एयर एसियाले त्रिभुवन विमानस्थलबाट उडान नगर्ने, पर्यटन शुल्कको बक्यौता पनि झ्वाम् !
प्रकाशित २०७५ भदौ २४ आइतबार
427
Shares
काठमाडौं । मलेसियाको हवाई कम्पनी ‘एयर एसिया’ले पर्यटन शुल्क बापतको कक्यौतै नतिरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द गर्ने निर्णय लिएको छ ।
उसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको उडान अक्टोबर १ अर्थात् असोज १५ देखि बन्द गर्ने निर्णय लिएको हो ।
यसले नेपाल पर्यटन बोर्ड घाटामा परेको छ । एयर एसियासँग उठ्न बाँकी नेपाल पर्यटन बोर्डको ७ करोड रुपैयाँभन्दा बढी रकम डुब्ने जोखिम बढेको हो ।
एयर एसियाले नेपाल पर्यटन बोर्डलाई ७ करोड २३ लाख रुपैयाँ बढी बक्यौता तिर्नु छ । एयस एसियाको नेपाल प्रतिनिधिलाई नेपाल पर्यटन बोर्डले बारम्बार ताकेता गरेपनि दुई वर्ष अघिको शुल्क बापतको रकम भुक्तानी अझै गरेको छैन । कुनै पनि अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीले नेपालबाट विदेश जाने विदेशी नागरिकसँग टिकट काट्दा नै पर्यटन शुल्कबापत १ हजार रुपैयाँ लिने गर्छ ।
यसरी लिइएको रकम बिल पाएको भएको १५ दिन भित्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर, एयर एसियाले पर्यटन शूल्कबापत संकलन गरेको ७ करोड २३ लाख ८७ हजार १ सय ७६ रुपैयाँ अझै दाखिला नगरेको पर्यटन बोर्डले जनाएको छ । शुल्क बुझाउन बारम्बार चिठ्ठी लेखिएपनि कहिल्यै ५ लाख, कहिल्यै १० लाख रुपैयाँ तिरेर झारा टार्ने गरेको छ । एयर एसियासँग व्याज र जरिवानासहितको रकम असुल गर्नु पर्ने बोर्डको भनाई छ ।