arrow

विराजले तोडे राजुकाजीको कीर्तिमान, सर्वाधिक ‘क्याप’

logo
प्रकाशित २०७५ भदौ २१ बिहिबार
biraj-maharjan.jpg

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेलेको कीर्तिमान रचेका छन् । २७ वर्षीय विराजले राष्ट्रिय टोलीबाट ६९ खेलको सर्वाधिक ‘क्याप’को कीर्तिमान कायम गरेका हुन् । बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेसँगै विराजले पाकिस्तानविरुद्ध उत्रिँदा बराबर गरेको कीर्तिमान तोडे । 

उनले साफ अन्तर्गत पाकिस्तानविरुद्ध मैदान उत्रँदा प्रशिक्षक तथा राष्ट्रिय टोलीका पूर्व कप्तान राजुकाजी शाक्यको नाममा रहेको ६८ क्यापको कीर्तिमानसँग बराबरी गरेका थिए । संयोग, उनी सन् २००८ मा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै राष्ट्रिय टोली प्रवेश गरेका थिए भने पाकिस्तानविरुद्धको खेलमा शाक्यसँग कीर्तिमान बराबरी गरे । पोखरामा भएको त्यो मैत्रीपूर्णमा खेलको ८९औं मिनेटमा अन्जन केसीको ठाउँमा उनी मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीबाट खेलेका थिए । 

राष्ट्रिय टोलीबाट गरेको गोल जम्मा विराजको एउटा मात्रै छ । सन् २०१० मा कीर्गिस्तानविरुद्ध उनले ४५ यार्ड टाढाबाट आकर्षक गोल गरेका थिए । राष्ट्रिय टोलीको कप्तान रहेका विराजले पहिलो कप्तानी २०१५ को साफ च्याम्पियनसिपबाटै सम्हाले । नियमित कप्तान अनिल गुरुङ प्लेईङ सेटमा नपरेपछि उनले पहिलो पटक नेपाली राष्ट्रिय टोलीको कप्तानी समाल्ने अवसर पाएका हुन् । पहिलो कप्तानीमा उनले श्रीलंकाविरुद्ध सफलता पनि पाए ।  

विराज नेपाली फुटबलका सबैभन्दा सफल कप्तान ठहरिएका छन् । उनकै कप्तानीमा नेपालले २३ वर्षपछि अन्तराष्ट्रिय उपाधिको रुपमा बंगबन्धु गोल्डकप, सोलिडारिटी कप र सागको स्वर्ण जित्यो । नेपालका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाउन भने उने प्रवेशको एक दशक कुर्नु पर्यो ।

एन्फा एकेडेमी दोस्रो ब्याचको उत्पादन हुन्, विराज । उनले दुई वर्षअघि पुनेमा भएको मैत्रीपूर्ण खेलमा विराजले नेपालका लागि ५०औं खेल खेल खेलेका थिए । थ्रीस्टार क्लबबाट व्यावसायिक फुटबल खेलेका उनी अहिले पनि  मनाङ–मर्स्याङदीबाट फुटबल खेलिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ