देशको आर्थिक अवस्थामा छिट्टै सुधार : प्रधानमन्त्री ओली
प्रकाशित २०७५ साउन २५ शुक्रबार
462
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रदेश नं ५ का सांसदसँगको छलफलमा उनले भने, “वर्तमान सरकारले विकास निर्माणका ठूला योजनाको प्रभावकारी कार्यान्वयनमा लागेकाले देशको आर्थिक अवस्थामा छिट्टै सुधार आउनेछ।”
प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको पालामा देश गम्भीर आर्थिक सङ्कटमा पुगेको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारलाई जनताले विश्वास गरेर सुविधाजनक बहुमत दिएको हुँदा आफूहरु देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउने दृढता व्यक्त गरे।
छलफलमा सहभागी सांसद नन्दलाल रोकाया क्षेत्रीले प्रदेश नं ५ को विकास निर्माण, पछाडि परेका समुदायको उत्थान लगायत क्षेत्रमा सरकारको ध्यान जानुपर्ने आग्रह गरे।
मन्त्रीको काम कारवाहीलाई प्रभावकारी बनाई सबै स्थानमा समान ढङ्गको विकास निर्माणको कामलाई अघि बढाउन सरकारलाई सुझाव दिएको पनि उनले बताए।
जवाफमा प्रधानमन्त्री ओलीले विकास निर्माणको सही मार्गमा मुलुक अघि बढेकाले केही समय लागे पनि देशको आर्थिक समृद्धिको मुहार फेरिने बताएको सांसद रोकायाले जानकारी दिए।
छलफलमा सांसद खिमलाल भट्टराई, सोमप्रसाद पाण्डे, नन्दलाल रोकाया, पूर्णकुमारी सुवेदी, हिराचन्द्र केसी, तुलसा थापालगायत सहभागी थिए। रासस