arrow

भारत भ्रमण : परराष्ट्रविद्हरुले प्रधानमन्त्रीलाई भने, ‘नडराई हस्तक्षेप नगर भन्नुस्’

‘विग्रएिको सम्बन्ध सुधार गर्नुस्’

logo
प्रकाशित २०७२ फागुन २ आइतबार
KP-Oli.jpg.jpeg
काठमाडौं । परराष्ट्रविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण दुई मुलुकबीच चिसिएको सम्बन्ध सुधारमै सबैभन्दा बढी केन्द्रीत हुनु पर्ने सुझाव दिएका छन् । रिपोर्टर्स क्लबले आइतबार गरेको साक्षात्कारमा अमेरिकाका लागि पूर्व नेपाली राजदुत शंकर शर्माले प्रधानमन्त्रीको भारत भ्रमणको सबैभन्दा महत्वपूर्ण एजेण्डा नै दुई मुलुकबीच विग्रएको समस्या सामान्यीकरण गर्नु नै हो–भने । शर्माले भ्रमणलाई सफल बनाउन नेपालले अहिलेका समस्याहरु भारतलाई नबिझाउने गरेर टेवलमा राख्न सक्नु पर्ने बताए । 
 
जसका लागि खुल्ला माईण्ड लिएर जानु पर्ने भन्दै शर्माले भूकम्पमा भारतले गरेको सहयोग, ट्रमा सेन्टरको फाइदा बताएर ६ महिनामा भएको समस्या अब दोहोरिन नदिन के गर्नु पर्छ ? भनेर छलफलको आरम्भ गर्न सुझाव दिए । शर्माले भने,‘ नाकाबन्दी र दुखको विषयमा कडा कुरा गर्नु हुँदैन । भारतको आर्थिक बृद्धिबाट कसरी फाइदा लिने भन्ने कुरा गर्नु पर्दछ । सन् १९५० साल यताको असमान सन्धिको कुरा अहिले गर्नु ठिक हुँदैन । विगतमा भएका सम्झौताको कार्यान्वयन र सहयोगको उपयोगको कुरा गर्नु पर्दछ ।’
 
यस्तै, पञ्चेश्वर, हुलाकी राजमार्गको काम अघि बढाउने, फाष्टट्रयाक र अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको चासो बुझ्ने र पारस्परिक स्वार्थकालागि आगाडि बढाउने कुरालाई उठाउनु पर्ने भन्दै सात वटा प्रदेशको विकास गर्ने र मधेसको संवेदनशीलताको विषयमा समेत कुरा गर्नु पर्नेमा जोड दिए । 
 
चीनकालागि पूर्व नेपाली राजदुत टंक कार्कीले बदलिएको परिस्थितिको गन्तब्यमा सम्बन्ध कस्तो हुनु पर्छ, भन्ने विषयमा केन्द्रीत हुनु पर्नेमा जोड दिदै नेपालको भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धतासहित कुनै पनि नाजायज माग पुरा गर्न सकिदैन भनेर भन्न सके भावी दिनमा सम्बन्धमा समस्या नआउने तर्क गरे । 
 
उनले नेपालको प्राकृतिक स्रोत, चीनको प्रविधी, पुँजी र भारतको बजारलाई संयोजन गर्ने विषयमा कुरा गर्न सके त्यसले सबैको हित हुने भन्दै नेपालको स्थिरता, शान्ति र सार्वभौमिकतामा क्षेत्रको शान्तिकै लागि आवश्यक रहेको तर्क गरे । उनले भने,‘ प्रधानमन्त्रीले नेपाल स्वतन्त्र राष्ट्र हो भन्ने कुरामा स्थापित गरेर आए पुग्छ । त्यसपछि सबै समस्या समाधान हुन्छ । ’सम्भूराम सिंखडाले प्रधानमन्त्रीले भारत भ्रमणमा पारस्परिक शंकाको वातावरण अन्त्य गरेर विग्रिएको सम्बन्धको उपचार गर्न सक्नु पर्ने भन्दै दिर्घकालिन महत्वको विषयमा नगई सम्बन्ध सुधारमा लाग्नु नै उपयूक्त हुने तर्क गरे । 
 
उनले भारतसँगको सम्बन्धलाई राजनीतिबाट मुक्त गर्नु पर्ने भन्दै अब पानिको उपयोग र खुला सीमाको ब्यवस्थापनमा सहकार्य गर्न सके सम्बन्ध राम्रो भएर जाने विश्वास ब्यक्त गरे । सिंखडाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने जस्तो जादुई सम्बन्ध भए दुबै देशले फाइदा लिन सक्ने भन्दै पानीको झगडा र सार्वभैमिकताको भूतबाट माथि उठ्नु पर्ने सुझाव दिए । 
 
भारतका लागि पूर्व नेपाली राजदुत दुर्गेशमान सिंहले प्रधानमन्त्रीको भारत भ्रमण विग्रएिको सम्बन्ध पुनःस्थापित गर्नतर्फ केन्द्रीत हुनु पर्ने भन्दै परराष्ट्र नीतिलाई राजनीतिकरण गर्ने परम्पराको अन्त्य हुनु पर्नेमा जोड दिए । उनले प्रधानमन्त्रीले ठूलो विषय वस्तु भन्दा विगतमा भएका जलस्रोत र पूर्वाधार विकासको एजेण्डालाई लिएर जानु पर्ने भन्दै गैर कुटनीतिक ढंगले व्यवहार गर्दा अहिलेको अवस्था आएको बताए । 
 
उनले पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई श्रद्धान्जली दिन विदेशमन्त्री शुष्मा स्वराजको नेतृत्वमा विशेष टोली आउनु सम्बन्धकोलागि सकारात्मक कदम भएको जिकिर गरे । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणको उद्देश्यले नाकाबन्दीको घाउ पुरेर सम्बन्धलाई नयाँ उचाइमा लैजानु पर्ने भन्दै भारतीय विदेशमन्त्री शुष्मा स्वराजको हालैको भ्रमणले सकारात्मक वातावरण बनाएको बताए । भारतको एकाधिकार हुने गरी कुनै पनि सम्झौता नगर्न सुझाव दिदै नेपाललाई दुखः दिने गरी हस्तक्षेप नगर भन्ने कुटनीतिक संदेश दिएर आउन सक्नु पर्नेमा जोड दिए । उनले प्रधानमन्त्रीको भ्रमणमा राष्ट्रिय सहमतिका साथ प्रष्ट कुरा राख्न सक्नु पर्ने भन्दै राष्ट्रिय हितमा भने ख्याल गर्नुपर्ने सुझाव दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ