arrow

वन्दना राणालाई संयुक्त राष्ट्रसंघको पुरस्कार

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
bandana-rana.jpg.jpeg
काठमाडौं। महिला अधिकारका क्षेत्रमा २५ वर्षदेखि समर्पित वन्दना राणालाई संयुक्त राष्ट्रसंघले यस वर्षको ‘उमन अफ डिस्टिङसन’ पुरस्कार प्रदान गरेको छ ।  राष्ट्रसंघीय निकाय कमिटी अफ एनजीओ सिएसडब्लुले जनाएअनुसार उहाँका साथ एक अफ्रिकी अधिकारकर्मी पनि पुरस्कृत भएकी छन्।  ‘अमिना महमद र वन्दना राणालाई २०१६ का लागि उमन अफ डिस्टिङसन पुरस्कार प्रदान गरिएको छ, सम्मान मार्च १३ र १५ मा सीएसडब्लु सम्मेलनका क्रममा न्युयोर्कमा हुनेछ’ ओएनजीओ सीएसडब्लुले भनेको छ ।  राणालाई पुरस्कृत गरिनुको विस्तृत जानकारी दिंदै प्रेस विज्ञप्तिमा ‘स्थानीय समुदायको स्तरदेखि राष्ट्रिय ,क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरसम्म महिला अधिकारको प्रवद्र्धनका लागि पैरवी गरेको’ उल्लेख गरिएको छ । 
 
साथी नामक गैरसरकारी संस्थाका संस्थापक कार्यकारी अध्यक्ष राणा महिला अधिकारका क्षेत्रमा, पैरवी, अनुसन्धान, समुदाय परिचालन र लैङ्गिक समानताका लागि पुरुष सहभागिताका क्षेत्रमा सक्रिय छिन।  बेइजिङ पुनरवलोकनका लागि राष्ट्रिय सञ्जाल तथा घरेलु हिंसाविरुद्धको राष्ट्रिय सञ्जालका संयोजक राणा राष्ट्रिय महिला आयोगका अध्यक्ष पनि थिइन। आमसञ्चार माध्यमबाट पहिचान बनाउन प्रारम्भ गरेकी राणा शान्तिका लागि एसिया प्रशान्त क्षेत्रीय महिला सञ्जाल (अपवाप्स) र अन्तर्राष्ट्रिय महिला शान्तिनिर्माता सञ्जालका संस्थापक सदस्य पनि हुन।  राणा पुरस्कृत हुनुभएकोमा नेपाली अधिकारकर्मीहरुले सामाजिक सञ्जालमार्फत ठूलो प्रसन्नता र गौरव प्रकट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ