रुखबाट लडेका मनोज विकको उपचारमा प्रवासी युवाको सहयोग
नारायण रिजाल,
प्रकाशित २०७५ साउन २२ मंगलबार
494
Shares
बागलुङ। जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानका युवा मनोज विकको उपचारका लागी प्रवासी युवाहरुले आर्थिक सहयोग गरेका छन्। रुखबाट खसेर गम्भिर घाइते भएका विकको लागी अमेरिकामा संकलन भएको ४४ हजार ५ सय २४ रुपैया उनको परिवारलाई हस्तान्तरण गरिएको छ।
मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराईरहेका विकको आर्थिक अभावले उपचारमा समस्या भएको थियो।
वैदेशीक रोजगारीको लागि अमेरिका गएका वलेवा क्षेत्रका युवाहरुले उक्त रकम सहयोग गरेका हुन्। हाल अमेरीकामा रहेका बानपा–१३ पैयुपाटाका युवा समाजसेवी वासुदेव पौडेलको नेतृत्वमा आर्थिक संकलन गरी नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी मार्फत विकलाई रकम हस्तान्तरण गरिएको हो।
अमेरिकामा रहेका बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ईश्वर शर्मा, बासुदेब पौडेल, निर बहादुर क्षेत्री, पारस पौडेल, बा.न.पा.– १४ नारायणस्थानका रबिन्द्र जि सी, सुजन बोहोरा, कृष्ण जि सी, प्रकाश बोहोरा र वानपा ११ रायडाँडाका टेक वहादुर मल्लले सामुहिक रुपमा आर्थिक संकलन गरेर उक्त रकम पठाएका थिए।
प्रवासी युवाहरुको सक्रियतामा पहिलो चरणमा ४४ हजार रुपैयाँ संकलन गरेको अभियानका नेतृत्वकर्ता बासुदेव पौडेलले बताए।
विदेशमा रहेका युवाहरुले मानविय भावना बुझेर मनोजको उपचारका लागि आर्थिक सहयोग जुटाइ सहयोग गरेकोमा नेविसंघ उपाध्यक्ष सुवेदीले धन्यवाद दिए।
प्रवासमा रहेर पनि आफ्नो गाउँठाउँमा परेका वेला विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई सामाजिक र सहयोगी भावनाका प्रवासी युवाहरुले आर्थिक सहयोग गर्दै आएका छन्।