arrow

सर्वोच्चको फैसला ढिलाईले निलम्बनको संघारमा क्रिकेट संघ

आइसीसी पत्राचारले क्यानसंलग्नहरुको बढ्यो व्यस्तता

logo
चन्द्र धामी,
प्रकाशित २०७२ फागुन ९ आइतबार
CAN-&-CORT.jpg.jpeg
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले नेपाल क्रिकेटसंघ क्यानभित्रकै किचलोका कारण नेपाल निलम्बनमा पर्न सक्ने जनाउ दिएपछि नेपाली क्रिकेटसंग जोडिएकाहरुको व्यस्तता बढेको छ । आइसीसीले विहिबार नेपाली क्रिकेट अर्थात् क्यानसंग जोडिएकाहरुलाई पत्राचार गरेर आफु अब बाध्यकारी कदम चाल्न सक्ने जनाउ दिएको हो । 
 
विश्व क्रिकेटको सर्वोच्च निकाय आइसीसी ग्लोबल डेभलपमेन्ट प्रमुख टिम एण्डरसनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, राखेपले गठन गरेको नेपाल क्रिकेटसंघ क्यानको तदर्थ समिति संयोजक रमेश सिलवाल र राखेपले रोक्न लगाएको साधारण सभालाई बेवास्ता गर्दै निर्वाचनबाट चयन चतुरबहादुर चन्द नेतृत्वको निर्वाचित कमिटी महासचिव अशोकनाथ प्याकुर्यालको नाममा पत्राचार गरी समस्या सुल्झाउन ढिलो भएको भन्दै आइसीसी बाध्यकारी कदम चाल्न पछि नपर्ने चेतावनी दिए । 
 
यसअघि, २०१५ को नोभेम्बर ८ मा उनले विवाद सुल्झाउन भन्दै पत्राचार गरेका थिए । त्यसपछी राखेपले आइसीसी र एसियाली क्रिकेट परिषद् एसीसीलाई साधारण सभाबारे ब्रिफ गरेपछि तत्काललाई रोक्न भनेको थियो । डिसेम्बर १९ सम्म नेतृत्वबारे कुनै निर्णय नगर्न र नेतृत्व चयनको अभ्यास नगर्न बन्धन परेकामा डिसेम्बर १५ अर्थात् मंसिर २९ गते चतुबहादुर चन्दपक्षले निर्वाचन गरेको थियो ।  
 
पुस १ गते वुधबार राजधानीको कमलादीस्थित होटल राज घरानामा चतुरबहादुर चन्दको नेतृत्वमा क्यानको निर्वाचित कमिटी गठन भएको हो । आइसीसीकै अनुमती अनुसार राष्ट्रिय खेलकुद परिषद् राखेपले साधारण सभा रोक्न भन्दा भन्दै गरेको निर्वाचनलाई सरकारले अवैधानिक भनेको छ ।
 
यस्तै, गएको पुस १८ गते राखेपले सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । जसविरुद्ध चतुरबहादुर चन्दनेतृत्वको निर्वाचित कमिटीले सर्वोच्च अदालनमा मुद्दा दर्ता गरेको थियो । केही समय अघि सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो । छलफलमा दुबैलाई यथा स्थानमा बस्न भनेपछि मुद्धाको छिनोफानो भएको छैन । 
 
अदालतको फैसलामा ढिलाई भएकैले यो स्थिति आयो : विष्ट 
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले सर्वोच्च अदालतको फैसलामा ढिलाई भएकाले यो समस्या आइलागेको बताए । विष्टले हाम्राकुरासंग भने, ‘अदालतको निर्णयबारे हामीले बोल्न मिल्दैन, फैसला हुन ढिलो भइरहेको छ ।’ आइसीसीले आफुलाई इमेल पठाएको सुनाएका विष्टले नामिबियासंग घरेलु मैदानमा हुने खेलबारे चाँडै टुंगो लगाउन भनेको बताए । विष्टले भनेका छन्, ‘अदालतले फैसला गरेको छैन, अहिले यथास्थितिमा बस भनेको छ । कसैलाई पनि गतिविधि नगर्न भनेको छ । अस्तिको पेशी सरेको थियो, विष्टले थपे, ‘आइतबार (आज) पनि पेशी छ, छलफल हुन्छ हुँदैन ।’
 
कीर्तिपुर मैदानको पूर्वाधार निर्माण कहाँ पुग्यो ?
कीर्तिपुर क्रिकेट मैदानको पूर्वाधार निर्माणको काम तीब्र रुपमा भइरहेको विष्टले बताए । सदस्य सचिव विष्टले भने, ‘मैले ठेकदारलाई ठाडो आदेश दिएर काम गर्न लगाएको छु, चैत भित्रमा हामी पूर्वाधार निर्माणको काम सक्छौं, वैशाखमा प्रतियोगिता संचालन गर्नु पर्ने आइसीसीको तालिका छ । प्रतियोगिताको मिति तय नभए पनि वैशाखमा संचालन हुने विष्टले बताए । नेपालले वैशाख २ र ४ गते नामिवियासंग कीर्तिपुर मैदानमा खेल्ने विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्नु पर्ने आइसीसीको तालिका छ । जसमा आइसीसीले शंका जनाएको छ ।
 
यस्तै, ग्लोबल डेभलपमेन्ट प्रमुख एण्डरसनले आफुले पठाएको पत्रमा भनेका छन्, ‘आइसीसी बोर्डलाई यो विषयमा अप्रिलमा हुने बैठकमा जानकारी गराइनेछ । तर, अवस्था फेरि त्यही रहे बोर्ड क्यान निलम्बन सम्मको कारबाही गर्न सक्नेछ ।’ कीर्तिपुर मैदानको स्तरोन्नति गर्न नसकेको तथा सुरक्षाको व्यवस्था गर्न नसकेपछि नोभेम्बरमा पपुवा न्युगिनीविरुद्ध खेल्न नेपाल यूएई पुग्नु परेको थियो । आइसीसीले सन् २०१५ देखि २०१७ सम्म सन्चालन हुने च्याम्पियनसिपका ७ खेल मध्ये  नेपालले तीन राष्ट्रविरुद्धका ६ खेल घरेलु मैदानमै खेल्न पाउने व्यवस्था गरेको छ । क्यान विवादकै कारण आइसीसीले नेपाललाई दिने २०१४ देखिकै ९ लाख डलर सहयोग रकम रोकेर राखेको छ । 
 
अब पनि दुवै कमिटी रहिरहे नेपाल निलम्बनमा पर्छ 
क्यान पूर्व महासचिव उत्तम कर्माचार्यले यसरी अब पनि दुवै कमिटी रहिरहे नेपाल निलम्बनमा पर्ने बताए । उनले भने, ‘आइसीसीको नयाँ पत्राचारबारे मलाई त्यति जानकारी छैन, समस्या त्यही दुई कमिटि रहिरहनु र आन्तरिक किचलो नै हो ।’ आफ्नो निर्वाचित कमिटीलाई मान्यता दिन भन्दै रिट दर्ता गर्ने क्यान महासचिव अशोकनाथ प्याकुर्याल भने आइसीसीको पत्राचारपछी निकै व्यस्त छन् ।  प्याकुर्यालले पटक–पटक गरेका टेलिफोन रिसिभ गरेनन् । रिसिभ गरेको सम्वादमा म मिटिङमा छु, अहिले केकी कुरा गर्न सक्दिन–भने । पछी सम्पर्क गर्नु होला भनेका उनले कयौं पटक गरेको टेलिफोन रिसिभ गरेनन् ।



नयाँ