बलात्कारीको आरोप लागेपछि खेलेको खेलमा रोनाल्डोले गरे गोल, जित्यो युभेन्ट्सले
प्रकाशित २०७५ असोज २१ आइतबार
435
Shares
काठमाडौं । अमेरिकी महिलाले ९ वर्ष अगाडि बलात्कारको आरोप लगाएको एक साता नबित्दै फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले आफू खेलमा केन्द्रित रहेको प्रमाण पेश गरेका छन् ।
रोनाल्डोले शनिबार राति भएको इटालियन लिग अन्तर्गत उडिनेजेविरुद्ध २–० को जितमा युभेन्ट्सका लागि गोल गरेका छन् । रोनाल्डोले पहिलो हाफको अन्तिम समयतिर गोल गरेका थिए ।
उनले ३७ औं मिनेटमा गरेको शक्तिशाली प्रहार फार पोस्टमा गोल भएको थियो । रोनाल्डोले गोल गरेपछि आफ्ना सहकर्मीलाई केहि ठाउँ खाली राख्न आग्रह गर्दै टेलिभिजन क्यामराअगाडि आफ्नो ट्रेडमार्क सेलिब्रेसन गरेका थिए ।
उनले लिगको चौथो गोल गरेसँगै रंगशाला भने ताली र गालीको सम्मिश्रणले भरिएको थियो । खेल सुरु हुनुअघि रोनाल्डोको नाम लिँदा भने दुवैतर्फ दर्शकले कुनै प्रतिक्रिया दिएका थिएनन् ।
खेलमा रोनाल्डोले युभेन्ट्सका लागि दोस्रो गोल गरेका थिए । त्यसअघि युभेन्ट्सले खेलमा १–० को अग्रता लिएको थियो । मिडफिल्डर रोड्रीगो बेन्टान्कुरले ३३ औं मिनेटमा जोआओ क्यन्सेलोको पासमा गोल गरेका थिए ।
शनिबार रातिका अन्य खेलमा एएस रोमाले इम्पोलीलाई २–० ले, काग्लिआरीले बोलोग्नालाई २–० ले तथा टोरिनोले फ्रोसिओनेलाई ३–२ ले हरायो ।
लिगमा ८ खेलबाट २४ अंकसहित युभेन्ट्स शीर्ष स्थानमा छ । १ खेल कम खेलेको दोस्रो स्थानको नापोलीको १५ अंक छ ।