काठमाडौं। पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमसँगको सहकार्य तथा समन्वयमा नेपाली पर्यटन ब्यबसायीहरु, विद्यार्थी तथा मिडिया प्रतिनिधि सहित सेप्टेम्बर १२ देखि १४ सम्म मलेसियाको लंकाबीमा आयोजित पाटा ट्राभल मार्टको ४१ र्औ संस्करणमा “नेपाल पेभिलियन” अन्तर्गत सक्रिय तथा प्रभावकारी सहभागिता जनाएको छ ।
मलेसिया सरकारद्धारा होस्ट गरिएको पाटा ट्राभल मार्ट २०१८ मा नेपालबाट अभिवादन एक्सपिडिशन होलिडेज, कम्युनिटी होमस्टे नेटवर्क, द यात्रा कोर्टयार्ड, गोइङ्ग नेपाल, कैलाश ग्रुप नेपाल, हिमालयन होलिडेज ट्रेकिङ्ग एण्ड टुर्स, लाङटाङ्ग री ट्रेकिङ्ग एण्ड एक्सपिडिसन, सांग्रिला होटेल एण्ड रिसोर्ट, नेपाल होलिडे मेकर्स टुर्स एण्ड ट्राभल्स र अप एभरेष्ट ट्राभल्स एण्ड टुर्स गरी १० वटा नीजि क्षेत्रका पर्यटन ब्यवसायी कम्पनिहरुले भाग लिएका छन्।
पाटा ट्राभल मार्ट २०१८ मा विश्वभरीका ७० गन्तब्यहरुबाट कुल १४०० सहभागिहरुले सहभागिता जनाएका छन, जसमा २०८ वटा संघ संस्था कम्पनिहरु तथा ३३ वटा गन्तब्यहरुबाट ३२% स्थानिय गरी कुल ३८९ विक्रेता सहभागिहरु र २४१ वटा संस्थाहरु तथा ५३ स्रोत बजारहरुबाट कुल २५२ क्रेताहरु बीच ब्यापार आदानप्रदान तथा गन्तब्य प्रवद्र्धन भेटघाट तथा छलफल कार्यक्रमहरु आयोजना गरिएको थियो।
साथै पाटाले नेपाल, बंगलादेश, सिंङ्गापुर, क्यानडा, फिलिपिन्स तथा मलेसियाबाट २१० जना युवा पर्यटन प्रोफेशनलहरुलाई पनि पाटा युथ सिम्पोजियमका लागि लंकावीमा आमन्त्रण गरेको थियो । नेपालबाट पाटा नेपाल स्टुडेन्ट च्याप्टरलाई प्रतिनिधित्व गर्दै मिड भ्याली इन्टरनेशनल कलेजमा अध्यनरत तमन्ना प्रधान र आइएसटी कलेजका जिग्मे लामाले पाटा नेपाल च्याप्टरको प्रायोजनमा सहभागी भएका थिए।
सेप्टेम्बर १३ मा आयोजित पत्रकार सम्मेलनको अबसरमा बोल्दैे नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले नेपालको अलौकिक सौन्दर्यता र विविधताका बारेमा अन्तराष्ट्रिय मिडिया प्रतिनिधिहरु सामु प्रस्तुत गर्दै उठेका प्रश्नहरुको जवाफ दिए।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले पाटा ट्राभल मार्ट नेपालको विविधता संसारका सामु देखाउने अनुपम अवसर भएको बताए। सेप्टेम्बर १५ मा भएको पाटा अन्तराष्ट्रिय गन्तब्य समितिको बैठकलाई जोशीले अध्यक्षता गरेका थिए। बैठकमा मास्टरकार्ड तथा गुगलको प्रस्तुति पनि भएको थियो । यो बैठकले नेपाललाई डिजिटल आबद्ध बनाउन सहयोगी हुने विश्वास कार्यकारी प्रमुख जोशीले ब्यक्त गरे।
पाटा ट्राभल मार्टमा राखिएको नेपालको स्टलमा दर्शकको आकर्षण थियो । खासगरी परम्परागत प्यागोडा तथा स्तुपा शैलीमा सजाइएको नेपाली पेभिलियनमा नेपालको प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका विविध सेवा तथा बस्तुहरु सजाइएको थियो ।
सेप्टेम्बर १५ तारीखका दिन आयोजित पाटा बोर्ड डिनर तथा च्याप्टर अवार्ड प्रिजेन्टेशन समारोह विच पाटा नेपाल च्याप्टरलाई पाटा नेक्स्ट जेन एन्गेजमेन्ट अवार्ड प्रदान गरियो । उक्त अवार्ड पाटा नेपालका महासचिव विभूती चन्द ठाकुरले ग्रहण गर्दे उनले पाटा नेपाल स्टुडेन्ट च्याप्टरमा आबद्ध सम्पूर्ण विद्यार्थीहरुलाई उनीहरुको निरन्तर लगाव र समर्पणको नतिजा भएको बताए। यो अवार्ड पाटाले प्रत्येक बर्ष विश्वभरी रहेका आफ्ना च्याप्टरहरुले युवा पुस्ताहरुसंगको संलग्नता तथा सहकार्यमा पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रदान गरेको योगदान तथा निष्ठाको उच्च मुल्याङ्गनका आधारमा उत्कृष्ट च्याप्टरको रुपमा प्रदान गर्ने गर्दछ।
पाटा ट्राभल मार्ट जस्ता कार्यक्रमहरु नेपाली टुरिजम प्रोडक्ट तथा गन्तब्यलाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गर्ने एक महत्वपूर्ण मञ्च भएको र पछिल्लो समयमा पर्यटन वोर्ड, नेपाल एयरलाईन्स र नीजि क्षेत्रका ब्यवसायको सहकार्यमा यस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरुमा सहभागिताको क्रम बढ्दै गएकाले पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव बढेको पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले बताए।
पाटा नेपाल च्याप्टरका सिइओ सुरेश सिंह बुडालले पाटा नेपाल च्याप्टरले बेष्ट च्याप्टर अवार्ड पाउनु नेपाली पर्यटन क्षेत्रका लागि गर्वको बिषय भएको बताउदै पाटा नेपालले दीगो पर्यटन विकासका लागि आवश्यक जिम्मेवारी अनुरुप युवापुस्ताहरुसँगको आबद्धतालाई प्राथमिकतामा राख्दै वर्ष २०१७मा संस्थाले गरेका कार्यहरु तथा भावी योजनाका बारेमा पाटा च्याप्टर कोलोकियममा प्रस्तुत गरेका थिए।
नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२०लाई अझ सशक्त प्रचार गर्न पाटा ट्राभल मार्ट २०१८मा बायर्स लाउन्जको प्रायोजन गरेको थियो। उक्त लाउन्जमा करिब २०० भन्दा बढी अन्तराष्ट्रिय बायर्सहरु पुगी ब्यापारिक छलफल तथा नेपाल गन्तब्यका बारेमा चासो ब्यक्त गरेका थिए।