अफगानिस्तानले रोक्यो भारतलाई बराबरीमा, एसिया कपमा समान २५२ रन
प्रकाशित २०७५ असोज १० बुधबार
568
Shares
काठमाडौं । अफगानिस्तानले एसिया कप क्रिकेटमा भारतलाई बराबरीमा रोकेको छ । युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको खेलमा भारत र अफगानिस्तानबीचको खेलमा बराबरी भएको हो ।
पहिले ब्याटिङ्ग गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २५२ रन बनायो । मोहम्मदा शहजादले ११६ बल खेलेर १२४ रन बनाए ।
मोहम्मद नाबीले ६४ रन बनाए । रबिन्द्र जडेजाले ३ विकेट लिए ।
जवाफी ब्याटिङ्ग गरेको भारतले एक बल खेल्न बाँकी छँदै अलआउट भएर समान २५२ रन बनायो ।
पहिलो विकेटका लागि १७.१ ओभरमा ११० रनको साझेदारी भए पनि भारतले त्यसपछि कमजोर प्रदर्शन गर्यो । लोकेश राहुलले ६० तथा अम्बाटी रायुडुले ५७ रन जोडेका थिए । ३ खेलाडी रन आउट भए ।
आफताब आलम, मोहम्मद नबी र राशिद खानले दुई दुई विकेट लिए ।
यो बराबरीले अफगानिस्तानले भारत विरुद्ध एक इतिहास रचेको छ । भारत फाइनलमा पुगिसकेको छ भने अफगानिस्तान बाहिरिएको छ । यसअघि भारतले सुपर फोरमा बंगलादेश र पाकिस्तानलाई हराएको थियो ।
बुधबार पाकिस्तान र बंगलादेश खेल्दैछन् । विजेता फाइनलमा पुग्नेछ ।