पुल बनेपछि माझी समुदाय पुर्ख्यौली पेशाबाट विस्थापित
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
532
Shares
पाँचथर। नदी तथा खोलामा पुल निर्माणपछि डुंगा चलाएर जीविकोपार्जन गर्दै आएका पाँचथरका माझी समुदाय पुर्ख्यौली पेशाबाट विस्थापित भएका छन्। पाँचथर र तेह्रथुमको सीमा हुँदै बग्ने तमोर नदीको ठाउँ–ठाउँमा बनाइएका झोलुङ्गे पुलका साथै मोटरेबल पक्की पुलका कारण माझी समुदाय पुर्ख्यौली पेशाबाट विस्थापित हुन बाध्य भएका हुन्।
डेढ दशकअघिसम्म तमोर नदीमै मिसिने सहायक नदी काबेली नदी क्षेत्रदेखि सुनसरीको चतरासम्म तमोर नदी किनारका घाटैपिच्छे डुंगा देखिन्थे। तर, झोलुंगे र पक्की पुल बनेपछि नदी किनारका घाटहरुमा कतै पनि डुंगा देखिन छाडेका छ। पाँचथर, माझीटारकी ममता माझीले २०५८ सालमा माझीटारमा झोलुङ्गे पुल बनेपछि डुंगाको प्रयोग नआएको बताइन।
पुलबाट नै मानिसहरु आवातजावत गर्न थालेपछि शेयरमा रहेको डुंगा नदीमा चलाउन छाडेको उनको भनाइ रहेको छ। ‘पुल बनेपछि डुंगा छैन। मानिसहरु डुंगाभन्दा पुलदेखि नदी वारिपारि गर्न थाले,’ उनले भनिन्। ‘नदी तार्दा पाँच रुपैयाँ मात्रै शुल्क थियो, नपोसाउने भएकाले चलाउनै छाडियो।’डुंगा खियाएर मानिसहरुलाई नदी वारि र पारि पुर्याउँदै सेवा बापत शुल्क उठाउँदै आएका माझी समुदायको जीविकोपार्जनको आधार नै डुंगा हो।
पुल बनेपछि डुंगा प्रयोगविहीन हुँदा उनीहरुको रोजीरोटी गुमेको छ। कसरी जिबिकोपार्जन गर्ने भन्ने चिन्ता पनि थपिएको उनीहरुको गुनासो रहेको छ।