arrow

 पूर्व–पश्चिम राजमार्गका होर्डिङ बोर्ड हटाउन शुरु

logo
चन्द्रकला भण्डारी,
प्रकाशित २०७५ भदौ ९ शनिबार
highway-Hoarding-borad.jpg

भद्रपुर। पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी विभिन्न निजी कम्पनी तथा संस्थाबाट राखिएका होर्डिङ बोर्डलगायत प्रचार सामग्री मेचीनगर नगरपालिकाले शुक्रबारदेखि हटाउन शुरु गरेको छ।

पूर्वाञ्चल डिभिजन सडक कार्यालयले राजमार्ग क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउनका लागि सहयोग मागेपछि नगरपालिका आफैँले त्यस्ता प्रचार सामग्री हटाउन शुरु गरेको मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले बताए।

सडक ऐन २०३१ ले निर्धारण गरेको मापदण्डअनुसार राजमार्गको दायाँबायाँ २५-२५ मिटरलाई सडक क्षेत्र मानिए पनि सो क्षेत्र अतिक्रमण गरेर जथाभावी घरटहरा बनाइनुका साथै होर्डिङ बोर्ड राख्ने गरिएकाले नगरपालिकाले प्रहरी र विद्युत्का कर्मचारी परिचालन गरेर पूर्वी प्रवेशद्वार काँकडभिट्टाबाट होर्डिङ बोर्ड हटाउन शुरु गरेको हो।

नगरपालिकाले त्यस्ता होर्डिङ बोर्ड हटाउन माइकिङ गरी दुई साताको समय दिँदा पनि अटेर गरिएको हुँदा नगरपालिका बाध्य भएर आफैँ हटाउन लागिपरेको नगर प्रहरी दिनेश गुरागाईंले बताए।

आठ स्थानीय तह खुला दिशामुक्त
झापाको आठौँ स्थानीय तह र चौथो नगरपालिकाको रूपमा बिर्तामोड नगरपालिका शुक्रबारबाट खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ। बिर्तामोडमा विशेष कार्यक्रम आयोजना गरी प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सो घोषणा गरेको हो।

सर्वेक्षणअनुसार १७ हजार ८ सय ९४ घरधुरी रहेको उक्त नगरपालिकामा ग्लोबल स्यानिटेशन फण्ड कार्यक्रमको सहयोगमा वडा नं १ देखि ६ सम्म (साविक बिर्तामोडमा) मानव विकास केन्द्र र वडा नं ७ देखि १० सम्म ९साविक गरामनी० सहारा नेपालले खुला दिसामुक्त अभियानका लागि सहजीकरण गरेको थियो।

पन्ध्र स्थानीय तह रहेको झापामा बुद्धशान्ति, कमल, गौरीगञ्ज र बाह्रदशी गाउँपालिका तथा कनकाइ, शिवसताक्षी र अर्जुनधारा नगरपालिका यसअघि नै खुला दिसामुक्त घोषणा भइसकेका छन्।

बाँकी रहेका झापा गाउँपालिका र गौरादह, दमक नगरपालिका, कचनकवल गाउँपालिका तथा मेचीनगर नगरपालिकामा पनि सो अभियान अन्तिम चरणमा पुगिसकेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताए। सदरमुकामसमेत रहेको भद्रपुर नगरपालिकामा बढी चर्पी बनाउन बाँकी रहेको समितिका अध्यक्ष पोर्तेलले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ