arrow

प्रदेश नम्बर ६ मा काँटाको टक्कर, जुम्ला र डोल्पा निर्णायक

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
pradesh-6.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनका लागि देशभरबाट प्रतिनिधी चयन हुने क्रम जारी छ । केही जिल्लामा अधिवेशनहरु सकिएपनि अधिकांश जिल्लामा हुन बाँकी छ । दलहरुले तयार पारेको संघीय संरचनाको खाका अनुसार भेरीका केही जिल्ला, राप्तीका अधिकांश र कर्णाली मिलेर बनेको प्रदेश नम्बर ६ मा संस्थापन पक्ष र देउवा पक्षबीच काँटाको टक्कर देखिएको छ । चयन भएका महाधिवेशन प्रतिनिधीको संख्या हेर्दा संस्थापन पक्ष ४४, देउवा पक्ष ४३ र यकिन हुँन बाँकी १३ प्रतिशत रहेको छ । जुम्लामा यो सामग्री तयार पार्दा सम्म निर्वाचन भइरहेको थियो, भने डोल्पामा आन्तरिक विवादका कारण अधिवेशन रोकिएको छ । जहाँ जुम्ला र डोल्पाको प्रतिनिधी चयन निर्णायक हुने देखिएको छ । 
प्रदेश नम्बर ६ भित्र छिरेर हेर्दा 
 
जाजरकोट: देउवा बलियो
२ निर्वाचन क्षेत्र भएको जाजरकोटमा देउवा पक्ष बलियो देखिएको छ । यद्यपि, देउवा पक्षलाई सहयोग गर्ने केही व्यक्तिले एक आध मत फरक पार्ने छन् । जिल्ला सभापति निर्वाचित भएका दिपकजङ्ग शाह देउवा पक्षमा लागेपछी संस्थापन पक्षलाई घाटा भएको हो ।  यस्तै, सनत कार्की कता जाने भन्ने विषयले समेत अन्योल सिर्जना गरेको छ । उनले दुई तीन पटक देउवा पक्षसंग छलफल गरिसकेकाले जाने सम्भावना बढेको बताइन्छ । दिपक जंग सभापति भएपनि जिल्ला कार्यसमिति मिश्रित छ । संस्थापन पक्षका वेदराज सिंह सभापतिमा पराजित भए । महाधिवेशन प्रतिनिधी १५ जना देउवा पक्षतिर र ९ जना संस्थापन पक्षतिर देखिएका छन् । 
 
दैलेख : ६०–४० बाट संस्थापन माथि उक्लियो 
२ वटै निर्वाचन क्षेत्र रहेको दैलेखमा संस्थापन पक्ष बलियो देखिएको छ । क्षेत्रीय सभापति भने एक–एक जना निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ मा संस्थापनका गणेशप्रसाद उपाध्याय र क्षेत्र नम्बर २ मा देउवा पक्षका घनश्याम भण्डारी सभापति भए । दुवै निर्वाचन क्षत्रेबाट महाधिवेशन प्रतिनिधी संस्थापनका १८ र देउवा पक्षका ६ जना चयन भए । अघिल्लो पटक ६०–४० को स्थिति थियो । जिल्ला अधिवेशनको मतदान भने शुक्रबार प्रजातन्त्र दिवसको दिन हुने भएको छ । जिल्ला सभापतिका लागि तीन जनाले उम्मेद्वारी दिँदै छन् । संस्थापन पक्षका कृष्णकुमार बीसी दोस्रो कार्यकालका लागि उम्मेद्वार बन्दै छन् । यस्तै, मणीराम रेग्मी र हिम बहादुर शाही समेत चुनावी मैदानमा उत्रने छन् । रेग्मी संस्थापनपट्टीका हुन् भने, शाही देउवा पक्षका हुन् । महाधिवेशन प्रतिनिधीमा अत्याधिक मत ल्याएका बीसी सभापतिको बलियो दावेदार मानिएका छन् । 
 
सुर्खेत : बाँड्चुँड्, संस्थापन बलियो 
३ निर्वाचन क्षेत्र रहेको सुर्खेतमा संस्थापन पक्ष नै बलियो देखिएको छ । क्षेत्र नम्बर १ को सभापतिमा देउवा पक्षका खडक पोखरेल सभापति बने । २ र ३ मा भने संस्थापनको बर्चश्व रहयो  । २ मा नारायण बहादुर कोइराला र ३ मा लालविर भण्डारी सभापति भए । महाधिवेशन प्रतिनिधी क्षेत्र नम्बर १ मा सबै देउवा पक्षकै आए । क्षेत्र नम्बर २ मा संस्थापनको पकड रहयो । क्षेत्र नम्बर ३ मा संस्थापनका १० जना र देउवा पक्ष २ जना रहे । देउवा पक्षका यज्ञबहादुर बीसीलाई हराउँदै संस्थापनका कमलराज रेग्मी जिल्ला सभापति भए । 
 
सल्यान : फुट्ने र जुट्नेको हात
सल्यानमा क्षेत्रीय सभापतिमा देउवाको पडक रहयो । यद्यपि, महाधिवेशन प्रतिनिधी भने बाँड्चुँड् नै भए । दुई निर्वाचन क्षेत्रबाट १३ संस्थापन र ११ देउवातिर देखिए । जिल्ला अधिवेशन हुन बाँकी छ । शुक्रबार मतदान हुने अधिवेशनमा संस्थापन पक्षका गणेश चन्द र देउवा पक्षका केश बहादुर विष्ट उम्मेद्वार बन्दै छन् । यसअघि, पाँच जना आकांक्षी देखिएकामा तीन जना पछि हटेका छन् । देउवा पक्षकै चार जना आकांक्षी देखिएकामा फेरि पनि उनीहरुले जुटे केश बहादुरलाई फाइदा हुने बताइएको छ । उनीहरुबीच बेमेल भए दोस्रो कार्यकालका लागि उम्मेद्वारी दिनलागेका चन्दलाई फाइदा हुनेछ । 
 
रुकुम: बाँड्चुँड 
रुकुममा दुई निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधी बाँडिएका छन् । क्षेत्रीय सभापति संस्थापनकै भएपनि क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधी संस्थापनतिर ४ र देउवातिर ८ रहे । क्षेत्र नम्बर २ मा सहमतिमै ७ जना संस्थापन र ५ जना देउवाका परे । वुधबार हुने जिल्ला अधिवेशनमा तीन जना चुनावी मैदानमा छन् । देउवा पक्षबाट कृष्णबहादुर रोकाय छन् । संस्थापनबाट दुई जना प्रेम प्रकाश ओली र लक्षीराम घर्ती छन् । संस्थापनकै दुई जना उठेका र क्षेत्र नम्बर १ को माथिल्लो भेकका बाहुल्य मगर तथा जनजातीको मत घर्तीलाई जाने भएकाले ओली कमजोर हुने देखिएको छ । जसले रोकायलाई फाइदा पुग्ने छ ।  
 
हुम्ला : देउवाको एकलौटी 
एक निर्वाचन क्षेत्र रहेको हुम्लामा एकलौटी देउवा पक्षले कब्जा गरेको छ । १२ महाधिवेशन प्रतिनिधीका लागि २२ जनाले उम्मेद्वारी दिएका थिए । जिल्ला सभापतिमा जयपति रोकाया दोस्रो कार्यकालका लागि निर्वाचि भए । प्रतिस्पर्धी मंगलबहादुर शाही पराजित भए ।   
जुम्ला ः कस्तो प्रतिस्पर्धा  
यो सामग्री पार्दा जुम्लामा जिल्ला अधिवेशन जारी थियो । महाधिवेशन प्रतिनिधीको ७  खुल्ला सदस्यमा ४२ जना प्रतिस्प्रधामा रहे । जिल्ला सभापतिका लागि सात जना चुनावी मैदानमा ओर्लिए । यसले प्रदेश ६ को मतमा फरक पार्ने छ । निर्णायक समेत रहनेछ । 
 
कालिकोट : देउवा अघि 
१ निर्वाचन क्षेत्र रहेको कालिकोटमा देउवा पक्ष नै बलियो देखिएको छ । जिल्ला सभापति संसथापनबाट हर्ष बहादुर बम निर्वाचित भए । कालीबहादुर सहकारी पराजित भए । महाधिवेशन प्रतिनीधिमा ७ जना देउवा पक्ष र पाँच जना मात्रै संस्थापनका रहे । 
 
मुगु : संस्थापनलाई राहत  
मुगुमा संस्थापन पक्ष केही बलियो देखिएको छ । जिल्ला सभापति सहित कार्यसमितिमा बहुमत छ । देउवा पक्षका पदम बहादुर रावललाई ४५ मतको अन्तरले हराउँदै खडक बहादुर शाही सभापति निर्वाचित भए । महाधिवेशन प्रतिनिधी भने संस्थापनतर्फ ७ र देउवातर्फ ५ जना रहे । 
 
डोल्पा : आन्तरिक विवाद 
आन्तरिक विवादका कारण जिल्ला अधिवेशन रोकिएको डोल्पा समेत प्रदेश ६ को निर्णायक सावित हुनेछ । संस्थापन पक्षभित्रै कुरा मिल्न नसकेपछी अधिवेशन हुन सकेको छैन । संस्थापन पक्षकै टंक प्रसाद उपध्याय र अंगद बुढा सभापतिका उम्मेद्वार थिए । महाधिवेशन प्रतिनिधी छनोट समेत सोही अधिवेशनबाट हुने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ