पाकिस्तानमा इमरान सरकार, विस्फोटनका घटना भने रोकिएन
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
608
Shares
इस्लामाबाद। पाकिस्तानमा भएको विस्फोटनमा परी कम्तीमा तीन सुरक्षाकर्मी मारिएका छन्। बलुचिस्तान प्रान्तको पिशीन जिल्लामा शुक्रबार भएको विस्फोटनमा परी अरू दुई जना घाइते भएको समाचारमा जनाइएको छ।
एउटा सरकारी कार्यालय नजिकै सवारी साधानमा बम विस्फोटन गराइएको अधिकारीहरूले जानकारी दिएका छन्। आक्रमणकारीहरूले रिमोट कन्ट्रोलमार्फत विस्फोटन गराएको बताइएको छ।
स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार घाइते सुरक्षाकर्मीहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ। प्रहरीले अहिले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको र दोषीको खोजी गरिरहेको जनाएको छ।
घटनाप्रति प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गर्दै घटनाको विस्तृत विवरण आफूलाई दिन प्रदेश सरकारलाई निर्देशन दिएका छन्। निर्वाचन मार्फत नयाँ सरकार बने पनि पाकिस्तानमा विस्फोटनलगायतका हिंसात्मक घटना नरोकिएको भन्दै चिन्ता व्यक्त गरिएको छ। सिन्ह्वा