जनकपुरमा दोश्रो पटक ब्लास्ट लिएर ५३ डब्बाको रेल आयो
सुरेन्द्र सिंह,
प्रकाशित २०७५ कार्तिक ४ आइतबार
237
Shares
जनकपुरधाम। भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोश्रो पटक जनकपुरधाममा आइतबार अपराह्न आइपुगेको छ। रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनियर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न ब्लास्ट भारत पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताए।
प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको र्याकमा लोड गरिएको ब्लास्ट मजदुरले लिकमा झार्दै आएका हुन्। भारत सरकारको सहयोगमा निर्माणाधीन जनकपुर–जयनगर रेल्वेअन्तर्गत जयनगरबाट जनकपुरसम्म मालवाहक रेल आएको हो।
निर्माणाधीन अवस्थामा रहेको लिकबाट दोश्रो पटक ५३ र्याकमा सहितको रेल्वे जनकपुरधाम आएको हो। कुर्थासम्म रेल्वे सञ्चालनका लागि तीन हल्ट र पाँच स्टेशन निर्माणको अन्तिम चरणमा छ। स्टेशन भवन, आवास निर्माण अन्तिम अवस्थामा छ।
यात्रुवाहक रेल गुडाउन जयनगर (भारत) बर्दिवास ब्रोडगेज (६९ किलोमिटर) सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई बुधबार दिउँसो मालवाहक रेल गुडाएर ‘फाइनल टच’का लागि तयारी शुरु गरिएको प्राविधिक बताउँछन्।
भारतीय निर्माण कम्पनी इरकोन इन्टरनेशनलले ब्रोडगेज रेल सञ्चालनका लागि लिक बनाएको हो। यसअघि जयनगर–जनकपुर–बिजुलपुरा (५२ किलोमिटर) मा सञ्चालित न्यारोगेज रेलमा २० देखि २५ किलो मिटर प्रतिघण्टाको गति थियो। ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि कुर्थासम्मको ३५ किलो मिटरको दूरी आधा घण्टामा पूरा हुनेछ।