काठमाडौं । विश्वकप फुटबल विजेता फ्रान्सले जर्मनीमाथि महत्वपूर्ण जित हासिल गरेको छ । युइएफए नेशन्स लिग ए समूह एकमा रहेको फ्रान्सले जर्मनीलाई २–१ ले हराएको हो ।
फ्रान्सको मैदानमा भएको खेलको १४ औँ मिनेटमा पाएको पेनाल्टीमा टोनी क्रुसले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।
फ्रान्स मध्यान्तरपछिमात्र खेलमा फर्कियो । दुवै गोल एन्टोनी ग्रिजम्यानले गरे । ग्रिजम्यानले ६२ औँ र ८० औँ मिनेटमा गोल गर्दै टिमलाई जिताएका हुन् ।
यसअघिको पहिलो खेलमा दुवैले गोलरहित बराबरी खेलेका थिए । जर्मनीले नेदरल्याण्डसंग पनि हार बेहोरेको थियो ।
यो खेलपछि फ्रान्स ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्याण्ड २ खेलबाट ३ अंकसहित दोस्रो तथा १ अंकको जर्मनी पुछारमा छ ।