भुटानविरुद्ध नेपालको फराकिलो जित, विमलको पेनाल्टी फर्किदा सुनिलले छोपे मौका
साफ फुटबल
प्रकाशित २०७५ भदौ २१ बिहिबार
405
Shares
काठमाडौं । साफ फुटबल अन्तर्गत भुटानविरुद्धको खेलमा नेपालले फराकिलो जित निकालेको छ । बंगलादेशकाे ढाकास्थित बंगबन्धु रंगशालामा पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल गर्दै भुटानलाई ४–० ले हराएको हो ।
२२ औ मिनेटमा अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालले अन्ततः भुटानविरुद्ध फराकिलो जित निकाल्यो । नेपालले साफमा भुटानविरुद्ध यो सहित तीन खेल खेलेको छ । नेपाल साफमा अहिलेसम्म भुटानसँग अपराजित छ ।
नेपाललाई जिताउन भरत खवास, सुनिल बल, निराजन खड्का र अनन्त तामाङले गोल गरे । निराजन र भरत दोस्रो हाफमा मैदान छिरेका थिए ।
नेपाली टोलीका रक्षक अनन्तले २२औं मिनेटमा पहिलो गोल गरे । सुनिल बलले हानेको छड्के प्रहारमा अनन्तले टाउकोले बल जाली चुमाए। ७१औं मिनेटमा सुनिल बलले अग्रता दोब्बर पारे ।
विमल घर्ती मगरले प्रहार गरेको पेनाल्टीलाई भुटानका गोलरक्षकले रोकेपनि सुनिलले फर्केर आएको बललाई नै जाली चुमाए । भुटानका खेलालीले निराजन खड्कालाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । जस कारण भुटानका खेलाडीले ७०औं मिनेटमा सोझै रातो कार्ड पाए । निराजन दोस्रो हाफमा विशाल राईको ठाउँमा मैदान छिरेका थिए । निराजन ६ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका खेलाडी हुन् ।
७० मिनेटपछि १० खेलाडिमा सिमित भुटानविरुद्ध निकालेको यो जितपछि नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग भने २–१ ले हारेको थियो । नेपालले तेस्रो तथा अन्तिम खेलमा शनिबार बंगलादेशसंग खेल्नेछ ।