arrow

अब, जतिबेला पनि पेट्रोल पाइने, ‘ग्याँस पूर्ण सहज हुन एक महिना’

भारतबाट साविककै आयात भएपनि, चीनबाट ३३ प्रतिशत इन्धन आउने

logo
सुदिप बर्देवा
प्रकाशित २०७२ फागुन ५ बुधबार
Lp-gas-4.jpg.jpeg
काठमाडौं । इन्धन आपूर्ति सहज नभए सम्म भारत भ्रमणमा नजाने प्रधानमन्त्री केपी शर्मा ओलीको अडान टुट्यो । ओलीको भारत भ्रमण स्वीकृत समेत भइसकेको छ । शुक्रबार ओली सात दिने औपचारिक भ्रमणमा निस्कँदै छन् । भ्रमण टोलीको समेत टुंगो लागिसकेको छ । ४६ सदस्यीय टोलीको नेतृत्व गर्दै ओली दिल्ली प्रस्थान गर्ने छन् । 
 
यद्यपि, ६ महिना लामो नाकाबन्दीले सिर्जना भएको इन्धन अभाव अझै हटेको छैन । भारतसंग जोडिएका सबै नाका खुलिसकेका छन् । प्रमुख भारतीय नाका रक्सौलबाट चाहिने जति परिमाणमा पेट्रोलियम पदार्थ आएको छैन । पेट्रोलियम पदार्थकै आपूर्तिले दैनिक उपभोग्य वस्तु र अन्य सामग्री उपलब्धतामा प्रभाव पार्ने भएकाले आम नागरिक इन्धन सहज आपूर्तिको पर्खाइमा छन् । पेट्रोल पम्पमा लाइन बस्नु पर्ने बाध्यता टरेको छैन । 
 
नेपाल अइल निगमले पेट्रोलियम पदार्थको आपूर्ति तीन चार दिनमा सहज हुने बताए पनि खाना पकाउने एलपी ग्यास पूर्ण सहज हुन एक महिना लाग्ने जनाएको छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेले भनेका छन्, ‘रक्सौलबाट माग अनुसारको लोड हुने वित्तिकै पेट्रोलियम पदार्थ सामान्य अवस्था जस्तै जतिवेला पनि पम्पमा उपलब्ध हुन्छ ।’ इन्डियन अइल कर्पोरेशनसंग लोड बढाउनेबारे छलफल भइरहेको छ । 
 
सबै पेट्रोलियम पदार्थ मिलाएर देशभर दैनिक खपत ४५ देखि ४६ सय किलो लिटर हो । प्रवक्ता घिमिरेले भने, ‘अन्य नाकाबाट सामान्य जस्तै इन्धन आइरहेको छ । मूख्य रुपमा काठमाडौँ उपत्यकाका लागि रक्सौलनै महत्वपूर्ण मानिन्छ ।’ रक्सौलबाट सामान्य अवस्थामा दैनिक २४ देखि २५ सय किलोलिटर आउनु पर्नेमा १३ देखि १४ सय किलो लिटर भन्दाबढी भित्रिन सकेको छैन । रक्सौलबाट सामान्य भन्दा कम आपूर्ति भइरहेको छ । 
 
काठमाडौंको इन्धन आपूर्ति सहज बनाउन निगमको थानकोटस्थित डिपोमा भएको केही स्टक, रक्सौलबाट आएको इन्धन र अन्य नाकाबाट काठमाडौं आएको इन्धन पेट्रोल पम्पलाई दिइरहेको प्रवक्ता घिमिरेको भनाई छ । घिमिरेले भने, ‘सामान्य अवस्थामा काठमाडौंमा इन्धनको माग भनेको २ लाख देखि ३ लाख ५० हजार लिटरको बिचमा छ ।’ लाइन किन घटेन ? जवाफमा घिमिरेले भने, ‘उपभोक्तामा एक प्रकारको त्रास छ । आज पाए भोली फेरी बन्द हुने पो हो की–भन्ने । जसले लाइन नघटेको हो ।’ 
 
कति छन् पेट्रोल पम्प ? 
काठमाडौं थानकोट डिपोबाट वितरण गर्ने पेट्रोल पम्पको संख्या १ सय २५ छ । जस मध्ये १७ वटा कारबाहीमा परेका छन् । तिनले कारबाहीपछि इन्धन पाएका छैनन् । बाँकी अन्यमा कोही डिजेल मात्रै वितरण गर्ने छन् भने, कोही पेट्रोल मात्रै वितरण गर्ने छन् । अधिकांश पेट्रोल लिजेल दुबै वितरण गर्ने छन् । प्रवक्ता घिमिरेले भने, ‘आइओसीले हामीलाई लोड बढाउँछु भन्ने आश्वासन दिएको छ । उपलब्धता सहज पार्न हामीले केही स्टक पनि चलाइरहेका छौं ।’ 
 
समानान्तर कालोबजारी अन्त्य भएन नी ? 
कालोबजारीको सन्दर्भमा प्रवक्ता घिमिरेले अभावका वेला निगम भन्दा बाहिरको स्रोतबाट तेल प्रशस्त भित्रिएको बताए । उनले भने, ‘हामीले आपूर्ती बढाउँदै जान्छौ । बाहिरी श्रोतबाट आउने तेल बन्द हुँदै जान्छ । केही दिनमै हामीले वितरण गर्ने तेल आपूर्ति पूर्ण सहज भएपछी, त्यो अन्य स्रोतबाट आउने तेल बन्द हुँदै जान्छ ।’ कालोबजारी भन्ने कुरा रहँदैन । पेट्रोल पम्पबाट कालोबजारी हुने सम्भावना निकै कम हुन्छ । अनुगमनलाई तिव्रता दिएका छौं । घिमिरेले थपे, ‘तीन चार दिन भित्रमा सामान्य अवस्था जस्तै जति बेलापनि तेल पाइन्छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पनि इन्धन आपूर्तिबारे छलफल हुने भएकाले तेल सञ्चीत गर्नु पर्ने अवस्था छैन ।’ 
 
ग्याँस सहज हुन अझै एक महिना ?
ग्याँस पहिले भन्दा केही सहज भएको छ । मासिक ३० हजार मेट्रिक टन चाहिने ठाउँमा नाकाबन्दीपछी पाँच हजार मेट्रिक टन भन्दा बढी ग्याँस आएन । रक्सौल नाका खुलेपछी आइओसीले केही परिमाण बढाएको छ । माग अनुसार दैनिक ५५ देखि ६० बुलेट आवश्यक पर्नेमा तीन चार दिन यता ४० देखि ४२ बुलेटको हाराहारीमा लोड भइरहेको छ । लोड बढ्दै जाने कुरा छ । लोड बढ्दै जाँदा केही सहज हुन्छ । आइओसीले माग अनुसारको लोड गरे पनि पूर्ण रुपमा सहज हुन २० दिन देखि एक महिनाको समय अझै लाग्छ । आइओसीले एक हप्ता भित्रमा माग अनुसारको लोड दिन सक्ने जनाउ दिएको छ । प्रवक्ता घिमिरेले भनेका छन्, ‘हामीले निरन्तर छलफल गरीरहेका छौं । अबको दुई तीन दिन भित्रमा उपभोक्ताले फेरि पनि आधा रिलिण्डर पाउने वा भरी सिलिण्डर पाउने भन्ने टुंगो लाग्ने छ ।’
 
चीनको इन्धन आउँदैन ?
चीनबाट इन्धन ल्याउने सन्दर्भमा विभिन्न झमेलाहरु भएकाले उच्चस्तरीय छलफल र सम्झौता जरुरी छ । प्रधानमन्त्रीको भारत भ्रमणपछि हुने चीन भ्रमणमा ठोस छलफल हुन्छ । भारतबाट माग अनुसारको आयात भएतापनि ३३ प्रतिशत इन्धन चीनबाट ल्याउने प्रतिवद्धता गरिसकेका छौं । प्रधानमन्त्रीको भ्रमणपछि सम्झौता हुन्छ । 
 
भण्डारण गर्ने योजना कहाँ पुग्यो ? 
विगत ९ वर्ष देखि निगम निरन्तर घाटामा छ । ३६ अर्ब ६६ करोड ऋणमा परेकै कारण यसअघि बिहान–बेलुका निगमलाई कसरी आपूर्ति गर्ने भन्ने तनाव भइरहन्थ्यो ।  यद्यपि, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्यो र नेपालमा पनि स्वचालित मूल्य प्रणाली लागु भएपछी घाटा केही सुधार हुँदै गएको छ । ३६ अर्ब ६६ करोढ ऋण मध्ये २४ अर्ब रुपैंया चुक्ता भइसकेको छ । अब नेपाल सरकारको नाममा १२ अर्ब ६४ करोड मात्रै ऋण बाँकी छ । आर्थिक अवस्था सुधार हुँदै गए आफ्नै श्रोतबाट निगमले थानकोटमा केही भण्डारण गर्ने योजना रहेको छ । अहिले नेपाल सकारको नीति पनि बनिसकेको छ । कम्तिमा पनि तीन महिनाको लागि भण्डारण गर्नु पर्दछ भनेर तीन ठाउँमा भण्डारणको तयारी गरेका छौं । काभ्रेको पाँचखाल, नुवाकोटको बेत्रावती क्षेत्र र तनहुको खैरेनी क्षेत्रमा भण्डारणको पूर्वाधार तयार गर्ने कार्यमा अघि बढेका छौं । 
 
अब मूल्य समायोजन हुँदैन ? 
अन्तर्राष्ट्रिय बजारमा जति मूल्य घटेपनि भारतले अन्त शुल्क लगाएर लगभग उस्तै बनाई दिन्छ । नेपालमा भारतको भन्दा केही रुपैँया सस्तो हुन्छ । तर, सीमा क्षेत्रमा भएको मूल्य अनुसार नै निर्धारण गर्दा वैज्ञानिक हुन्छ, भनेर हामीले त्यसलाई पनि आधार मानेका छौं ।               
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ