उत्पादन घट्दै गएकाले परनिर्भरता बढ्दै छ : गर्भनर डा. नेपाल
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ भदौ ३१ आइतबार
180
Shares
पाल्पा। नेपाल सरकारका गभर्नर डा. चिरञ्जिवी नेपालले उत्पादन घट्दै गएकाले परनिर्भरता बढ्दै गएको बताएका छन्। देशले अहिले २८ अर्बको चामल, ११ अर्ब रुपैयाँको तरकारी, ८ अर्ब रुपैयाँको फलफूल र १५ अर्ब रुपैयाँको तेल आयात गर्ने गरेको भन्दै गर्भनर नेपालले देशमा परनिर्भरता बढ्दै गएको बताएका हुन्। आईतबार पाल्पाको तानसेनमा ‘पैसाको खेती’ नामक पुस्तकको विमोचन गर्दै गर्भनर डा. नेपालले यस्तो बताएका हुन्।
उनले देशलाई आर्थिक समृद्विका रुपमा अगाडि बढाउन स्वदेशमै उत्पादन गर्नु पर्ने बताएका छन्। स्वदेशी माटोमै स्वदेशी उत्पादन बढाउनुपर्नेमा जोड दिएका हुन्। गर्भनर नेपालले भने‘हामी पैसा खोज्न विदेश भौतारिएका छौं, व्यापार व्यवसाय गर्न बाहिर गएका छौं तर आफ्नो ठाउँमा गर्न सकिने र संभावनालाई वेवास्ता गरेका छौ जसले गर्दा हामी आर्थिक विकासमा पछि पर्नु परेको छ।’
अब देशमै केही गर्ने समय आएको छ। अवसर यहिँ छ, विदेश गएर दास बन्नुभन्दा स्वदेशी माटोमै उत्पादन बढाउन तिर लाग्न गर्भनर नेपालले आग्रह गरेका छन्। कार्यक्रममा नेपाल बैंङ्कर एशोसियसनका पूर्व अध्यक्ष उपेन्द्र पौडेलले विद्यार्थीहरुमा समेत वित्तिय चेतना आवश्यक रहेको बताए। उनले देश विकासका लागि विद्यालय तहबाटै चेतनास्तर वृद्धि गर्नुपर्नेमा जोड दिए।
देश विकासका लागि भविष्यमा कर्णधारलाई आजैदेखी बैङ्कीङ चेतना दिनु आवश्यक रहेको पौडेलले बताए। नव साक्षर समुदायका लागि वित्तिय चेतना जगाउने उद्देश्यले लेखिएको पैसाको खेती पुस्तक बजारमा आएको छ। सुमन ढकाल र प्रकाश कोइरालाद्धारा लिखित पुस्तक आईतरबार देखी बजारमा आएको हो।
फिन्लिट प्रालि मार्फत् बजारमा आएको पुस्तकको मूल्य २ सय ४० रहेको छ। पुस्तकमा पैसा के हो ?, बचत कसरी गर्ने ? बैंकमा कारोबार गर्दा हुने फाईदा, ऋण कसरी पाउने र कसरी हिसाब राख्ने ? बीमा, लगानी, पारिवारिक बजेट, विप्रेषण, लघु व्यवसाय, सामाजिक सुरक्षा जस्ता विषय समेटिएको छ।