arrow

बहुचर्चाको प्रदेश नम्बर २ निर्णायक, दुवै पक्षबीच कडा टक्कर

logo
प्रकाशित २०७२ फागुन १ शनिबार
pradesh-2.jpg.jpeg
काठामाडौं । संघीय संरचना र स्वायत्तताकै विषयलाई लिएर मधेस केन्द्रीत दलहरुले जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको व्यवस्था गर्न माग गरेपछी दलहरु डराए । जहाँ अहिले पनि ४८ निर्वाचन क्षेत्र छ । दलीय समझ्दारीमा बनेको ७ प्रदेशको संघीय खाकामा बहु चर्चामा छ प्रदेश नम्बर २ । अधिकारको हिसाव ले वा अधिक स्वायत्तताको मुद्दाले । छिमेकीसंगको सम्बन्ध, उब्जाउ र औधोगिक हिसावले पनि प्रदेश २ बढी चर्चामा छ । आसन्न काँग्रेसको १३औं महाधिवेशनमा समेत सोही प्रदेश निर्णायक सावित हुने देखिएको छ । जहाँको स्थानीय नतिजा संस्थापन पक्ष र देउवा पक्ष दुबैका लागि बहुप्रतिक्षाको विषय बनेको छ । 
 
प्रदेश २ का ८ जिल्ला मध्ये कतिपय जिल्लामा क्षेत्रीय अधिवेशन र केही ठाउँमा गाउँ र नगर अधिवेशन समेत हुन सकेका छैनन् । स्थानीय स्तरको केही क्षेत्रगत नतिजा र सम्भाव्यतालाई हेर्दा संस्थापन पक्ष केही हद सम्म बलियो देखिन्छ । यद्यपि, कतिपय ठाउँमा गाउँ र नगर अधिवेश र क्षेत्रीय अधिवेशन नसकिएकाले यकिन तथ्य निकाल्न सकिएको छैन । केही ठाउँमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । हाल सम्मको सम्भावित नतिजा अुसार संस्थापन पक्ष २० क्षेत्रमा बलियो देखिन्छ । देउवा पक्ष १६ क्षेत्रमा बलियो छ । केही निर्वाचन क्षेत्रमा कडा प्रतिष्पर्धा हुने देखिन्छ । १२ निर्वाचन क्षेत्रबारे सम्भाव्यता समेत यकिन गर्न सकिएको छैन ।  
 
प्रदेश २ मा कांग्रेसको स्थिति र परिस्थिती
 
सप्तरी : देउवा बलियो
 
६ वटा निर्वाचन क्षेत्र भएको सप्तरीमा क्षेत्रीय अधिवेशन हुन बाँकी छ । गाउँ र नगर अधिवेश सम्पन्न भएका छन् । कतै सर्वसम्मत त कतै निर्वाचन भएको छ । क्षेत्रमा देउवा पक्षको पकड बलियो छ । जिल्ला सभापतिमा दुई जनाको नाम चर्चामा छ । दिनेश यादव र मुक्ति चौधरी सभापतिको उम्मेद्वार बन्दै छन् । संस्थापनका मुक्ति चौधरी भन्दा देउवा पक्षका दिनेश यादव बलियो देखिन्छन् । यादवहरु जातीय रुपमा एक हुने भएकाले समेत दिनेशको सम्भावना छ । 
 
सिराहा : संस्थापन बलियो, जिल्ला सभापतिमा देउवाको भीड
 
६ निर्वाचन क्षेत्र भएको सिराहामा समेत क्षेत्रीय अधिवेशन हुन बाँकी छ । गाउँ र नगर अधिवेशन भएका छन् । क्षेत्रीय अधिवेशनहरु सर्वसम्मत गर्ने छलफल चलेपनि निर्वाचन नै हुने देखिएको छ । गाउँ नगरको अधिवेशन हेर्दा संस्थापन पक्ष बलियो देखिन्छ । जिल्ला सभापतिको लागि पाँच जना आकांक्षी देखिएका छन् । राम सुन्दर चौधरीले उपसभापतिको दुई कार्यकाल खाइसकेका छन् । अहिले देउवा पक्षको भनेर खुलेका छन् । पहिले संस्थापनतर्फ थिए । सभापतिका अर्का आकांक्षी राम चन्द्र यादव क्षेत्र नम्बर ४ का सांसद हुन् । उनी पनि संस्थापन छोडेर देउवापट्टी लागेका हुन् । पहिले देउवा पक्षमा रहेका नरेश यादव अहिले संस्थापनबाट उम्मेद्वार बन्दै छन् । सूर्य नारायण यादव क्षेत्र नम्बर २ बाट संविधानसभा उम्मेद्वार समेत थिए । उनी देउवा पक्षकै हुन् । संस्थापन पक्षबाट उपेन्द्र यादव समेत अघि सरेका छन् ।
 
धनुषा : जिल्ला सभापतिमा सहमति गर्ने, निर्वाचन भए राता रात उथलपुथल हुन्छ
 
प्रदेश २ मा सबै भन्दा बढी निर्वाचन क्षेत्र रहेको धनुषामा ३ नम्बर क्षेत्रको मात्रै अधिवेशन भएको छ । क्षेत्र नम्बर ३ कांग्रेस नेता विमलेन्द्र निधिको पकड भएकाले अधिवेशन भएको हो । ६ निर्वाचन क्षेत्रमा अझै अधिवेशन हुन बाँकी छ । ५ नम्बरमा समस्या सिर्जना भएको छ । पहिले मधेसी दलहरुले अधिवेशन गर्न दिएनन् । अहिले देउवा पक्षले भाँजो हालेको छ । ५ नम्बर पूर्व राष्ट्रपति डा. रामवरण यादव पुत्र डा. चन्द्रमोहन यादवको निर्वाचन क्षेत्र हो । जहाँ देउवा पक्षका महेन्द्र यादवले चन्द्रमोहनमाथि विभिन्न आरोप थुपारेका छन् । क्षेत्र नम्बर ४ मा कडा प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नम्बर ६ मा प्रेम किशोर शाह छन् । जो विमलेन्द्रनिकट हुन् । अन्य निर्वाचन क्षेत्रमा संस्थापन पक्ष बलियो देखिएको छ । जिल्ला सभापति आपसी सहमतिमा चुन्ने छलफल चलेको छ । मतदान हुँदा राता रात उथलपुथल हुने भएकाले मिलेर जाने कुरा भएको छ । यसअघि पनि संस्थापन पक्ष बलियो थियो । यस पटक पनि सम्भावना छ ।  
 
महोत्तरी : यादवहरुकै राज 
 
६ निर्वाचन क्षेत्र भएको महोत्तरीमा ५ र ६ नम्बर क्षेत्रमा मात्रै क्षेत्रीय अधिवेशन भएको छ । ५ मा देउवा पक्षका उतिन यादव विजयी भए । ६ मा संस्थापन पक्षका रामश्रेष्ठ महतो क्षेत्रीय सभापति भए । आन्तरिक विवादका कारण क्षेत्र नम्बर ३ का ४ गाविसमा गाउँ अधिवेशन भएका छैनन् । क्षेत्र नम्बर ६ को रोचक कुरा, देउवा पक्षका मुकेशराज काफ्ले महाधिवेशन प्रतिनिधी भए । जो नेपाल विद्युत प्राधिकरण केन्द्रका बहालवाला निर्देशक हुन् । यस्तै, सोही निर्वाचन क्षेत्रमा सांसद सीताराम भण्डारी र पत्नी मिश्री मण्डारी महाधिवेशन प्रतिनिधी भए । बसन्तकुमार गुरुङ र कल्याण गुरुङ बाबु–छोरा महाधिवेशन प्रतिननिधी चुनिए । क्षेत्र नम्बर १, २, ३ र ४ को अधिवेशन हुन बाँकी छ । 
 
जिल्ला सभापतिमा यादवहरुको सञ्जाल राम्रो बनेकाले देउवा पक्षीय महेन्द्र कुमार रायको सम्भावना बढी छ । चार आकांक्षीमा दुई संस्थापन र एक लाइन नखुलेका उम्मेद्वार छन् । संस्थापनबाट ललनकुमार राय र वसन्तकुमार गुरुङ छन् । नागेश्वर यादव खुलेका छैनन् । महेन्द्र यादवले यसपटक सदस्यहरु बढी पारेकाले उनको सम्भावना छ । अर्को तर्फ जातीय आधारमा यादवहरु एक हुने भएकाले उनी बलियो छन् । संस्थापन पक्ष पहाडीया र भूमिहार परेकाले जिल्ला सभापतिमा कमजोर देखिएको छ ।   
 
सर्लाही : बाँड्चुँड 
 
६ वटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा २ क्षेत्रमा मात्रै अधिवेशन भएको छ । दुई नगरपालिका जोडिएको क्षेत्र नम्बर १ मा संस्थापन पक्षका प्रमोद बराल सभापति भएका छन् । २४ गाविस रहेको क्षेत्र नम्बर ६ मा देउवा पक्षका राम आश्रेषा सभापति भए । बाँकी ४ निर्वाचन क्षेत्र मध्ये ५ र ३ मा देउवा पक्ष बलियो देखिन्छ । क्षेत्र नम्बर ४ मा कडा प्रतिस्प्रर्धा हुने र क्षेत्र नम्बर २ मा मिश्रीत नतिजा आउने देखिएको छ । क्षेत्रीय अधिवेशन सकिएपछि मात्रै जिल्ला अधिवेशनको टुंगो लाग्ने छ ।
 
रौतहट : कृष्णा र अफतापको परीक्षा 
 
६ वटै निर्वाचन क्षेत्र रहेको रौतहटमा क्षेत्रीय अधिवेशन लगभग सकिएको छ । क्षेत्र नम्बर १ मात्रै बाँकी छ । क्षेत्र नम्बर १ मा कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन भएकै दिन परेकाले रोकिएको हो । क्षेत्र नम्बर २  र ६ मा संस्थापन विजयी भएको छ । ३, ४ र ५ मा देउवा पक्षले बाजी मारेको छ । जिल्लामा कृष्णा यादव र अफताप आलमको परीक्षा हुने भएको छ । अफतापले महताव आलमलाई जिल्ला सभापतिका लागि अघि सारेका छन् । महताव संस्थापन र कृष्णा देउवा पक्षका हुन् । क्षेत्रका आधारमा कृष्णाको पकड बलियो छ ।
 
बारा : छोरालाई अघि बढाउन संस्थापनलाई सहयो गर्ने 
 
६ निर्वाचन क्षेत्र भएको बारामा गाउँ अधिवेशन सकिए पनि नगर अधिवेशन हुन बाँकी छ । सोमबार सम्म नगर अधिवेश हुन छलफल चलेको छ । क्षेत्र नम्बर ६ बाहेक अन्यमा संस्थापन वा देउवा भनेर खुलेका छैनन् । जिल्ला सभापतिमा ६ जना आकांक्षी देखिएका छन् । जिल्लामा भने ४ जना संस्थापनका आकांक्षी छन् । देउवाका दुई आकांक्षी मध्ये ३ कार्यकाल सभापति खाइसकेका राधेचन्द्र यादव छोरालाई अघि बढाउन संस्थापनलाई सहयोग गर्ने लाइनमा उभिएका छन् ।  
 
पर्सा : जिल्ला सभापतिमा  उठ्ने र छोड्नेको हात
 
५ निर्वाचन क्षेत्र भएको पर्सामा गाउँ र नगर अधिवेशन सकिएको छ । सोमबार क्षेत्रीय अधिवेशनको कार्यक्रम छ । पर्सामा संस्थापन र देउवापक्षको कडा प्रतिस्पर्धा हुने देखिएको छ । जिल्ला सभापतिका लागि ३ जनाले उम्मेद्वारी दिने तयारी गरेका छन् । जनार्दन सिंह क्षत्री, अजय कुमार द्विवेदी र राम नारायण कुर्मी चुनावी मैदानमा उत्रँदै छन् । क्षत्री र द्विवेदी देउवा पक्षका हुन् भने, कुर्मी संस्थापनका हुन् । अजयले सम्भवतः छोड्ने हल्ला छ । अजयले छोडेको खण्डमा देउवा पक्ष बलियो हुने र दुवै उठे संस्थापनलाई फाइदा हुनेछ ।  –जिल्ला सहकर्मीहरुको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ