सडकका खाल्डाखुल्डी पुर्ने काम वर्षाका कारण पूरा भएन : प्रचण्ड
प्रकाशित २०७५ असोज २७ शनिबार
469
Shares
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँका खाल्डाखुल्डी पुर्ने र जनताको आकाङ्क्षा पूरा गर्नेबारेमा प्रधानमन्त्री र पार्टीको सचिवालयमा आफ्नो छलफल भइरहेको बताएका छन् ।
शनिबार मध्यपुरथिमिको नगदेशमा नेकपा मध्यपुरथिमि कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान एवं तुच्चा कार्यक्रममा बोल्दै उनले भने, “काठमाडौँ उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्ने सङ्कल्प वर्षाका कारण पूरा नभएको तर अब नयाँ वर्ष अगाडि नै उपत्यकाका मूल सडक कालोपत्र गरिसक्ने छौँ, काठमाडौँलाई विकासको दृष्टिकोणले सभ्यताको नयाँ चरणमा प्रवेश गराउने सङ्कल्प हामीले गरेका छौँ, त्यो पूरा गर्छौं ।”
उनले अहिले केन्द्रदेखि स्थानीय तहसम्म बलियो र स्थायी सरकार बनेकाले देशलाई समृद्धितर्फ लैजान एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।
अहिले देशमा आइपरेका जस्तोसुकै चुनौतीलाई पनि पार लगाउँदै अगाडि जान सकिने बताउँदै उनले विकास निर्माण, सुशासनका क्षेत्रमा गर्नुपर्ने काम धेरै भएकाले त्यसमा केन्द्रित भएर अगाडि बढेको छ भने ।
उनले नेपालले दुई छिमेकी चीन र भारतसँग सम्बन्ध अझ विस्तार गरी धेरै लाभ लिनसक्ने अवसर रहेको उल्लेख गरे । नेपालमा पर्यटन, खानी, पानीलगायतका प्राकृतिक सम्भावना प्रशस्त भएपनि राजनीतिक अस्थिरताले देश पछाडि परेको बताउँदै अध्यक्ष दाहालले अब मुलुकलाई समृद्धितर्फ लैजाने समय आएको छ भने।
चुनावमा जनतामाझ जाँदा गरेका प्रतिबद्धता सरकारले पूरा गर्ने बताउँदै अध्यक्ष दाहालले भने, “जनताको सुशासन, भ्रष्टाचार, महङ्गी नियन्त्रण, बृद्धभत्ता बढाउने कुरा, निर्वाचनका बेलामा जे–जे प्रतिबद्धता गरिएको थियो, त्यसलाई सम्बोधन हुने गरी सरकारले अब काम गर्छ ।” एक प्रसङ्गमा उनले दशैँलगत्तै तल्लो तहसम्म पार्टी एकता पूरा गर्ने बताए ।
विकास निर्माणलाई गति दिनेबारे समीक्षा शुरु गरेको बताउँदै उनले अब सम्बोधनको प्रक्रियालाई पनि तीव्रताका साथ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे । कम्युनिष्ट पार्टीको एकता र दुईतिहाइको सरकार बन्दा देशले धेरै उपलब्धि हासिल गरेको बताउँदै उनले भने, “सन् १९५० को सन्धिलगायत नेपाल–भारत सम्बन्धका विविध विषयमा समीक्षा गरेर सहमतिबाट एउटा प्रतिवेदन तयार भएको छ, त्यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने तयारीमा छौँ ।”
कार्यक्रममा नेकपा मध्यपुर नगर कमिटीका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमिको विकासलाई तीब्रता दिने बताए । रासस