भारतको विशाखापट्टनममै रोकियो नेपालको ३० हजार मेट्रिक टन मल
‘सरकार आश्वासन मात्र बाँड्दै’
यमुना भण्डारी,
प्रकाशित २०७५ भदौ ७ बिहिबार
582
Shares
काठमाडौं । किसानले समयमै मल नपाएका खबर अखबारमा आईरहेका छन् । तर, मल आपूर्ति गर्ने जिम्मा लिएको कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा रहेका अधिकांश कार्यालयहरुमा मल मौज्दात रहेको र केही कार्यालयमा मात्रै नभएको दावी गरेको छ ।
अहिले धान खेतीको टप ड्रेसिङ्गको समय हो । साउनदेखि बढी युरिया लगायतका मलहरुको माग बढ्छ । यो समयमा मासिक २० देखि ३० हजार मेट्रिक टन मलको माग हुन्छ । अहिले किसानलाई तत्काल मल चाहिएको छ । कम्पनीले अब केही दिनमै मल अभाव भएको ठाउँमा पुग्ने आश्वासन दिएको छ ।
कृषि सामाग्री कम्पनी लिमिटेडले किसानलाई अनुरोध गर्दै भनेको छ, ‘यस कम्पनीका जिल्लास्थित कार्यालयमा यूरिया मलको माग अत्यधिक रहेको छ । कतिपय कार्यालयमा यूरिया मलको मौज्दात रहेपनि केही कार्यालयहरुमा मौज्दात नभएको र यस कम्पनीले ग्लोवल टेण्डरमार्फत इन्डियन पोटास लिमिटेडसँग खरिद गरेको छ ।’ तर, त्यो ३० हजार मेट्रिक टन यूरिया मल भारतको विशाखापट्टनमा आईपुगे पनि तत्काल भारतीय रेल नपाएका कारण रोकिएको कम्पनीले जनाएको छ ।
मलको रेल्वे र्याक केही दिनमा आउने उसले भनेको छ । केही दिनमा २५ सय मेट्रिक टन नौतनवा, भैरहवा र २५ सय मेट्रिक टन आईसिडी, वीरगञ्ज आई पुग्ने कृषि सामग्री कम्पनीको भनाई छ । बाँकी मल समेत नियमित रुपमा आउने आश्वासन कम्पनीले दिएको छ । उसले आउने हप्ताबाटै मलको आपूर्ति सहज हुने जनाएको छ ।
मल किन्दा भारतसँग जीटुजी प्रणालीमै ल्याउने भनिएपछि विरोध भएको थियो । विरोध भएपनि कृषि सामग्री कम्पनी लिमिटेड हच्कियो, र ग्लोबल टेण्डरमा गयो । रासायनिक मलको आपूर्ति र बिक्री वितरण कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडले गर्दै आइरहेका छन् ।
नेपालमा वार्षिक सात लाख ८५ हजार मेट्रिक टन मलको माग रहेको बताईन्छ । अहिले अझ माग बढ्दै गएकाे छ । तर, औपचारिक र अनौपचारिक रूपमा करिब तीन लाख मेट्रिक टनसम्म आपूर्ति हुँदै आएको छ । सरकारी स्तरबाट अनुदानमा एक लाख ४५ हजार मेट्रिक टन रासायनिक मल आपूर्ति हुँदै आएको छ ।
सरकारले प्रतिकिसान तराईमा चार हेक्टर र पहाडमा १५ रोपनी जग्गालाई तीन बालीका लागि अनुदानमा मल उपलब्ध गराउने व्यवस्था छ । यो पल्ट समयमै ९५ प्रतिशत धान रोपाई भएकाले जीडीपीमा डेढ देखि प्रतिशत योगदान धानकै रहने बताईएको छ, तर समयमा मल नपाउने हो भने त्यो अनुमानमा तलमाथि पर्नेछ ।