काठमाडौं । अहिले चर्चामा रहेमो पप्पु कन्ट्रक्सनका पूर्व अध्यक्ष समेत रहेका सांसद एवं निर्माण व्यवसायी हरिनारायण रौनियारले विकास निर्माणको काममा ढिलाई हुनुको पछाडी ९० प्रतिशत पूर्व सांसदको दोष रहेको बताएका छन् ।
विकास समितिको बैठकमै उनले यस्तो बताएका हुन् । विकास समितिमा व्यवसायीहरु नै सदस्य रहेको आलोचना भएपछि संघीय समाजवादी फोरम नेपालबाट सांसद रहेका रौनियारले कुन समितिमा कस्ता सांसद राख्ने भने विषय निर्देशिकाले तय गर्ने हुँदा यो विषयमा कसैले केही भन्दैमा केही नहुने तर्क गरे ।
सांसदहरुलाई थर्काउँदै उनले विकास समितिमा ठेकेदार रहेको भनेर विरोध गर्नुको कुनै औचित्य नरहेको समेत बताए ।
विकास समितिको बैठकका सदस्यहरुले समितिमा निर्माण व्यवसायीहरू नै सदस्य रहेको भन्दै आलोचना गरेका थिए ।
पप्पु कन्स्ट्रक्सन बदनाम छ । देशभरी झन्डै तीन दर्जन पुल जिम्मा लिएको यो कन्ट्रक्सनले काम भने एउटाको पनि पूरा गरेको छैन । अहिलेसम्म उसले ११ अरब बराबरका ४० आयोजना ओगटेर राखेको छ । सार्वजनिक खरिद ऐनको फाइदा उठाउँदै पप्पुले थोरै रकम राखेर आयोजना हत्याउने गरेको छ ।
बैठकमा विकास समिति सदस्यले निर्माण कार्यमा लापरवाही गरेका ठेकेदारलाई नै समिति सदस्य बनाइएको भन्दै चर्को आलोचना गरे । विकास निर्माण कार्यमा अनियमितता गरी गुणस्तरहीन काम गर्ने सांसदलाई समितिमा नराख्न पनि उनीहरुले भने । समिति सभापति कल्याणी खड्काले पनि ठेकेदार सांसदहरू समितिमा बस्न नहुने धारणा राखेकी छन् ।
यहीबीचमा रौतहटमा भएको डुंगा दुर्घटनाको कारण पुल भएको भन्दै निर्माण गर्ने ठेकेदारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ । गत भदौ ८ गते गौर नगरपालिकाको टिकुलिया घाटमा भएको डुंगा दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो ।
यस्तै, यही कन्ट्रक्सनले राष्ट्र बैंकको केन्द्रीय भवन पुनःनिर्माणको ठेक्का पाउने देखिएको छ । यही निर्माणबाट पप्पुले भवन निर्माणको काममा डेब्यू गर्ने भनिएको छ ।