पेट्रोलियम पदार्थमा लगातार मूल्यवृद्धि भएपछि कांग्रेसद्धारा भारत बन्द, २० पार्टीको समर्थन
पेट्रोलको भाउ १२८ रुपैयाँ
प्रकाशित २०७५ भदौ २५ सोमबार
381
Shares
काठमाडौं। भारतमा लगातार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि प्रमुख प्रतिपक्षी दल काँग्रेस आई विरोधमा उत्रिएको छ । काँग्रेसले सोमबार भारत बन्दको घोषणा गरेको छ। प्रदर्शनकारीहरुले लगातार पेट्रोलियम पदार्थमा नरेन्द्र मोदी नेतृत्वको सरकारले मूल्यवृद्धि गराएको भन्दै सरकारविरोधी नारा लगाएका छन्।
बन्द आब्हान अनुसार विशाखापट्नममा कार्यकर्ताले सडकमा प्रदर्शन गरेका छन् भने उडिसाको सम्बलपुरमा काँग्रेस कार्यकर्ताले रेल नै रोकेका छन्। काँग्रेसले आफूहरुले आयोजना गरेको भारत बन्द घोषणामा विभिन्न २० पार्टीहरुको समर्थन रहेको दावी गरेको छ। आम आदमी पार्टीले भने समर्थन नगर्ने जनाएको छ।
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द आह्वान गरिएको भए पनि विपक्षी दलका कार्यकर्ताहरु विभिन्न सहरमा बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन्। भारतका केही राज्यमा पेट्रोलको मूल्य भारु ८० रुपैयाँ (नेरु १२८ ) प्रतिलिटर भन्दा माथि पुगेको छ। यो हालसम्मकै उच्च मूल्य बताइन्छ। काँग्रेसले सोमबारको बन्दलाई हिंसामुक्त गर्न पनि अपील गरेको छ।