arrow

अाकाशमा हेलिकोप्टर उड्न नदिने अचम्मका मेयर (कुराकानीसहित)

logo
प्रकाशित २०७५ असोज २२ सोमबार
annapurna1.JPG

कास्कीको अन्नपूर्ण गाउँपालिकाले हेलिकोप्टर उडान गर्न नदिने निर्णय गरेको छ । पर्यावरण संरक्षण र प्रकृतिलाई जोगाउ भन्दै अन्नपूर्ण गाउँपालिकाले हेलिकोप्टर उडान गर्न नदिने निर्णय गरेको हो । यसै विषयमा केन्द्रित रहेर हामीले अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरसँग कुरा गरेका छाैँ  । 

० अन्नपूर्ण गाउँपालिकामा हेलिकोप्टर उड्न नदिने निर्णय किन गर्नुभएको हो ?
– अन्नपूर्ण बेसक्याम्प भनेको संसारको छैटौं पदयात्राभित्र पर्दछ । त्यहाँ रहेको वन्यजन्तु, चराचुरिङ र ग्लेसियरले गर्दा त्यहाँको हिउँलाई हेलिकोप्टरको आवाजले धेरै असर पुर्‍याउँछ । हामीले पर्यटकीय दृष्टिकोणलाई ध्यानमा राखेर हामीले हेलिकप्टरलाई निषेध गरेका हौं । मानवीय उद्दार, फरक क्षमता र भीआईपीका लागि हामीले हेलिकोप्टरलाई निषेध गरेका छैनौं ।

० कसलाई लक्षित छ यो निषेध ?
– हेलिकोप्टरले त्यहाँ व्यवसायिक उडान गर्न पाउँदैनन भनेर हामीले यो निर्णय गरेका हौं ।

० पद यात्रालाई हेलिकोप्टरले नबिगारौं भन्ने उद्देश्य हो ?
– साइबेरियाबाट इन्डियातिर जान ४ सय ६५ किसिमका चराचुरिङहरु त्यो बाटोबाट ओहोरोदोहोर गर्छन् । उनीहरुलाई पनि हेलिकोप्टरले असर गर्छ । दोस्रो कुरो अन्नपूर्ण बेस क्याम्पमा दुलर्भ वन्यजन्तु पाइन्छ । घोरेल, चित्तल र हिउँ चितुवा पनि पाइन्छ । हेलिकोप्टरको आवाजको प्रदूषणले ती वन्यजन्तुलाई असर पुग्ने भएकाले हामीले त्यहाँका आम जनता, बुद्धिजीवी र पर्यावरण विज्ञहरुसँग सल्लाह गरेर हामीले हेलिकोप्टरलाई व्यवसायिक उडान गर्न निषेध गरेका हौं ।

० यो निर्णयप्रति सबैको एक्यवद्धता हो ?
– स्थानीय जनताको मात्र होइन, व्यवसायीको पनि यो निर्णयमा एक्यबद्धता छ । काम गरेर खाने मजदुरहरुको एक्यबद्धता हो ।

० तर, हेलिकोप्टर त उडिरहेको छ नि ?
– मानवीय उद्दारको निम्ति उडेका छन् । त्यो क्षेत्रमा वार्षिक झन्डै ३५ हजार पर्यटक छन् । एउटा क्षेत्रबाट अर्को क्षेत्रमा जाँदा लेक लाग्ने भएकाले पर्यटकहरु त्यहाँको बाटोमा विरामी हुन्छन् । त्यहाँ दैनिक दुई तीनजना विरामी पर्दछन् । उनीहरुको उद्दारका लागि हेलिकोप्टरको सेवा प्रयोग गरिन्छ ।

० मानवीय उद्दारबाहेक पनि हेलिकोप्टर उड्ने गरेको समाचार आइरहेको छ नि ?
– मानव उद्दार, फरक क्षमता र भीआईपीबाहेक हेलिकोप्टर उडान भएको छैन । व्यवसायिक उडान भएका छैनन् । यदि कतैबाट चुहावट भएको छ भने हामी त्यसलाई रोक्छौं ।

० अनुगमन गर्ने संयन्त्र छ ?
– स्थानीय व्यक्तिहरुले अनुगमन गर्नुहुन्छ । हेलिकोप्टरको मानवीय उडान हो कि व्यवसायिक उडान भनेर स्थानीय व्यक्तिहरु नै गएर हेर्नुहुन्छ ।

० व्यवसायिक उडान गर्नेहरुको यो निर्णयप्रति के धारणा पाइयो ?
– संसारमा पनि त्यस्ता उडान हुन्छ, पर्यटकीय क्षेत्र बिगार्नु हुँदैन, त्यसैले सहयात्रा गरेर अगाडि बढौं भन्ने उहाँहरुको धारणा छ ।

० हेलिकोप्टरबाट अन्नपूर्ण क्षेत्र घुम्न सम्भव छैन ?
– अन्नपूर्ण बेस क्याम्पमा त्यो सम्भव छैन । हामीसँग अन्नपूर्ण सरहका अन्य ठाउँहरु पनि छन् । हामीले हिडल लेग, मूलडे, पूर्णे लेक छ, जुन ५५ सय मिटर हाइटमा छ । तर, अन्नपूर्ण बेस क्याम्पमा ग्लासियर दुईवटा हिमालको बीचबाट जाने भएको हुँदा दुवै पाटामा रहेका वन्यजन्तुलाई हेलिकोप्टरको आवाजले असर गर्छ । बेस क्याम्प भनेको सम्वेदनशील क्षेत्र हो ।

० बाटो खोल्न प्रतिस्पर्धाले त्यो क्षेत्रलाई कुरुप बनाइरहेको छ भनिन्छ नि ?
– हामीले अन्नपूर्ण बेस क्याम्पमा जाने बाटो त्यहाँका स्थानीय जनताको सक्रियतामा ३० वर्षका लागि भनेर एउटा सहमति गरेका छन् । त्यसलाई अन्नपूर्ण गाउँपालिकाले समर्थन गरेको छ । त्यत्ति मात्र होइन, नेपालको एउटै मात्र पर्यटन पदमार्ग अन्नपूर्ण बेस क्याम्प जाने बाटो २८ किमी डिपिआर गरिसकेको छ । कहाँ कस्तो बाटो बनाउने, कहाँ सिढी हाल्ने, कहाँ बाथरुम, कहाँ रेस्टरुम राख्ने, कहाँ चौतारो राख्ने भन्ने कुराको हामीले डिपिआर गरेका छौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ