- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको कुरा गरेको छ । संविधान अध्येयताहरु नेपालको संविधानको मूल मर्म पहिचानसहितको संघीयता र स्वायत्तता हो, भन्दछन् ।
सरकारले स्थानीय तहको पुनःसंरचना तथा सीमाना निर्धारणका लागि गठन गरेको आयोगको नाम हो, ‘गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण आयोग’ । तर, त्यो आयोगले संख्या र सीमाना मात्रै तोकिदियो ।
विशेष संरक्षित वा स्वायत्त क्षेत्र निर्धारण गर्न सकेन । यसबारे त्यो बेला केही दल वा विज्ञहरुले कुरा उठाएपनि अहिले कसैले त्यो कुरा उठाउँदैनन् । समृद्धिको नारामाथि सुतिरहेका सत्ताधारीले त सम्भवतः विर्सिसकेका छन् । आयोगले गरेजति काम सदर भयो । त्यही अनुरुप निर्वाचन भयो । संघीय संरचना अनुसारका राजनीतिक संस्थाहरु खडा भए । प्रशासनिक पुनःसंरचना अझै हुन सकेको छैन ।
नेपालको संविधानको प्रस्तावनामै स्वायत्त भन्ने शब्द परेको छ । त्यति मात्रै होइन संविधानको भाग–३४ परिभाषा र व्याख्यामा ‘सीमान्तीकृत’को पनि बखान गरिएको छ । ‘सीमान्तीकृत’ भन्नाले राजनीतिक, आर्थिक र सामाजिक रुपले पछाडि पारिएका विभेद र उत्पीडन तथा भौगोलिक विकटताको कारणले सेवा सुविधाको उपभोग गर्न नसकेका वा त्यसबाट वञ्चित रहेका संघीय कानून बमोजिमकाृ मानव विकासको स्तर भन्दा न्यून स्थितिमा रहेका समुदाय सम्झनु पर्छ र त्यो शब्दले अतिसीमान्तीकृत र लोपोन्मुख समुदाय समेतलाई जनाउँछ’ भनिएको छ ।
तर, राज्य वा राज्य संयन्त्र यसबारे संवेदनशील छैन । मुलुक संघीयता कार्यान्वयनका लागि भौतारिरहेका बेला ‘सीमान्तीकृत र उत्पीडितबारे अध्ययन गर्दै आएका अध्येयता रतनभण्डारीले एउटा महत्वपूर्ण नोट उतारेका छन् ।
भण्डारीले उतारेको नोट जस्ताको त्यस्तै
नेपालको साबिक सुदूर तथा मध्यपश्चिमको सामाजिक संरचना हेर्दा यहाँ "पावई खस" समुदायको छुट्टै पहिचान छ । जनै नलगाउने र यिनीहरुको विवाह, पूजाआजामा ब्राह्मण पुरोहित नचाहिने हुँदा यस जातिलाई मतवाली क्षेत्री भनेको सुनिन्छ ।
पूर्वी नेपालमा जनै लगाउने बाहुन क्षेत्रीलाई तागाधारी भनिएपनि बझांग, बाजुरा, हुम्ला, मुगु, जुम्लाका उच्च पहाडी क्षेत्रमा बस्ने पावइ खस समुदायका पुरुषहरुले दाया हातको पाखुरामा बाध्ने धागोलाई तागा भनिन्छ । यस जातिका मानिस जनैको सट्टा पाखुरामा तागा बाध्थे । त्यस्तो तागा बाहुन क्षेत्री समुदायका महिलाले विवाह पछि (कन्यादान पछि) लगाउने चलन थियो । उक्त तागा लगाएपछि महिलाहरुले पुरुष झै रोस्य (भान्सा) अरुले नछोएको खान्थे ।
यो जातीय समुदाय मष्टोलाई कुलदेवता मान्दछ । यिनीहरुको पूजा विधिसमेत फरक छ । अधिकांश पावइ खस मूलधार हिन्दू समुदायले मान्ने दशै तिहार मनाउने चलन थिएन । राणाकालको उतराद्र्धतिर यस जातिले जनै धारण गरेको भनिन्छ । तर धेरै पछिसम्म पनि यस जातिका मानिस जनै लगाउँदैथे । पूजाआजामा बाहुन नभइ उनीहरुको आफ्नै पुरोहित हुन्थ्यो । अरु क्षेत्री जातिसँग यस जातिको विहेवारी चल्दैनथ्यो, जुन यतिबेला पनि कायम छ ।
बझांगको लेकाली भेग स्याडी, वित्थड, दहबगर, ज्यावन, बड्डीज्यावन, नबीस, चौगाउँ धुली लगायतका क्षेत्र यस जातिको बाहुल्य क्षेत्र हो । यस जातिका थरहरु अरु क्षेत्रीहरुका झै बुढा, खडका, रोकाया, राउत, राउल, बोहरा छन् । यस जातिभित्र कठायत, ऐडी, जप्रेल, दौल्याल, बुढा, बोहरा, धामी, गुरुधामीलगायतका थरहरु छन् । यी कुराहरु इतिहासकार सूर्णमणि अधिकारी पूर्णप्रकाश नेपालका पुस्तकहरुमा पढ्न पाइन्छ । पूर्णप्रकास नेपाल यात्रीले यी जातिबारे लेख्दै दहबगर क्षेत्रको थप अध्ययन हुनुपर्ने बताएका छन् ।
पछिल्लोपटक हिन्दू धार्मिक परम्परा र संस्कारबाट प्रभावित भएसँगै यो जाति यतिबेला आफूलाई क्षत्री जाति नै भन्दैआएको छ । आफू पावइ खस र मतवाली क्षत्री भन्न हिच्किचाउछन् र आफ्नो अपमान भएको ठान्दछन् । जबकि इतिहासमा सबैभन्दा पहिले उत्पीडनमा परेको जाति हो यो । यस विषयमा थप खोजी हुन जरुरी छ ।
अर्का अध्येयता डा. विपिन अधिकारी यस्तो लेख्छन् :
नेपालमा खस जाति भन्नाले मूलत छेत्री, बाहुन, कामी, ठकुरी, सार्की, सन्यासी, बादी, दमाइ, गाइने, घर्ती इत्यादि जातका समुदायलाई बुझिन्छ । जाति ब्यबस्थाको प्रभाब धेरै नपरेका खसहरुले आफुलाई ‘पावई’ खस पनि भन्ने गर्दछन् । अन्यले उनीहरुलाई खस क्षेत्री भन्ने गरेका छन् । आज पनि ‘पावई’ खसहरुमा जनजाति सस्कृति नेपालका बहुसंख्यक जनजातिहरु भन्दा बढी नै व्याप्त छ । नेपालका अधिकांश खसहरु कम्तिमा दशौ शताब्दीसम्म पनि जनजाति प्रवृतिका थिए । त्यस्ता प्रवृतिगत विशेषताहरु आज पनि उनीहरुमा देख्न सकिन्छ । तर समग्रमा खस जाति आधुनिक नेपालमा पहाडी हिन्दू सभ्यताको प्रतीक भइसकेको छ ।
खस ‘शब्द’को उत्पति
‘खस’ शब्दको उत्पति कसरी भयो भन्ने बिषयमा कुनै ठोस प्रामाणिक ब्याख्या उपलब्ध छैन । यसबारे विभिन्न अनुमान मात्र गर्न सकिन्छ । आधुनिक नेपाल, यसको पश्चिमोत्तर क्षेत्र वा बृहत् हिमवत खण्ड बाहिर ‘खस’ शब्द प्रचलनमा रहेको देखिँदैन । ‘खस’ शब्द हिमवत् खण्डमा बोलिने नेपाली तथा हिन्दूकुश क्षेत्रका अन्य पहाडी भाषाको व्युत्पत्ति नै हो । यी सबै पहाडी भाषाहरुमा खस शब्द आज पनि प्रचलित छ । खसहरुको बैदिक नाम ‘करस्कर’ हो भन्ने मानिन्छ ।
वेदभन्दा पछि लेखिएका सस्कृत साहित्यमा ‘करस्कर’ र ‘खस’ दुवै शब्दको प्रयोग भएकाले यी शब्दहरु पर्यायवाची हुन् कि भन्ने तर्फ पनि सोच्न सकिन्छ । ‘खस’ भन्ने शब्द पछि मात्र प्रयोगमा आएको देखिँदा बैदिक पुस्तकहरुमा लेखिएको ‘कस्स्कर’ भन्ने शब्द नै अपभ्रंश हुँदै ‘खस’ शब्द बनेको हुन सक्ने धेरैको धारणा छ । कतिपय ठाउँमा खसलाई ‘खसिया’ समेत भनिएको पाइन्छ । खसहरु बसोबास गरेका क्षेत्रहरु जस्तो कस्कर, काशगर,र खस शब्दहरु एकै अर्थमा प्रयोग भएका छन् ।
मध्य–एसियाको ‘ककेसस’ वा ‘ककस’ भने पर्वतीय क्षेत्र खस जतिको उद्गम स्थल मानिन्छ । त्यहाँबाट ऐतिहासिक कालमा पश्क्षिम चीन तथा भोटेली सिमावर्ती क्षेत्र हुँदै खसहरु हिमवत् खण्ड तथा नेपाल प्रवेश गरी यस क्षेत्रमा बसोबास गर्दै आएका छन् । उक्त समयमा पश्चिम एसियाको बेबिलोनियामा खसहरुलाई ‘कस’ भनिन्थ्यो । यसै क्षेत्रको कश्यप सागर अंग्रेजीमा क्यास्पियन सि पनि कस जाति संगै संबन्धित छ । उनीहरुले बेबिलोनीयामा लगभग साढे पाँच शताब्दीसम्म शासन गरेको पाइन्छ । खससँग सम्बन्धित यही ‘ककेसस’, ‘ककस’ वा कस शब्द अपभ्रंश हुँदै जाँदा ‘खस’ भन्ने शब्द बन्न गएको धेरै विद्वानहरुको विश्लेषण देखिन्छ । यस बाहेक ‘खस’ शब्दको अर्को व्याख्या भेटिएको छैन ।
खसहरुलाई राईहरुले ‘खासा’ वा ‘लिच्चु’ वा ‘बाज्यु’ पनि भनेको पाइन्छ । लिम्बुहरुले ‘पेन’ वा ‘पेनेवा’ भन्दछन् । कोदो खाने भएकाले त्यस्तो भनिएको हो कि ! निम्न हिमाली क्षेत्रमा रहने भएकाले तामाङहरुले खसहरुलाई ‘ज्यार्दी’ वा ‘रोङ्बा’ भनेको पाइन्छ । केदार, कत्युर, गोनार, कोदारी, कार्तिक, कोतार आदि खस शब्दका पर्याय मानिन्छन् । अधिकांश पौराणिक तथा ऐतिहासिक स्रोतहरुमा ‘खस’ शब्दको ‘स’ मा तालव्य ‘श’ को प्रयोग भएको देखिन्छ । तालव्य ‘श’ संस्कृत उच्चारण हो ।
बोलीचालीको नेपाली उच्चारण ‘खस’ नै हो । कतिपयले कर्म वा आर्थिक हैसियतबाट झरेको हुनाले खस भएको भन्ने गलत अर्थ लगाइदिएका कारणले धेरैजसो खसहरुले आफूलाई छुट्टाछुट्टै जातका आधारमा चिनाउन थालेका हुन् । तर जातीय रुपमा सबै खसहरु– छेत्री, बाहुन, कामी, ठकुरी, सार्की, सन्यासी, बादी, दमाइ, गाइने, घर्ती इत्यादि – एउटै हुन् । उनीहरुको इतिहास, धर्म, संकृति तथा बसोबास क्षेत्र पनि एउटै छ । त्यसैले खसहरुलाई सामूहिक पहिचानका दृष्टिले खस भनेरै चिनिन्छ ।