खुद्राकै भरमा यात्रु ठगिए, ३० प्रतिशतसम्म वृद्धि, प्रशासन मौन
प्रदीप आचार्य,
प्रकाशित २०७५ असोज ११ बिहिबार
1k
Shares
बुटवल । नेपाल सरकारले असोज १ गतेबाट लागु हुने गरी पहिले तोकेको मूल्यमा १० प्रतिशत भाडा बृद्वि गर्न सहमत भएको थियो ।
यातायात ब्यवसायीहरु आन्दोलमा बसि सवारी नचलाएपछि सरकार १० प्रतिशत भाडा बढाउन तयार भएको थियो ।
तर यातायाात ब्यवसायीहरु भने पहिले तोकेको भाडामा नभई आफुहरुले लिईरहेको भाडाको आधारमा भाडा वृद्धि गरी लिइरहेका छन् ।
हिजोआज यातायात ब्यवसायीहरुले पहिलो ४ किलोमिटरको लागी पनि १५ रुपैयाँको १० प्रतिशत बढाएर २० रुपैयाँसम्म लिने गरेका छन् । जुन करिब ३० पतिशतको हाराहारी हुन आउँछ ।
पहिले ४ किलोमिटर सम्मको लागी सरकारले तोकेको १४ रुपैयाँ भएपनि १५ रुपैयाँ लिने गरेका थिए । जसबाट प्रतिब्यक्ति १ रुपैयाँ ठगी भईरहेको छ ।
नेपाल सरकारले बढाएको भाडा जिल्ला प्रशासन कार्यालयले तोक्नु पर्ने भएपनि पश्चिम नेपाल बस ब्यवसायी समितिले नै तोकेको भाडालाई नै मान्य गराउने अप्रतक्ष जानकारी प्राप्त भएको छ ।
भाडामा भएको बृद्विले सबै यात्रुहरु समस्यामा परेका छन् । एक यात्रुले भने –‘प्रशासन पनि मौन छ , सरकारले नै केही गर्न सक्दैन भने प्रशासनले के गरोस् । केही गर्न खोजे घुस दिए प्रशासन चुप लाग्छ ।’
यता पश्चिम नेपाल बस ब्यवसायी समितिका सचिव रामचन्द्र भुषालले सरकारले पहिले तोकेको भाडा अनुसारमा १० प्रतिशत भाडा लिएको बताउँछन् । उनले भने –‘ सरकारले तोकेको पहिलेको भाडामा १० प्रतिशत बढाएर लिन सबै सवारी चालक तथा सवारी धनीलाई आग्रह गरेका छौँ । ’
उनले राउण्ड फिगरमा ५० पैसासम्म भए सोही रुपैयाँ र ५० पैसा भन्दा बढि भएमा एक रुपैयाँ बढी लिन आग्रह गरेको उनले बताए ।
बढेको भाडाले यात्रुबाट खुल्ला रकम नभएको भन्दै खुद्रा फर्काउने चलन पनि सवारी साधनमा छैन ।
यसबाट पहिलेनै प्रतियात्रु १ रुपैयाँ ठगी गर्ने गरेका थिए । अब बढेको भाडामा पनि खुद्रामा भाडा आउने भएकोले अब पनि यातायात ब्यवसायीहरुले भाडाको नाममा ठगि हुने निश्चित भएको छ ।
रुपन्देहीका बिभिन्न स्थानबाट छुट्ने सवारीको भाडामा पहिलेकोमा १० प्रतिशत बढाएर लिएको सिद्वार्थ यातायात समितिका अध्यक्ष सञ्जीव रोक्काले जनाए ।
उनले पश्चीम नेपाल संगको सहकार्यमा नयाँ भाडा तयार गरेको र सोही भाडा अनुसार नै लिएको र खुद्रा पैसाको हकमा आफुहरु सम्बेदनशील रहेको र यसको लागि प्रशासनको निर्णय कुरिरहको बताए ।
यता उपभोक्ता हित संरक्षण मञ्च रुपन्देही सचिव डिआर घिमिरेले सरकारले गरेको कुरामा अडिक रहन नसक्दा सवारी भाडाको मूल्य बृद्वि भएको बताए ।
उनले सिण्डीकेट हटाउने सरकारको नेतृत्वले आफ्नो कुरामा अडिक रहन नसक्दा भाडा बढेको बताए ।
उनले भने–‘सरकारले बैज्ञानीक रुपमा भाडा बढाउन सकेन् । सिण्डीकेटबाट आक्रोशित यातायात ब्यवसायी भाडा बढाउन माग गरेका हुन् । ’
सरकारबाट केही आशा रहेको भएपनि उनले सरकारले केही गर्न नसकेको आरोप लगाए ।
उनले पहिले तोकेको भाडा भन्दा बढि नै लिएको भन्दै सरकारको पहिलेको भाडामा १० प्रतिशत थपे पनि बढाउन नपर्ने बताए । उनले खुद्राले भाडामा दैनिक यात्रुलाई ठगिरहेको बताए ।
भाडा जथाभावी लिएपनि प्रशाषनले कडाईका साथ निगमन गर्नुपर्ने बताए ।यता जिल्ला प्रशाषन कार्यालय रुपन्देही भने आफै भाडा तोक्ने अवस्थामा नरहेको बताएको छ ।
प्रमुख जिल्ला अधिकारी जिल्ला बाहिर रहेको बताउँदै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चक्रपाणी गौतमले प्रमुख जिल्ला अधिकारी आउँदासाथ कार्य गर्न तयार रहेको बताए ।
उनले भने –‘सिडियो साब बाहीर हुनुहुन्छ, उहाँ आएपश्चात अनुगमनको प्रक्रिया गर्छौ । ’
बुटवल उपमहानगरपालिकाको बुटवल देखी तामनगर सम्मको भाडा पहिले १५ रुपैयाँ भएपनि पछिल्लो समय बढेर २० भएको छ । जहाँ बढिमा २ रुपैयाँ बढेको भएपनि ३ रुपैयाँ सेवावाट ठगी भएको हो ।
पछिल्लो समय बुटवलदेखि शंकरनगरसम्म १५ रुपैया, बुटवलदेखि ड्राईभरटोल २० रुपैयाँ, बुुटवलदेखि नयाँ मिल २५ रुपैयाँ, बुटवलदेखि मणिग्राम ३० रुपैयाँ, बुुटवलदेखि मंगलापुर ३५ रुपैयाँ, बुटवलदेखि भलवारी ३५ रुपैयाँ, बुुटवलदेखि पथ्थरडाँडा ४० रुपैयाँ, बुटवलदेखि मधौलिवा ४० रुपैयाँ, बुुटवलदेखि कोटिहवा ४५ रुपैयाँ, बुटवलदेखि लखनचोक ४५ रुपैयाँ, बुटवलदेखि ठुटीपिपल ४५ रुपैयाँ, बुटवलदेखि भैरहवा ५० रुपैयाँ, बुटवलदेखि बेलहिया ६५ रुपैयाँ , बुुटवलदेखि बनबाटिका १५ रुपैयाँ, बुुटवल देखि शिवपुर, भवानीपुर ४० रुपैया, बुुटवलदेखि कान्छीबजार ५० रुपैयाँ, बुटवलदेखि तीनधुरा ५० रुपैयाँ, बुटवलदेखि डिंगनगर २० रुपैयाँ, बुटवलदेखि १० नं. २५ रुपैयाँ, बुटवलदेखि महबारी ४० रुपैयाँ तोकिएको छ ।
जसमा खुद्रा रकम प्रत्येकमा १ देखि ३ रुपैयाँसम्म बढी लिईएको हो । यातायात ब्यवसायीहरुले ४ किलोमिटर सम्म १५ रुपैयाँ, ४ देखि १० किलोमिटरसम्म २० रुपैयाँ आफै–आफैँ तोकेर भाडा लिईरहेका छन् ।