arrow

काँग्रेसको सामाजिक नीति तथा कार्यक्रम यस्तो छ

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
congress.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको २०७२ फागुन २०–२३ गतेसम्म काठमाडौंमा हुने १३औं महाधिवेशनको लागि काँग्रेसको केन्द्ररीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले तयार गरेको नीति तथा कार्यक्रमको मस्यौदा प्रस्तावको मुख्य राजनीतिक प्रस्तावको सामाजिक नीति तथा कार्यक्रम यस प्रकार छ।
 
वर्तमान सामाजिक परिवेश र नेपाली काँग्रेस  
नेपाली काँग्रेसको योगदान नेपालको राजनीतिक परिवर्तनमात्र सिमित नभई आर्थिक एवं सामाजिक—सांस्कृतिक रुपान्तरणमा पनि उत्तिकै महत्वपूर्ण छ। नेपाली काँग्रेसले परम्परागत रुढीवादी समाजलाई सभ्य आधुनिक समाजमा रुपान्तरण गर्नका लागि विभिन्न सामाजिक आन्दोलन चलाएको छ। दलितहरुप्रति हुने विभेदपूर्ण छुवाछुत विरुद्धको आन्दोलन, हलो क्रान्ति, महिला विरुद्ध हुने हिंसा, गरिब र असहायप्रतिको हपहेलना, वर्ग, लिंग, धर्म, जातजातिआदिको आधारमा सिर्जित सामाजिक असमानता, सामन्ती प्रथा र सामाजिक विभेदहरुको अन्त्यका लागि नेपाली काँग्रेसले चलाएका आन्दोलनहरु यसका केही प्रमाणहरु हुन।
 
नेपाली समाज विविधतापूर्ण छ। यहाँ १२५ जातजाति, १२३ भाषाहरु, १० किसिमका धर्महरु मान्ने मानिसहरुको बसोवास रहेको छ। यस कुरालाई ध्यानमा राखी बाह्रौ महाधिवेशनमा भाषा संस्कृति, परम्परा, प्राकृतिक श्रोत साधन र उत्पादन क्षमताको धनि तराई÷मधेषका जनतामा रहँदै आएको आर्थिक र सामजिक असमानतालाई समावेसी पहुँच र प्रतिनिधित्व तथा त्यहाँ रहेको कमजोर पुर्वाधारमा व्यापक विकास गरेर अगाडि वढ्ने प्रतिवद्धता सहितका कार्यक्रमहरु अगाडि ल्याइसकेको छ। दलितका सन्दर्भमा पनि छुवाछुतको व्यवहार गर्ने कुनै व्यक्ति नेपाली काँग्रेसको क्रियाशिल सदस्य वन्न र रहन नसक्ने वैधानिक व्यवस्था, प्रत्येक जेष्ठ १० गतेका दिन आफ्ना जिल्ला र केन्द्रिय कार्यालयको संयोजनमा छुवाछुत र विभेद विरुद्ध सचेतना कार्यक्रम संचालन गरि राष्टिय समता दिवस मनाउने घोषणा लगायत बाह्रौ महाधिवेसन मार्फत आएको “दलितका प्रति छुवाछुत र विभेदः दण्डनिय मानविय अपराध” भन्ने देशव्यापि अभियान अन्तर्गत नै रहेर काँग्रेसको पहलमा यस अघिको विघटित संसदबाट २०६८ जेष्ठमा जातिय भेदभाव र छुवाछुत (कसुर र सजाँय) ऐन नै पास गरेर यस्ता कार्यलाई अरु निरुत्साहित गरेको छ । विगतका सामाजिक आन्दोलनका यस्ता अभियानहरुलाई नेपाली काँग्रेसले निरन्तरता दिँदै बदलिँदो विश्व र नेपालको परिवेशलाई ध्यानमा राखी तेह्रौं महाधिवेसनका सन्दर्भमा थप सान्दर्भिक सामाजिक नीति र कार्यक्रमहरु तय गरेको छ। 
 
२. नेपाली काँग्रेसका सामाजिक नीति एवं कार्यक्रम
 
आधुनिक र सभ्य सामाजिक मूल्य र मान्यताको स्थापनाः नेपाली काँग्रेसले बाह्रौ महाधिवेसनदेखि आफ्नै पार्टीभित्र नेतादेखि कार्यकर्तासम्म सुदृढ अनुशासन कायम गर्ने नीतिको सुरुवात गर्दै लोकतान्त्रिक संस्कार, जनसेवाको भावना, सादगीपूर्ण जीवन र नैतिक मूल्य पद्धति प्रोत्साहित गर्ने गरी आफ्ना सदस्यहरुको आचरण एवं व्यहारलाई निर्देशित गर्न पार्टीले आचार संहिता निर्माण गरी कार्यान्वयन गराउने प्रतिवद्धता जाहेर गरेको छ। यसलाई आगामी दिनमा पनि निरन्तरता दिँदै नेपाली समाजमा विद्यमान परम्परागत रुढीवादी र विभेदपूर्ण मुल्य मान्यताको अन्य र त्यसलाई आधुनिक सभ्य मूल्य र मान्यतामा रुपान्तरण गर्ने नीतितर्फ पनि नेपाली काँग्रेसले ध्यान दिने छ।  
 
नागरिक स्वतन्त्रता, अधिकार र स्वामित्व, सामाजिक जवाफदेहिता र उत्तरदायित्वको विकासः पार्टीभित्र र राज्यका विभिन्न संयन्त्रहरुमा नागरिकहरुको स्वतन्त्रताको सुनिश्चितता गर्दै विभिन्न किसिमका राजनीतिक प्रशिक्षणका कार्यक्रमहरु र अन्य जागरण कार्यक्रमहरुबाट हरेक नागरिकहरुलाई आफ्नो अधिकार र स्वामित्व वोध गराउँदै नैतिकवान र जिम्मेवार उत्तरदायी र जवाफदेही नागरिक तयार गर्ने नीति नेपाली काँग्रेसले लिएको छ । यो नीतिको कार्यान्वयन नेपाली काँग्रेस पार्टीबाटै गरिनेछ। 
 
सिमान्तीकृत वर्गको सुरक्षा र आयोगहरुः बाह्रौ महाधिवेसनले नै महिला विरुद्ध हुने यौन शोषण, घरेलु हिंसामा दोषि देखिएका कुनै व्यक्ति नेपाली काँग्रेसको क्रियाशिल सदस्य वन्न र रहन नसक्ने वैधानिक व्यवस्थाको घोषणा गर्दै यसलाई सामाजिक आन्दोलनकै रुपमा लैजान काँग्रेसले नै नेतृत्व लिने संकल्प व्यक्त गरेको छ।  
हाल महिला, दलित, मधेशी, जनजाति, अल्पसंख्यक लगायत बहिष्करणमा परेका वा पछाडि पारिएका समुह वा वर्गको उत्थानको लागि छुट्टाछुट्टै आयोग वनाउनु र ति सवै आयोगलाई संवैधानिक हैसियत दिनुको पछाडि नेपाली काँग्रेसको नेतृत्वको सरकारले गरेको अथक प्रयासका पृष्ठभुमिमा नेपालको नयाँ संविधान ल्याउन सकिनु नै हो। अव वनेका आयोग मार्फत कसरी ती वर्ग र समुदायको हितमा ज्यादा ध्यान लगाउन सकिन्छ भन्नेमा नेपाली काँग्रेस लागिपर्नेछ।
 
महिलाका सम्बन्धमाः नेपाली कांग्रेसकै नेताहरु (महिला नेताहरु समेत) को पहलमा माओवादीको संसद प्रवेश अगावै महिलालाई संसदमा ३३ प्रतिशत प्रतिनिधित्वको व्यवस्था सुरु भएको हो। अहिलेको संविधानले त्यसलाई सुनिश्चित गरेको छ। राज्यका हरेक तहमा महिलाहरुको तदनुरुप प्रतिनिधित्व र अवसरमा पहुँच सुनिश्चित गरिएका छन्। संविधानले महिलालाई शिक्षा, रोजगार, पैतृक सम्पत्तिमा हक लगायत विभिन्न क्षेत्रमा पहुँचको विशेष व्यवस्था गरी अग्रस्थानमा पुर्‍याउने प्रबन्ध गरेको छ। त्यसरी नै नेपाली कांग्रेस संगठन भित्र पनि महिलाको प्रतिनिधित्व र विशेष स्थानको व्यवस्था पार्टी विधानले नै गर्दैछ। नेपाली कांग्रेसले महिलाको नेतृत्व विकासमा विशेष प्रयत्न गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ। महिला हिंसा विरुद्ध ००७ साल अघिदेखिनै अभियान सुशरु गर्दै आएको नेपाली कांग्रेसले अबका दिनहरुमा बढी सक्रिय भएर गाउँघर कुनाकाप्चामा अन्धविश्वास र अन्धपरम्परा र शोषण प्रथाहरु अन्त गर्दै समानता र न्यायको अधिकार प्रत्याभूत गराउने छ ।
 
सशक्तिकरण र समावेशीकरणः नेपालमा अहिले उचित व्यवस्थापन नभएका बादी, मुक्त कमलरी, मुक्त कमैया, चेपाङ, राउने तथा गन्धर्व समुदाय लक्षित आवास तथा रोजागरीका कार्यक्रमहरु गरिनेछ। यि कार्यक्रमहरु उनीहरुको परम्परागत पेशा र मौलिक पहिचानसँग सम्बन्धित हुनेछन। 
 
आधुनिकीकरण र विश्वव्यापीकरणका आधारभूत मान्यताहरुको अवलम्बनः नेपाली काँग्रेसले सामाजिक रुपान्तरणका विश्वव्यापी रुपमा चलिरहेका आधुनिकीकरण र विश्वव्यापकीरकणका मुल्य मान्यताहरुलाई अबलम्बन गर्ने नीति लिनेछ। यो प्रकृयालाई आत्मसात गर्दा नेपाली समाजका मूल्य मान्यतालाई पनि विशेष ध्यान दिइनेछ। 
 
रोजगारी र व्यवसाय प्रवद्र्धनः कतिपय सकारात्मक नतिजा देखिएपनि बढ्दो परनिर्भरता, पारिवारिक द्धेष र फुट लगायतका नकारात्मक घटनामा पनि  पछिल्लो समय ह्वात्तै बढेको र देशमा श्रमशक्तिको कमी भई उत्पादनमा ह्रास आउन थालेकोले वैदेशिक रोजगारीको असर रहेको देखिएकोले नेपाली काँग्रेसले आफ्नो नितीमा केहि परिवर्तन गरी आन्तरिक रोजगारी प्रवद्र्धन र वैदेशिक रोजगारी व्यवस्थापनको नीति लिन सान्दर्भिक ठानेकोछ। मुलुकमा ठुला ठुला राजनैतिक परिवर्तन भएपनि अर्थतन्त्रप्रति ध्यान दिन नसक्दा २०६३÷६४ पश्चातको दश वर्षमा झण्डै ३४ लाख नेपाली युवा कामको खोजिमा विदेशिनु परेको देखिन्छ। नवलपरासीको त्रिवेणीमा सम्पन्न महाधिवेसनले पारित गरेको “नेपाली काँग्रेस किसानको पार्टी हो, श्रमिकको साथी हो” भन्ने नारालाई कसरी सफल कार्यान्वयनमा लैजाने भन्नेमा काँग्रेस पार्टीले काम गरिरहेको छ । काम गर्ने मानिस पेशाका आधारमा सानो र ठूला देख्ने पुरानो चलन देशबाट श्रमशक्तिको पलायनमा जिम्वेबार रहेको हाम्रो ठहर छ र  “कुनै पनि पेशा ठूलो र सानो नभई बरावर र उत्तिकै सम्मानित छन्”  भन्ने भावनाको विकास गर्ने गरि समाजमा एक सामाजिक आन्दोलन नै खडा गर्ने संकल्प नेपाली कांग्रेस गर्दछ ।   
 
सामाजिक सूरक्षाको व्यवस्थाः शारीरिक श्रम गरी आयमूलक कार्यमा संलग्न हुन नसक्ने जेष्ठ नागरिक, वृद्ध एकल महिला, लोपोन्मुख जातजाति, अपाङ्गता भएका व्यक्ति, दलित, अल्पसंख्यक, असहाय, अशक्त समुदाय, व्यक्ति, महिला, बालबालिकाहरुलाई सामाजिक सूरक्षाको सुनिश्चितता गर्ने नीति नेपाली काँग्रेसले लिनेछ । वर्तमानमा दिइदै आएका सामाजिक सुरक्षाका प्रावधानमा परिष्कृत गर्ने र देशका वास्तविक गरिवकोलागि स्वास्थ्य विमा, जुनसुकै पेशामा लागेको भएपनि त्यो पेशावाट अवकास लादिए एपश्चात निवृत्तिभरणको कार्यक्रममा भाग लिने जस्ता नयाँ नितीकालागि पहल गर्ने नीति नेपाली काँग्रेसले लिनेछ। 
 
आन्तरिक लोकतान्त्रिक अभ्यासको सुदृढीकरणः वाह्रौं महाधिवेशनले पार्टी भित्रका सम्पुर्ण निर्णय प्रकृया र नेतृत्वको कार्यशैलीलाई सहभागितामुलक र पारदर्शी वनाउने कुरालाई दायित्वका रुपमा लिई पार्टी भित्रको आन्तरिक लोकतन्त्रलाई अझ सुदृढ वनाउन विषयगत केन्द्रिय छलफल, सामुहिक र संस्थागत निर्णय प्रकृया, केन्द्रिय नेतृत्व तहमा जिम्वेवारीको वाँडफाँड, पार्टी संरचनामा समावेसी र युवा नेतृत्व विकासमा नयाँ अवसरको सुनिश्चिततालाई लक्ष्य गरेर अगाडि वढेकोमा महाधिवेशनबाट उपसभापतिको नेतृत्वमा गठित केन्द्रिय निती तथा प्रशिक्षण प्रतिष्ठान जस्ता संरचनालाई सकृय गराएर पार्टीका नेता तथा कार्यकर्ता प्रशिक्षण लगायतका कार्यहरु गर्दै पार्टीलाई पुनर्जिवित गर्न सफल भएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ