ऊर्जामन्त्री पुन र दुबईका राजदूतबीच ऊर्जामा लगानी गर्नेबारे छलफल
प्रकाशित २०७५ भदौ २६ मंगलबार
307
Shares
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सईद हमदान अल नक्वीबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित उर्जामन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो। शिष्टाचार भेटका क्रममा नेपालको ऊर्जा तथा जलविद्युतको क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
युएईले सन् २०१९ को जनवरीमा ऊर्जा सम्मेलन आयोजना गर्न लागेको छ। सोही सम्मेलनको निम्तो दिन राजदूत हमादनले मन्त्री पुनलाई भेटेका थिए। भेटवार्ताको क्रममा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए। मन्त्री पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै त्यसमा सहकार्यका लागी प्रस्ताव गरेका थिए। उनले लगानीको सुरक्षाका लागी सरकारले कुनै कसुर बांकी नराख्ने भन्दै ढुक्क भएर लगानी गर्न युएईका लगानीकर्तालाई सन्देश पुर्याईदिन आग्रह गरेका थिए।
युएईले नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानी गर्दै आइरहेको राजदूतले भेटमा अवगत गराए। ऊर्जामा युएईको लगानी आवश्यक परे सरकारसँग औपचारिक आग्रह गर्न राजदूतले आग्रह गरेका छन्। त्यसपछि युएईले लगानी प्रक्रिया अघि बढाउन सक्ने उनको भनाई छ। भेटका क्रममा युएईले १७० देशको सहभागिता हुने गरी सम्मेलन गर्न लागेको राजदूतले जानकारी गराए। उक्त सम्मेलनमा प्रत्येक बर्ष नेपालले प्रतिनिधीत्व गर्दै आएको छ। गत वर्ष तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले समेत उक्त सम्मेलनमा भाग लिएका थिए।
मन्त्री पुनले पछिल्लो समय निजी क्षेत्र र विभिन्न देशका राजदूतहरुसंग नेपालमा लगानी गर्न आग्रह गर्दै आएका छन्। नेपालको जलविद्युत क्षेत्रमा लगानीको लागी उपयुक्त अवसर भएको भन्दै उनले लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गर्दै आएका छन्। मन्त्री पुनले लगानीको वातावरण सरकारले बनाउने भन्दै नेपालको विकासको लागी वैदेशिक लगानीको आवश्यकता रहेको बतांउदै आएका छन्। उनले त्यसका लागी देशभित्र र बाहिर बजार बनाउन सरकारले पहल गर्ने दावी गर्दै आएका छन्।