरले उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्न इजरायल सरकार आंतुर रहेको बताए । उनले उर्जामा लगानीको लागी इजरायलले पार्टनर खोजिरहेको भन्दै त्यसका लागी सरकारलाई सहयोग गर्न आफुहरु तयार रहेको धारणा राखे।
मन्त्री पुनले भने ‘हामीलाई १० बर्षमा १० हजार मेगावाट विजुलीको आवश्यकता छ अहिले लगानीको राम्रो वातावरण समेत बनेको छ । तपाईमार्फत नेपालको उर्जा क्षेत्रमा लगानी गर्न म इजरायली लगानीकर्ताहरुलाई आग्रह गर्छु ।’
उनले इजरायलसंग धेरै लामो कुटनितिक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझ मजबूत बन्ने विश्वास समेत व्यक्त गरे । लामो समयदेखी दुई देशको बीचमा कृषी र प्रविधीका साथै अन्य विभिन्न क्षेत्रमा सहयोग र सहकार्य रहदै आएको भन्दै मन्त्री पुनले आगामी दिनमा उर्जा क्षेत्रमा सहकार्य गर्न सरकार ईच्छुक रहेको धारणा राखे ।