arrow

समाचारको चोरी रोक्न रासस जाग्ने

logo
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
kulchandra-wagle-660x330.jpg.jpeg
काठमाडौं । मुलुकको एकमात्र समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) आज स्थापनाको ५४औँ वर्ष पूरा गरी ५५औँ वर्षमा प्रवेश गरेको छ । 
 
राससले हरेक दिन बिहान ६ः०० देखि राति ११ बजेसम्म नेपाली र अङ्ग्रेजी भाषामा नियमित राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार सम्प्रेषण गर्दै आइरहेको छ । हाल यसले ‘न्युजलाइन’ सेवाअन्तर्गत केन्द्रदेखि स्थानीय तहसम्मका ग्राहक रहेका सबै प्रकारका सञ्चार माध्यमलाई समाचार सेवा दिँदैै आएको छ । 
 
वि.स. २०७० मङ्सिर ५ गतेदेखि राससले न्युजलाइन सेवा प्रारम्भ गरी समाचार प्राप्त भएलगत्तै सम्पादन शाखाबाट अनलाइन न्युजलाइन प्रणालीमा समाचार सम्प्रेषण गर्दै आएको छ । यस सेवाबाट एफएम रेडियो र अनलाइन सञ्चार माध्यम प्रत्यक्ष लाभावान्ति भएका छन् । 
 
मुलुकभित्र र बाहिरका आधिकारिक र सत्यतथ्य समाचार सम्प्रेषणका साथै राससले आलेख समाचार, श्रव्य सामग्रीका साथै देशविदेशका समाचारमुलक तस्बिर सेवा पनि उपलब्ध गराउँदै आएको छ । 
 
राससले देशभरबाट र विदेशस्थित विभिन्न स्थानमा रहेका प्रतिनिधिबाट सङ्कलित समाचार नेपाली र अङ्ग्रेजीमा पस्कँदै आएको छ भने भू–उपग्रहका माध्यमबाट एपी, एएफपी, सिन्ह्वा, पिटिआई, क्योदो, एपिपी, बिएसएसजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थाबाट प्राप्त समाचारसमेत आफ्नो अन्तर्राष्ट्रिय सेवाअन्तर्गत सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको छ । हाल यसले प्रोजेक्ट सिण्डिकेटको सामग्री पनि प्रदान गर्न थालेको छ । 
 
राससले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोटो सेवाका साथै श्रव्य समाचार सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ । राससले कम्प्युटर नेटवर्कमार्फत छापा, रेडियो, टेलिभिजन र अनलाइनलगायत राष्ट्रिय र मोफसलका समाचारपत्रलाई समाचार, तस्बिर र श्रव्य सामग्री उपलब्ध गराउँदै आएको छ । 
 
राससको ५५औँ वर्ष प्रवेशका अवसरमा प्रतिक्रिया दिँदै अध्यक्ष कुलचन्द्र वाग्लेले आगामी दिनमा श्रव्यदृश्य सेवा उपलब्ध गराउने योजना अगाडि बढाइएको र उच्चतम प्रविधिको प्रयोग गरेर अनलाइन सेवालाई थप परिकृष्त गर्ने बताउनुभयो । उहाँले राससबाट प्रयोग हुने विषयवस्तुलाई थप विश्वसनीय र व्यावसायिक बनाउँदै लैजाने तथा अनाधिकृत प्रयोगलाई नियमन गरिने उल्लेख गर्नुभयो । 
 
यस्तै, महाप्रबन्धक निर्मला आचार्यले राससको स्थापनाकालदेखिको ऐनलाई संशोधन गर्ने र भूकम्पबाट क्षति भएका भवनको पुनःनिर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढइने बताउनुभयो । उहाँले राससका स्रोतसाधनलाई व्यावसायिक प्रयोगमा ल्याइने उल्लेख गर्नुभयो । 
 
राससले वार्षिक ६० हजारभन्दा बढी समाचार सामग्री उत्पादन गरेर आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । 
 
यही अवसरमा रासससँग कुरा गर्दै त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता विभागका प्रमुख प्रा चिरञ्जीवी खनालले रासस सञ्चार माध्यमका लागि महत्वपूर्ण समाचार स्रोत भएकाले यसलाई थप सक्षम र परिस्कृत बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले स्वदेशी सञ्चार माध्यममात्र नभई अन्तर्राष्ट्रिय समाचार माध्यममा पनि पर्याप्त मात्रामा आउने गरी विषयवस्तु दिनुपर्ने धारणा राख्नु भयो । 
 
तत्कालीन नेपाल संवाद समिति र सगरमाथा संवाद समितिलाई गाभेर विसं २०१८ फागुन ७ गते रासस स्थापना भएको हो । समितिको संस्थापक सञ्चालक समितिका सदस्यमा रामराज पौड्याल, गोविन्द वियोगी र मणिन्द्रराज श्रेष्ठ हुनुहुन्थ्यो । राष्ट्रिय संवाद समिति ऐन–२०१९ मा २०२८ सालमा भएको पहिलो संशोधनले ‘संवाद’ शब्दको सट्टा ‘समाचार’ प्रयोग गरी यस संस्थालाई राष्ट्रिय समाचार समितिको नाम दिइएको हो । 
 
त्यसबेला काठमाडौँको खिचापोखरीस्थित एक निजी घरबाट सेवा प्रारम्भ गरेको राससले सुरुका दिनहरूमा गौँडा गोश्वाराबाट आएका सूचनाका आधारमा बाढी, पहिरो, आगलागी, महामारीका घटना र विभिन्न जिल्लाबाट राजधानी आउने यात्रीहरूसँग सोधपुछ गर्दै खबर सङ्कलन गरी टाइपिङ गरी लिथो मेसिनद्वारा बुलेटिन निकालेर वितरण गर्ने गरेको थियो । हाल राससमा स्थायी, करार र स्थानीय समाचारदाता गरी करिब ३०० कर्मचारी तथा पत्रकार कार्यरत छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ