arrow

काँग्रेस बैठकमा संविधान कार्यान्वयनमा नेतृत्व प्रदान गर्ने सङ्कल्प

आफ्नै नेतृत्वको सरकारको सक्रियतामा नेपालको संविधान जारी गरेको काँग्रेसले संविधान कार्यान्वयनमा पनि नेतृत्व प्रदान गर्ने सङ्कल्प गरेको हाे ।

logo
भीष्मराज ओझा, काठमाडौँ
प्रकाशित २०७२ फागुन ११ मंगलबार
nepali-congress-flag.jpg.jpeg
नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा भएको नीति तथा कार्यक्रमबारे छलफलमा आफ्नै नेतृत्वको सरकारको सक्रियतामा नेपालको संविधान जारी गरेको काँग्रेसले संविधान कार्यान्वयनमा पनि नेतृत्व प्रदान गर्ने सङ्कल्प गरेको छ । काँग्रेसले भविष्यमा आउने राष्ट्रिय चुनौतीको सामना गर्न सक्ने दूरदृष्टि, आँट र सङ्कल्पका साथ भावी कार्यनीति, नेतृत्व चयन र सङ्गठन निर्माणको कार्यदिशा निर्धारण गर्ने उल्लेख गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा कावा सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा मंगलबार भएको बैठकमा आसन्न १३ औँ महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको मस्यौदा पेस भएको छ । महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम तयार पार्न काँग्रेसले नेता पौडेलको संयोजकत्वमा ३५ सदस्यीय नीति तथा कार्यक्रम प्रस्ताव समिति गठन गरेको थियो । 

समितिका तर्फबाट बैठकमा प्रस्तुत मस्यौदामा बैठकले दुई दिन छलफल गरी पारित गर्ने जनाएको छ । आजको बैठकमा अधिकांश पदाधिकारी एवम् सदस्यले मस्यौदामाथि आफ्ना धारणा राख्नुभएको थियो । मस्यौदामा संविधान कार्यान्वयन, तराई–मधेस आन्दोलन, समसमायिक राजनीति लगायत अन्य विषयलाई समेटिएको केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बताए। 

मस्यौदामा तराईमा उठेका आन्दोलनलाई स्वशासन, आत्मसम्मान र पहिचानको संज्ञाका रुपमा उल्लेख गरिएको छ । मस्यौदामा तराई–मधेसको जनजीवन सुधारका लागि हुलाकी सडक निर्माण गर्ने, रेल्वे लाइनको स्थापना गर्ने, ग्रामीण सडकको सुधार गर्ने, उत्तर–दक्षिण लिङ्क रोड निर्माण गर्ने र नदी नियन्त्रण अनि वन व्यवस्थापन र पर्यावरण सुधार गर्नुपर्ने उल्लेख छ । 

संविधान कार्यान्वयनको नेतृत्व लिन काँग्रेस अलिकति पनि उदासीन रहँदा संविधानमा उल्लेख गरिएका लोकतान्त्रिक धाराको अपव्याख्या हुने र मुलुकलाई अलोकतान्त्रिक दिशातिर धकेल्ने प्रयास हुन सक्छ भन्ने आशङ्का गर्दै संविधान कार्यान्वयनका लागि दृढता र सङ्कल्प प्रदर्शन गर्ने नीति प्रस्ताव गरिएको केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए । 

पार्टीले सीमाङ्कन, नामाङ्कन, प्रशासनिक व्यवस्थापनदेखि स्रोत साधनको पहिचान, परिचालन र उपयोगसम्बन्धी ऐन, नियम र नीति निर्माणलगायतका बाँकी महत्वपूर्ण विषयको टुङ्गो लगाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जनाएको छ ।
 
मस्यौदामा प्रजातान्त्रिक समाजवादको आदर्शलाई चरितार्थ गर्ने र बिपीले खडा गरेको धरातलमा अडिएर राष्ट्र हितलाई जोड दिई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्ने काँग्रेसको नीति हुने जनाइएको छ । काँग्रेसले आर्थिक पुनरोत्थानका लागि कृषि, पर्यटन, ऊर्जा र मानव क्षमता विकासलाई अभियानका रुपमा प्राथमिकताका साथ अगाडि बढाउने जनाएको छ । 

त्यस्तै भारत र चीनसँग विश्वसनीय र मैत्रीपूर्ण, सहयोगात्मक सम्बन्धको सन्तुलित र सहकार्य गर्नु नेपालको परराष्ट्र नीतिको सर्वाधिक उच्च प्राथमिकता रहने मस्यौदामा उल्लेख छ । 

काँग्रेसले नेपालको आर्थिक,सामाजिक राजनीतिक रुपान्तरण गर्ने, समाजिक न्याय र आर्थिक वृद्धिबीचको सन्तुलन कायम गर्ने खाद्य सुरक्षा, ऊर्जा सुरक्षा जस्ता आधारभूत कुरा पूरा गर्ने मूल नीति हुने जनाएको छ । त्यस्तै स्वास्थ्य, शिक्षा र खानेपानीलाई आधारभूत आवश्यकता मान्ने, आत्मनिर्भरताउन्मुख अर्थनीति अँगाल्ने तथा ज्ञान र प्रविधि विकास सहितको दिगो विकासमा जोड दिने मुख्य नीति रहने मस्यौदामा उल्लेख छ । 

बैठकमा आगामी महाधिवेशनमा विद्युतीय निर्वाचन प्रयोग गर्नेबारेमा समेत छलफल हुनाका साथै सो मतदानका बारेमा व्यावहारिक प्रयोग देखाइएको थियो । काँग्रेसको अर्को बैठक यही फागुन १३ गते बिहान ११ बजे बस्ने पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए । 

केस एक सय २५ सदस्यीय माग 
काँग्रेस महासमिति सदस्य एवम् महाधिवेशन प्रतिनिधिले एक सभापति, तीन उपसभापति, तीन महामन्त्री, सात सहमहामन्त्री, एक कोषाध्यक्षसहित एक सय २५ सदस्यीय कार्यसमिति बनाउनुपर्ने माग गरेका छन् । 

महासमिति सदस्य एवम् महासधिवेशन प्रतिनिधिको राजधानीमा सम्पन्न भेलाले उक्त पदाधिकारी बाहेक ३० खुला सदस्य, १० महिला, छ –छ जनजाति, दलित र मधेसी, दुई अल्पसङ्ख्यक, एक पिछडिएको क्षेत्र, सात प्रदेशबाट २८ र मनोनीत २३ सदस्यसहित १२५ सदस्यीय कार्यसमितिको माग गरेको युवा नेता पुष्प पराजुलीले जानकारी दिए । भेलाका केही सहभागीले आज पार्टी केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ