arrow

धरहरा छेउबाटै प्रधानमन्त्रीले भने, ‘मेरो एक महिनाको तनखा राखेर खाता खोल्नुस्’

प्रधानमन्त्रीको घोषणाले मन्त्रीहरु पनि तम्सिए, धरहरा बनाउन एक महिनाको तलब दिने

logo
प्रकाशित २०७२ फागुन ४ मंगलबार
pm-&-netaharu.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १२ को गोरखा भूकम्पले लडेको भिमसेन धरहरा आफ्नै मेहनत र पसिनाले बन्ने उद्घोष गेरका छन् । मंगलबार सुन्धारास्थित धरहरा क्षेत्रमा भएको ‘ऐतिहासिक धरोहर पुनःनिर्माण राष्ट्रिय संकल्प’ कार्यक्रममा बोल्दै ओलीले नागरिककै लगानीमा धरहरा निर्माण हुने उद्घोष गरेका हुन् । 
 
सम्बोधनका क्रममा ओलीले सहभागिलाई प्रश्न गर्दै सोधे, –धरहरा कस्ले बनाउँछ ? सहभागिले हामीले भन्ने जवाफ दिन नपाउँदै ओलीले भने, ‘म बनाउँछु धरहरा, हामी बनाउँछौं ।’ प्रधानमन्त्री ओलीले ‘म बनाउँछु धरहरा’ कार्यक्रमको लगानी संकलनको सुरुवात आफ्नै एक महिनाको तनखाबाट गर्न भन्दै ‘म बनाउँछु धरहरा’ को अर्थ यसरी प्रस्ट्याए । म बनाउँछु धरहरा भनेको,‘मेहनत र पसिनाले बन्छ धरहरा, हामी आफैले बनाउने हो ।’ 
 
अब देशलाई नयाँ तरिकाले माथि उठाउने दृढता व्यक्ति गरेका प्रधानमन्त्री ओलीले पुरातत्व विभाग र पुनःनिर्माण प्राधिकरणलाई विहिबार कार्यालय समयको पहिलो चरणमा ‘म बनाउँछु धरहरा’ कार्यक्रमको खाता खोल्न आग्रह गरे । ओलीले भने, ‘मेरो एक महिनाको तनखा राखेर भोलि नै खाता खोल्नुस् ।’ 
 
 
ओलीले सहभागिलाई उत्साही बनाउँदै तपाईहरु धरहरा आफै बनाउनेमा सहमत हुनु हुन्छ भनेर सोध्दा सहमत छौं भन्ने आवाज गुन्जियो । सरकार प्रमुखले सार्वजनिक सम्पत्ति निर्माणका लागि नागरिकलाई आह्वान गरेको सम्भवतः पहिलो पटक हो । यस्तै, मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले समेत धरहरा पुनःनिर्माणमा मन्त्रिपरिषद्का प्रत्येक सदस्यले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ । 
 
सार्वजनिक हितका आयोजना अर्थात् परियोजना निर्माणमा सरकारले सार्वजनिक आह्वान नगरेका टिकाटिप्णीहरु अझै भइरहेका छन् । त्यसमा पनि जलविद्युत आयोजना निर्माण नेपालकै लगानीमा गर्न सार्वजनिक आह्वान हुनुपर्ने आवाज उठिरहेको छ । विदेशी लगानीकर्तालाई अनुमति दिएका कतिपय आयोजनाहरु अझै अपुरो रहेकाले समेत नेपाली लगानीमा बन्नुपर्ने धेरैको धारणा छ । कार्यक्रममा विभिन्न दलका शीर्षनेताहरु उपस्थित थिए ।पुनःनिर्माण प्राधिकरण गठन भएको केही महिनामै कार्य अघि बढ्नुलाई सबैले सकारात्मक भनेका छन् । 
 
ऐतिहासिक धरहरा
राजधानी काठमाडौंको सुन्धारामा अवस्थित ९ तल्ले स्तम्भ आकारको भवन धरहरा विं.सं १९९० अघि ११ तल्ला थियो । जसको बार्दली नवौ तलमा रहेको थियो । पछी १९९० माघ २ मा आएको महाभूकम्पले बार्दली भन्दा माथिको १०–११ तला भाँचियो । नौ तल्लामा सिमित भयो । २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पले पूर्ण रुपमा क्षतिग्रस्त बन्यो । 
 
निर्माण 
धरहरा विं.सं.१८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाए । थापाले जसको निर्माण महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप गर्न लगाएका बताइन्छ । भीमसेन थापा प्रधानमन्त्री भएको बेला निर्माण भएको धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ । सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो । बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य नियम थियो । 
 
इतिहास
विं.सं. १८८२ मा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप निर्माण गर्न लगाएको धरहराको उचाई ११ तल्ला थियो । ९० सालको महाभूकम्पले धरहरा भत्कियो । त्यसको दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणाले साविक बमोजिम नौ तल्ला नै कायम गरी पुनः निर्माण गरेका थिए । जुन २०७२ वैशाख १२ को भूकम्पले जरैबाट भाँचियो । 
 
कस्तो थियो पुरानो धरहरा ?
भत्किनुअघि धरहराको सातौं तल्लामा बार्दली थियो । धरहराको उचाइ ६१.८८ मिटर (२०३ फिट) थियो । धरहरा भित्र २ सय १३ सिँढी र बाहिर २५ सिँढी थिए । धरहराको १८८ सिँढी उक्लिएपछि बार्दली आउँथ्यो । बार्दलीबाट काठमाडौं उपत्यकाको अधिकांश भाग सजिलैसँग देखिन्थ्यो । धरहराको सबैभन्दा माथिल्लो तलामा शिवलिङ्ग थियो । टुप्पोमा गजुर रहेको ऐतिहासिक स्मारक धरहरा धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्थ्यो । धरहराको निर्माण मुगलशैलीमा भएको थियो । वरिपरिको पर्खाल पनि सोही शैलीमा निर्माण भएको थियो । धरहराको निर्माण ईटा र बज्र (सुर्की, चून, मास र चाकुको मिश्रण) बाट बताइन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ